+
+

कहाँ रोकियो जापानमा दक्ष श्रमिक पठाउने प्रक्रिया ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते २०:२६

९ असोज, काठमाडौं । जापानसँग सम्झौता भएको साढे ५ वर्ष भइसक्दा पनि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु हुन सकेको छैन । १२ चैत २०७५ मा नेपाल र जापानबीच जापानमा दक्ष श्रमिक पठाउने सम्झौता भएको थियो ।

जस अनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत भाषा र सीप परीक्षणबाट कृषि, नर्सिङ, होटललगायत विभिन्न १२ क्षेत्रमा दक्ष कामदार जापान पठाउने भनिएको थियो ।

किन भयो ढिलाइ ?

जापानसँग सम्झौता भएको करिब पाँच वर्षपछि ०८० फागुनमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापानमा सीपयुक्ति श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० जारी गरे ।

तर उनले म्यानपावर कम्पनीलाई श्रमिक पठाउने जिम्मा दिने गरी कार्यविधि ल्याएपछि विवाद भएको थियो । सत्ता समीकरण फेरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल श्रम मन्त्री बने र भण्डारीले बनाएको कार्यविधि खारेज गरे, त्यसपछि श्रमिक पठाउने प्रक्रिया पनि रोकियो ।

खासमा जापानमा पनि दक्षिण कोरियामा झै सरकार–सरकारबीचको सम्झौता अनुसार श्रमिक पठाउने सरकारको योजना थियो । त्यसविपरीत तत्कालीन श्रममन्त्री भण्डारीले म्यानपावरलाई नै श्रमिक पठाउने गरी जिम्मा दिने कार्यविधि बनाएपछि जापानले मन नपराएको श्रम मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘जापानले नेपाल सरकारले नै पारदर्शी प्रक्रियाबाट श्रमिकहरु पठाउओस् भन्ने चाहन्थ्यो’ उनी भन्छन्, ‘तर त्यो जिम्मा सिधै निजी क्षेत्रलाई दिँदा त्यसले जापान असन्तुष्ट बन्यो ।’

सत्ता समीकरण फेरिएपछि श्रम मन्त्रालयमा फेरि भण्डारी नै आइपुगेका छन । उनले पुनः विगतकै कार्यविधि अनुसार श्रमिक पठाउने जिम्मेवारी म्यानपावर कम्पनीलाई नै दिने तयारी गरेका छन् । कार्यविधिको केही बुँदा मात्र परिमार्जन गरी जापानलाई पठाइएको मन्त्रालयका एक अधिकारी बताउँछन् । जापानबाट भने यसबारे प्रतिक्रिया आउन बाँकी छ ।

केहीदिन अघि मन्त्री भण्डारीले नेपाल भ्रमणमा रहेकी जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री ताकिमी किजोसँग भेटर्वार्ता गरेका थिए । सो क्रममा उनले जापानमा श्रमिक पठाउने कार्यविधि जारी भएर कार्यान्वयनको चरणमा रहेको बताए ।

उनले सरकारले अनुमति दिएका संस्थाहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भए पश्चात नेपाली दूतावास टोकियोले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया सुरु हुने जानकारी जापानी मन्त्रीलाई दिएका छन् ।

व्यक्तिगत भिषामा धामधाम जापान

नेपालीहरुका लागि जापान रोजगारीको आकर्षक गन्तव्य हो । त्यसैले सरकारी तबरबाट पठाउने प्रक्रिया अघि नबढे पनि नेपालीहरु व्यक्तिगत श्रम स्वीकृतिबाट जापान गइरहेका छन् । खास गरी अहिले शैक्षिक परामर्श केन्द्रहरुले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पठाइरहेका छन् ।

वैदेशिक रोगजार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार जापानमा स्याहारसुसार, भवन सरसफाइ, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि, हस्पिटालिटी, कृषि लगायतका क्षेत्रमा दक्ष श्रमिकहरुको माग छ ।

उनले माग प्रमाणीकरणमा समेत समस्या हुँदा संस्थागत रुपमा श्रमिकहरु पठाउन नसकिएको बताउछन् । ‘श्रमिकहरु जापान जान आतुर छन्’ उनले भने, ‘तर सरकारले संस्थागत रुपमा पठाउन दिएको छैन ।’

तीन वर्षमा गए २८ हजार

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो तीन वर्षमा २८ हजार ८६४ नेपाली नेपाली श्रम स्वीकृति लिएर जापान गएका छन् । जसमा २४ हजार १५७ जना पुरुष र ५ हजार ७ जना महिला छन् । उनीहरु अधिकांश व्यक्तिगत भिषामा जापान गएका हुन् ।

आर्थिक वर्ष ०७८/०७९ मा ५ हजार ६५६, ०७९/०८० मा ९ हजार ६४४ र ०८०/०८१ मा १३ हजार ८६३ जना नेपाली जापान गएका छन् । चालु आर्थिक वर्षको साउनमा १ हजार १ सय श्रमिक जापान गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?