+
+

एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १४:३८
प्रहरी प्रधान कार्यालय ।

९ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन गएका बेला सार्वजनिक सरुवा सूचीले संगठनभित्र असन्तुष्टि देखिएको छ ।

सोमबार निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रमुखलगायत मातहतका इन्चार्जहरुलाई भिडिओ कन्फरेन्समार्फत निर्देशन दिँदा तत्काल सरुवा नहुने जानकारी गराएका थिए ।

तर त्यसको भोलिपल्टै १८४ प्रहरी अधिकृत सरुवाको जानकारी आएको थियो । मानव स्रोत विभागका प्रमुख तथा एआईजी भीमप्रसाद ढकालले सरुवाको सरुवाको सूचना प्रकाशित हुनुपूर्व राईलाई जानकारी गराएका थिए ।

आफूलाई जानकारी नै नदिई सरुवा गर्न लागिएको भन्दै राईले असन्तुष्टि मात्रै पोखेनन् आईजी स्वेदश फिर्ता नहुन्जेलसम्म सरुवा नगर्न समेत भनेको हेडक्वार्टर स्रोतले बताएको छ ।

‘सरुवाबारे उहाँलाई केही जानकारी नै थिएन । एकाएक सूची सार्वजनिक गर्न लागिएको जानकारी आएपछि उहाँले असन्तुष्टि पोख्नुभएको हो । आईजीसाब स्वदेश फिर्ता भएपछि मात्रै सरुवा गर्नुपर्ने उहाँको भनाइ थियो’, राई निकट स्रोतले भन्यो ।

सरुवाको विषयलाई लिएर एआईजीद्वय राई र ढकालबीच मनमुटाव भएपछि त्यहीँबाट ग्रीसमा रहेका आईजी कुँवरलाई ह्वाट्स एपमा फोन गरिएको थियो । हेडक्वार्टर स्रोतका अनुसार कुँवरले सरुवा पहिल्यै तयार भएकाले आफू नभए पनि निकाल्दा फरक नपर्ने बताएका थिए ।

आईजी नभएको बेलामा सरुवा निकाल्दा यसले गलत सन्देश जाने तर्क राईको थियो ।

एसपीसम्मको सरुवाको अधिकार प्रहरी प्रमुखलाई भए पनि यसमा गृह मन्त्रालयको हस्तक्षेप भएको आरोप प्रहरी अधिकारीहरुको छ ।

मापदण्ड मिचियो

प्रहरीको सरुवा सम्बन्धी मापदण्ड २०७९ को बुँदा नम्बर ९ को (झ) मा डीएसपी दर्जाको सेवा अवधिमा न्यूनतम २ वटा र अधिकतम ३ वटा कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिने उल्लेख छ ।

तर अहिले प्रहरी वृत्त स्वयम्भूमा सरुवा भएका डीएसपी उद्धवसिंह भाटले चौथो पटक इन्चार्जको जिम्मा पाए । यसअघि उनी जिल्ला प्रहरी कार्यालय बाजुरा, इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाही र इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको इन्चार्ज भइसकेका थिए ।

२०६३ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका भाटले मापदण्डविपरीत चौथो इन्चार्ज पाउँदा उनकै ब्याचीहरुले एक पटक मात्र इन्चार्ज बन्ने मौका पाएका छन् ।

भाटजस्तै यसअघि डीएसपी दीपक खड्काले पनि चार वटा इन्चार्ज पाएका थिए । उनले जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय मिर्चैया, प्रहरी वृत्त सोह्रखुट्टे, जिल्ला प्रहरी कार्यालय दोलखाको इन्चार्ज भएका थिए ।

२०६४ को ब्याचका डीएसपी सुनिलजंग शाहले जनसेवा वृत्त, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अहिले प्रहरी वृत्त मालिगाउँ गरी तीन वटा इन्चार्ज पाएका छन् । तर उनीभन्दा अघिल्लो २०६३ का ब्याचको टोलीले अहिलेसम्म एउटा मात्रै इन्चार्ज पाएको छ ।

मापदण्डको ९ नम्बर बुँदाको (क) मा एक पटक पनि प्रमुख (इन्चार्ज) नबसेकालाई पहिलो प्राथमिकता, एक पटक मात्र बसेकालाई दोस्रो प्राथमिकता र दुई पटक बसेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरिने उल्लेख छ ।

त्यस्तै इन्चार्ज भएर सरुवा भएको एक वर्ष नबित्दासम्म अर्को इन्चार्ज नदिइने मापदण्डमा उल्लेख गरिएको छ । तर २१ कात्तिक २०८० मा जिल्ला प्रहरी कार्यालय धनुषाको इन्चार्जबाट तानिएका एसपी विश्वराज खड्कालाई एक वर्ष नपुग्दै अर्को इन्चार्जको जिम्मा दिइएको छ ।

एसपी खड्कालाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी दिइएको छ । २ असोज २०८० मा एसपी प्रविण धिताललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मेवारी दिइएको थियो ।

सर्लाहीको इन्चार्ज सम्हालेको पाँच महिनामै उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको इन्चार्जमा सरुवा गरिएको थियो ।

१० फागुन २०८० मा बर्दियाका इन्चार्ज सम्हालेका धिताललाई ७ महिनामै त्यहाँबाट पनि सरुवा गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?