+

कराते स्टार एरिकाको लक्ष्य वर्ल्ड च्याम्पियनसिप

२०८१ असोज  ९ गते १८:४० २०८१ असोज ९ गते १८:४०
कराते स्टार एरिकाको लक्ष्य वर्ल्ड च्याम्पियनसिप

९ असोज, काठमाडौं । गत आइतबार चीनको हान्झाउमा भएको २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ नेपाली करातेको निर्विकल्प स्टार हुन् ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक वर्ष भयो र यस अवधिमा उनले जति प्रतिस्पर्धा गरेकी छन्, कुनैमा पनि खाली हात फर्किएकी छैनन् ।

आइतबार भएको एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथि तौल समूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन् । फाइनलसम्म पुग्दा १९ औं एसियाडको स्वर्ण विजेतालाई समेत हराएकी उनी फाइनलमा भने पराजित भइन् ।

एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले एसियास्तरमा सिनियर करातेमा जितेको पहिलो पदक हो । यसअघि नेपालकी एस्तर राईले सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिपमा यू-२१ उमेर समूहमा कांस्य पदक जितेकी थिइन् ।

एरिकाले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गरिन् । क्वार्टरफाइनलमा १९ औं एसियाडको स्वर्ण विजेता सोफ्या बेरुल्टसेभासँग भयो ।

यस पटक भने एरिकाले सोफ्यालाई पराजित गर्दै गत वर्ष चीनमै व्यहोरेको हारको बदला लिइन् । एरिका र सोफ्याबीचको खेल १–१ को बराबरीमा टुंगिएपछि रेफ्री निर्णयका आधारमा एरिका विजयी भएकी थिइन् ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण नजिक पुगेकी थिइन् । तर भियतनामी खेलाडीसँग पराजित भइन् ।

‘यो पटक पनि सिल्भर नै भयो । अपेक्षा गोल्डकै थियो’, एरिकाले स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भनिन् ।

प्रशिक्षक कुशल श्रेष्ठले चोटका कारण एरिकाले फाइनलमा सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको बताए । ‘फाइनलमा टेक्निकल्ली पनि अली कमजोर भयौँ । उसले खेलेको नै एक वर्ष त भयो । एक्सपोजर पनि अलि कम नै छ, विपक्षी खेलाडीको उपलब्धि हेर्‍यो भने धेरै छ’, उनले भने ।

यद्यपि एरिकाले यो एक वर्षमा धेरै सुधार गरिरहेको प्रशिक्षक कुशलले बताए । मंगलबार एरिकासहित नेपाली टोलीलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एरिकाले हासिल गरेको पदक अथक प्रयास र मेहनतबाट सम्भव भएको बताए ।

‘एरिकाले एकपल्ट फेरि आफूलाई प्रमाणित गरेकी छन् । उनले आगामी दिनमा अझ धेरै सफलता दिलाउन सक्ने विश्वास छ’, उनले भने ।

एक वर्षमा ६ पदक

एरिकाले पछिल्लो एक वर्षमा ५ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा ६ पदक जितिसकेकी छन् । गत वर्ष इन्डोनेसियामा भएको १० औं विश्व सितोरियो च्याम्पियनसिपमा उनले स्वर्ण जितेकी थिइन् । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

त्यसपछि सिधै १९ औं एसियाड खेल्न चीनको हान्झाउ पुगेकी एरिकाले त्यहाँ रजत पदक जितिन् । एसियाडमा नेपाली कराते खेलाडीले जितेको त्यो अहिलेसम्मकै ठूलो पदक थियो भने २५ वर्षपछि एसियाडमा व्यक्तिगततर्फ नेपालको पहिलो रजत थियो । सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन् ।

एरिकाले गत चैतमा अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा दुई फरक विधामा प्रतिस्पर्धा गर्दै स्वर्ण र रजत पदक जितेकी थिइन् । उनले साउनमा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । त्यस्तै आइतबार चीनमा भएको २०औं एसियन कराते च्याम्पियनसिपमा पनि एरिकाले रजत जितिन् ।

प्रशिक्षक कुशल श्रेष्ठले एरिकाले नेपाली खेलकुदमा गर्व गर्नलायक काम गरेको बताए । ‘१९ वर्षमा १९औं एसियाडमा रजत जित्यो । २० वर्षमा २०औं एसियन करातेमा रजत जित्यो । अब २१ औं मा पनि खेल्न जान्छ’, उनले भने ।

पछिल्लो एक वर्षमा एरिकाले जति पनि सफलता हात पारेकी छन् त्यसमा कुशल श्रेष्ठ नै प्रशिक्षक छन् । ‘जति अन्तर्राष्ट्रिय सहभागिता छ हामी सँगै गएका छौं र सबैमा जितेका छौँ’, कुशलले भने ।

अबको लक्ष्य वर्ल्ड च्याम्पियनसिप

एरिकाले स्पेनमा ९ देखि १३ अक्टोबरसम्म हुने वर्ल्ड कराते च्याम्पियनसिप खेल्दैछिन् । धेरै नेपाली दशैँ मनाइरहँदा एरिका भने उक्त प्रतियोगिता खेल्न स्पेनमा हुनेछिन् ।

‘हप्ता दश दिनपछि नै वर्ल्ड च्याम्पियनसिप खेल्न जाँदैछौँ । एसियनमा एउटा तह नाप्ने अवसर पायौँ । अब वर्ल्डमा पनि आफ्नो स्तर नापौँ’, प्रशिक्षक कुशलले भने ।

वर्ल्ड च्याम्पियनसिपमा एसियाबाहिरका खेलाडीहरुसँग पनि प्रतिस्पर्धा गरेर एरिकाले आफूलाई परीक्षण गर्न सक्ने उनले बताए । ‘केही न केही राम्रो हुन्छ । वर्ल्ड च्याम्पियनसिपमा आशा गरौँ राम्रो हुन्छ’, कुशलले भने ।

एरिकाले पनि वर्ल्ड च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।

एरिका गुरुङ कराते खेलकुद
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय