+

नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै

२०८१ असोज  ९ गते १६:५० २०८१ असोज ९ गते १६:५०
नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै

९ असोज, काठमाडौं । नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा एसिया रग्वी पुरुष तथा पुरुष सेभेन्स गरी दुई विधामा प्रतियोगिता आयोजना हुनेछ ।

नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यसअघि सन् २०२२ मा एसिया रग्बी यू–१८ र सन् २०२३ मा एसिया यू–२० रग्बीको सफल आयोजना गरिसकेको छ ।

उमेर समूहको दुई प्रतियोगिताको सफल आयोजना पछि नेपाल रग्बी संघले एसियाली रग्वीको सबभैन्दा ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगितामा आयोजक नेपालसहित एसियाका १७ वटा देशको सहभागिता रहने जानकारी दिए ।

देवकोटाले पुरुष रग्बी सेभेन्सतर्फ १४ टिम र महिला रग्बी सेभेन्समा ८ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिए । ‘नेपालमा अहिलेसम्म आयोजना हुन लागेको एसियाली स्तरको यो सबैभन्दा ठूलो रग्वी प्रतियोगिता हो । खेल मात्र नभएर यस मार्फत नेपालको पर्यटन प्रवर्धनमा समेत धेरै टेवा पुग्ने विश्वास छ,’ अध्यक्ष देवकोटाले भने, ‘प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।’

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् । दुई दिने प्रतियोगितामा एसियाली रग्बीका बलिया टोली समेत सहभागी हुनेछन् ।

पुरुषतर्फ अफगानिस्तान, बहराइन, बंगलादेश, चाइनिज ताइपेई, भारत, जोर्डन, काजखस्तान, नेपाल, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिलातर्फ बयोजक नेपालसहित ग्वाम, भारत, इन्डोनेसिया, इरान, पिलपिन्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि सुरुमा एसिया गर्वी सेभेन्स च्याल्नेज र एसिया गर्वी सेभेन्स ट्रफी गरी दुई छुट्टा छुट्टै प्रतियोगिता गर्ने तयारी थियो । तर केही टिमले नाम फिर्ता लिएपछि प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन दुवै प्रतियोगितालाई मर्ज गरेर एसिया रग्वी सेभेन्स ट्रफी एउटै प्रतियोगिता गर्न लागिएको एसिया रग्वीले जनाएको छ । एकै प्रतियोगिता हुने भएपछि पुरुषतर्फ १२ बाट बढेर १४ टिम सहभागी हुन लागेको हो ।

यस प्रतियोगिताको २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहनेछ । काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

एसिया रग्वीका अध्यक्ष क्पाइस अल धालईले काठमाडौंमा एसिया रग्वी सेभेन्स ट्रफी हेर्न आफू उत्सहित रहेको बताएका छन् । ‘यो नेपाल रग्वीको लागि ठूलो प्रतियोगिता हो । किनकी नेपालमा पहिलो पटक एसियाको सिनियर स्तरको रग्वी प्रतियोगिता आयोजना हुँदैछ । नेपालले यसअघि उमेर समूहको दुई प्रतियोगिताको सफल आयोजना गरिसकेको छ ।’

यस प्रतियोगिता एसिया रग्वी सेभेन्स सिरिजको मात्र छनोट नभई वर्ल्ड रग्वी सेभेन्स सिरिजको समेत छनोट प्रतियोगिताको रुपमा रहने एसिया रग्वीले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करीब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने नेपाल रग्वी संघको अनुमान छ ।

संघका महासचिव गोबिन्द घिमिरेले विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आफ्नो गतिविधि अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै आइरहेको बताए । घिमिरेले एसियाली रग्वीको सबभैभन्दा ठुलो प्रतियोगिताको आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रग्बी प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय