+
+

सहकारी बचत दुरुपयोगमा संलग्न संगीतालाई सरकारले बनायो सहकारी बोर्ड सदस्य

विजय पराजुली विजय पराजुली
२०८१ असोज ९ गते २०:२०

९ असोज, काठमाडौं । सरकारले सहकारी ठगीमा संगठित रूपमै लागेका व्यक्तिलाई राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको छ ।

गोर्खा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ हुँदै संगठित रूपमा सहकारी ठगीमा संलग्न रहेका डम्बरबहादुर (डीबी) बम्जन तामाङ र उनका भाइ ज्ञानबहादुर बम्जन तामाङको परिवारकी संगीता तामाङलाई सरकारले सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।

बम्जन परिवारले फैलाएको सहकारी ठगी जालोका एक प्रमुख पात्र संगीतालाई सरकारले सहकारी बचत रकम दुरुपयोग र अपचलनमा अनुसन्धान अगाडि बढाउनुपर्नेमा उल्टै सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।

संगीता हाल युनाइटेड गोर्खा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छिन् । उनलाई २ असोजमा सरकारले सहकारी बोर्ड सदस्य नियुक्त गरेको हो ।

संगीता डीबी बम्जन र ज्ञानबहादुर बम्जनकी भान्जी हुन् । उनकी आमा हेमकुमारी तामाङ २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर ओखलढुंगा मोलुङ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । संगीताले सुरुदेखि नै मामा डीबी बम्जनको सहयोगी भएर सहकारीमा काम गर्दै आएकी थिइन् ।

३१ भदौमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा बम्जन परिवारको पूरै जालो सार्वजनिक गरेको थियो । सहकारी ठगी जालो फैलाउने क्रममा डीबी बम्जनको निकट सहयोगी भएर काम गरेकी संगीतालाई सरकारले सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।

मामा डीबीको सहयोगमा गोर्खा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम अपचलन गर्दै तत्कालीन गोर्खा डेभलपमेन्ट बैंकको सेयरधनी बनेकी संगीता कार्यकारी अध्यक्ष हुँदा सोही बैंकको प्रबन्धक थिइन् ।

संगीताको नाममा सुरुमा डीबीले नै गोर्खा सेभिङको स्रोतबाट सेयर लगानी गरेका थिए । पछि सहकारीको उक्त रकम संगीताको नाममा ऋण देखाइएको थियो । जुन कुरा तत्कालीन समयमा नेपाल राष्ट्र बैंक समेतको सहयोगमा सहकारी विभागले गरेको अनुगमनबाट समेत पुष्टि हुन्छ ।

‘४ माघ २०६३ र ३० चैत २०६३ मा गोर्खा विकास बैंकको सेयरमा संगीता तामाङले गरेको ३७ लाख रुपैयाँ लगानी संस्थाले आफ्नो सेयर लगानी हिसाबमा सुरुमा देखाएको र ३२ असार २०६४ मा त्यसलाई सहकारीले लगानी हिसाबबाट हटाई संगीता तामाङको नाममा कर्जा देखाइएको छ,’ सहकारी विभागले तत्कालीन समयमा गरेको अनुगमन रिपोर्टमा छ, ‘उक्त रकम लगानी हिसाबमा देखाइएको मितिदेखि कर्जा हिसाबमा रकमान्तर गरेको मितिसम्मको ब्याज निजबाट असुल उपर गरेको देखिँदैन ।’

त्यसपछि पनि २ पुस २०६४ मा सेयर धितोमा संगीतालाई १ करोड ७० लाख २४ हजार कर्जा प्रवाह भएको तर धितो रहेको सेयरको मूल्यांकन नभएको तथा धितो रहेको सेयर सम्बन्धमा सेयर खरिद बिक्री आदेश फारम भरी ऋणीको दस्तखत सम्बन्धित संस्थाबाट प्रमाणीकरण गरी अभिलेखमा नराखेको जस्ता कैफियत २०६७ मा भएको अनुगमनमा भेटिएको थियो ।

संगीता तत्कालीन गोर्खा डेभलपमेन्ट बैंकमा कर्मचारीका रूपमा कार्यरत थिइन् । सोही समयमा डीबी गोरखा सोभिङ को–परेटिभमा कार्यकारी अध्यक्ष थिए भने गोर्खा विकास बैंकको पनि कार्यकारी अध्यक्ष थिए ।

डीबीकी श्रीमती कुमारी तामाङ श्री लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष थिइन् । संगीताका श्रीमान् धनबहादुर तामाङ लालीगुँरास बचत तथा ऋण सहकारीको व्यवस्थापक बनाइएका थिए ।

हाल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको शिखर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा पनि २०६५ सालमा धनबहादुर तामाङ अध्यक्ष र संगीता तामाङ सचिव थिए । २ जेठ २०६५ मा शिखर सेभिङ सञ्चालक समिति अध्यक्षमा धनबहादुर तामाङ थिए ।

शिखर सेभिङको २०६५ को प्रारम्भिक साधारणसभाले अध्यक्षमा धनबहादुर तामाङ, उपाध्यक्षमा केदारनाथ शर्मा, सचिवमा धनबहादुरकी श्रीमती संगीता तामाङ र कोषाध्यक्षमा तेजबहादुर तामाङ थिए । शिवशिखर सहकारी ठगीमा फरार रहेका तेजबहादुर पनि संगीताका मामा हुन् ।

काठमाडौं बागबजारमा रहेको तत्कालीन गोर्खादीप बचत तथा ऋण सहकारी संस्था र भक्तपुर कौशलटारको शिखर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड मर्ज भएर २०६६/६७ मा शिखरदीप सेभिङ एन्ड क्रेडिट बनेको हो । सोही संस्थाको नाम परिवर्तन भएर शिखरदीप बहुउद्देश्यीय सहकारी बन्यो ।

गोर्खादीप सेभिङमा तेजबहादुर तामाङ अध्यक्ष थिए भने शिखर सेभिङमा धनबहादुर तामाङ । २०७७ मा भक्तपुर सल्लाघारीमा रहेको शिवशिखर कृषि सहकारी संस्था र शिखरदीप मर्जर भएर बनेको शिवशिखर सहकारी अध्यक्षमा केदारनाथ शर्मा थिए । शिवशिखर सचिवमा अहिले पनि तेजबहादुर छन् ।

धनबहादुर र संगीता सञ्चालक समितिमा हुँदा नेपाल राष्ट्र बैंकको विज्ञ जनशक्ति सहित सहकारी विभागबाट भएको अनुगमनमा सहकारीको स्रोत दुरुपयोग गर्नेमा संगीता समेत रहेको उल्लेख छ ।

‘कार्यकारी अध्यक्ष धनबहादुर तामाङले संस्थामा दैनिक हाजिरी नगरी मासिक तलबभत्ता लिने गरेको पाइयो,’ प्रतिवेदनमा छ । सोही समयमा सहकारीबाट संगीता, तेजबहादुर र केदारनाथले विना धितो कर्जा लिएको उल्लेख छ । जसमध्ये संगीताले लिएको कर्जा पूँजीकोषको १० प्रतिशतभन्दा बढी रहेको र उक्त कर्जा सहकारी विभागबाट जारी भएको मापदण्ड विपरीत रहेको उल्लेख प्रतिवेदनमा छ ।

सोही समयमा संगीता लीलाबहादुर गुरुङ अध्यक्ष रहेको काठमाडौं नयाँबानेश्वरको उपकार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा कोषध्याक्ष थिइन् । ज्ञानबहादुर बम्जन संस्थापक अध्यक्ष रहेको सहकारीमा पछि संगीताका बुबा नरेन्द्र बल अध्यक्ष भए ।

ललितपुरको कल्याण र बानेश्वरको उपकार सहकारी मर्जर भएर डीबी बम्जन र ज्ञानबहादुर बम्जनकै भिनाजु लीलाबहादुर गुरुङ अध्यक्ष र संगीताका बुबा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे । उपकारमा संगीता कोषाध्यक्ष हुँदा कल्याणमा धनबहादुर सचिव थिए ।

यसले पनि ज्ञानबहादुर र डीबीको सहकारी ठगीको जालोमा धनबहादुर र संगीता सहयोगी थिए भन्ने देखाउँछ । अहिले पनि धनबहादुर श्री लालीगुँरास सहकारीका अध्यक्ष छन् । डीबीकी श्रीमती कुमारी लालीगुराँसमा अध्यक्ष भए पनि गाोर्खा विकास बैंकमा समस्या आएसँगै त्यसको प्रभाव सहकारीमा पनि पर्न सक्ने भनेर कुमारीलाई अध्यक्षबाट हटाएर धनबहादुरलाई अध्यक्ष बनाइएको थियो ।

लालीगुराँस सहकारीको रकम अपचलनमा अहिलेसम्म अनुसन्धान सुरु भएको छैन । तर, डेढ वर्षयता बचत रकम फिर्ता नपाएको भन्दै बचतकर्ताले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा उजुरी दिइरहेका छन् । धनबहादुर तामाङ अहिले पनि चितवन बसेर बचतकर्तालाई पैसा थप गर्न लगाउँदै जग्गा बिक्री गरिरहेका छन् ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले संगीता तामाङ डीबी बम्जन र ज्ञानबहादुर बम्जनले फैलाएको सहकारी ठगीको जालोमा कसरी आबद्ध थिइन् भनेर उल्लेख गरेको छ ।

समितिले शिवशिखर, लालीगुराँस र कल्याण उपकार सहकारीको बचत रकम दुरुपयोग गर्न बम्जन परिवारले बनाएको जालोमा संगीताको भूमिका स्पष्ट लेखेको छ । यस आधारमा संगीतामाथि सरकारले सहकारी बचत रकम दुरुपयोगमा उनको भूमिका छानबिन गर्नुपर्ने देखिन्छ । तर, उनलाई सरकारले भने सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेर पुरस्कृत गरेको छ । याे पुरस्कार पाउनमा ओखलढुंगाका सांसद् रामहरि खतिवडाको राम्रै हात रहेकाे छ । ओखलढुंगाका सांसद रामहरि खतिवडा संगीताका दाहिने हात मानिन्छन् ।

हाल संगीता निजामती कर्मचारीले खोलेको सहकारीलाई नाम र कार्यक्षेत्र परिमार्जन गरी बनेको युनाइटेड गोर्खा बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरिरहेकी छिन् । कृषि मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्की लगायत व्यक्ति संस्थापक भएर कालीमाटीमा खोलिएको सहकारीको नाम र रजिस्टर्ड कार्यालय समेत परिवर्तन भएर हाल कमलपोखारीमा सञ्चालनमा छ ।

योगेन्द्र कार्की कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक रहँदा उनीसहित कृषिका कर्मचारी र कृषि विकास बैंकका कर्मचारी मिलेर सहकारी स्थापना भएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश भट्ट तीन महिना अगाडि नै संगीता तामाङलाई सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैंठकमा पुगेको र नियुक्त भए पनि संगीता सहकारीको बचत रकम अपचलनमा विवादास्पद पात्र भएको खुलेको बताउँछन् ।

यस विषय कुरा गर्न खोज्दा सहकारीमन्त्री बलराम अधिकारी सम्पर्कमा आउन चाहेनन् । मन्त्री अधिकारीका प्रेस संयोजक विशाल गैरेले पहिले नै संगीता तामाङलाई बोर्ड सदस्य नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा गएको बताए ।

संसदीय समितिको प्रतिवेदन अगाडि नै प्रस्ताव मन्त्रपरिषद्मा गएको र २ असोजमा नियुक्त गर्ने निर्णय भएको उनले बताए । त्यसपछि समाचारबाट जानकारी आएपछि मन्त्री अधिकारीले थप बुझ्न भनेको र सोही अनुसार निर्णय गर्न निर्देशन दिएको गैरेले बताए ।

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?