+
+

मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते २०:०७
मौसम पूर्वानुमान महाशाखाले असोज १० गतेदेखि १३ गतेसम्मका लागि जारी गरेको वर्षा जोखिमको नक्सा । यसमा रातो रङ्गले उच्च जोखिम, गाढा पहेँलो रङ्गले मध्यम जोखिम र हल्का पहेँलो रङ्गले न्यून जोखिमलाई जनाउँछ ।

९ असोज, काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।

हेर्नुहोस् जोखिमको सूची-

असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

उच्च सतर्कता अपनाउन आग्रह

यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ ।

त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?