+

भुटानविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा

२०८१ असोज  ९ गते १९:४८ २०८१ असोज ९ गते १९:४८
भुटानविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा

९ असोज, काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।

जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

नेपालले अब सेमिफाइनलमा समूह्य ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ४३औं मिनेटमा छिमी तोब्देन दोर्जीले नेपाली खेलाडीको गल्तीमा गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएका थिए । नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा नेपालले गोल खाएको थियो ।

गोलकिपर भोटेले कलेक्ट गर्न नसकेको बलमा छिमीले सहजै गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

५५औं मिनेटमा कृष्ण बहादुर आलेले नेपालक लागि बराबरी गोल फर्काए । उनले करिब २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरे । बराबरीतर्फ अग्रसर भइरहेको खेलको ८४औं मिनेटमा सुजल डंगोलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।

सुरुवाती गोल खाँदा गल्ती गरेका नेपाली गोलकिपर भोटेले यस पटक भने चलाखीपूर्ण पास दिँदा त्यसमा सुजलले गोल गरे । गोलकिपर भोटेले हानेको लामो बलमा भुटानी डिपेण्डरले क्लियर गर्न नसक्दा सुजनले विपक्षीको पेनाल्टी बक्सबाट भली गोल गरे ।

नेपालले अब शनिवार भारतसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिवारै हुनेछ । सेमिफाइनल विजेताबीच आउने सोमबार फाइनल खेल हुनेछ ।

नेपाल भुटान साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय