+
+

नेपाल एयरलाइन्स बलियो नहुँदा निजीको मनोमानी छः पर्यटमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते २०:४९

९ असोज, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार मातहतको नेपाल इयरलाइन्स बलियो नहुँदा निजी एयरलाइन्सहरुको मनोमानी बढेको बताएका छन् ।

नेपाल एयरलाइन्सलाई कसरी बलियो र विश्वसनीय बनाउने विषय महत्वपूर्ण भएको पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्स चलाउने पनि भन्ने तर अवरोध आउँछन् भनेर खरिद, मर्मत, टिकेटिङसम्मका कामलाई पारदर्शी बनाउन नसकिएको पाण्डेले बताए ।

‘कतार एयरलाइन्सले मनोमानी भाडा किन लिन्छ भने नेपाल एयरलाइन्सले बढीभन्दा बढी उडान भर्न सक्दैन र मानोमानी चल्छ । देशभित्र बुद्ध उयरले धनगढी जाने भाडा किन बढी लिन्छ भने नेपाल एयरलाइन्सले नियमित उडान गर्न सक्दैन र उसलाई मानोमानी गर्ने छुट हुन्छ । त्यसैले नेपाल एयरलाइन्सलाई बलियो बनाउनैपर्छ,’ पाण्डेले भने ।

सातै प्रदेशका पर्यटनमन्त्री, सचिवसहित सरोकारवालासँग पोखरामा भएको पर्यटकीय राजधानीबारेको संवादपछि बोल्दै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्स बलियो बनाउनै पर्ने बताए ।

नेपाल एयरलाइन्सलाई बलियो बनाउँदै बढी उडान भर्नका लागि सातै प्रदेशको नाममा जहाज खरिद गरेर चलाउन सकिने मोडलको खोजि गर्नुपर्ने निश्कर्षमा आफूहरु पुगेको पाण्डेले सुनाए ।

‘नेपाल एयरलाइन्स पनि भन्ने, प्लेन चलाउँछौं पनि भन्ने, भएका प्लेन पनि नबनाउने, भएका प्लेन पनि ग्राउन्डेट गर्ने, नयाँ पनि नकिन्ने अनि हामी सबै तर्सिने, डराउने, विभिन्न खालका अवरोध आउँछन् भनेर भाग्दै हिँड्ने त्यो पनि हाम्रो राष्ट्रिय कर्तव्य होइन, त्यो पनि हाम्रो देशभक्ती होइन,’ पाण्डेले भने ।

नेपाल एयरलाइन्स चलाउने हो भने प्लेनहरु हुनुपर्ने र त्यो पारदर्शी ढंगले किनिनुपर्ने उनको भनाइ थियो । मर्मत र टिकेटिङलगायतका कुराहरुमा पूरा पारदर्शिताका साथ नेपालको आकास सुरक्षित छ र भनेको बेला जहाज उड्छ, उड्डयन क्षेत्रमा पर्यटकीय विकल्पहरु छन् भनेर सन्देश प्रवाह गर्नुपर्ने पाण्डेले बताए ।

पर्यटकले कमभन्दा कम समयमा धेरै ठाउँ घुम्न खोज्ने र त्यसका लागि नेपालको उड्डयन क्षेत्र सुरक्षित छ भन्ने अनुभूति हुनुपर्न पाण्डेको भनाइ थियो । साहसिस पर्यटनमा जान्छु तर तत्काल उद्धार गर्न सक्ने हेलिकप्टर सेवा छ भनेर पर्यटकलाई विश्वास दिलाउनुपर्ने पाण्डेले बताए ।

संसारमा १ अर्बभन्दा बढी मानिस प्रतिवर्ष घुम्न निस्किँदा नेपालमा १६ लाख पर्यटक भित्राउन पनि हम्मे परेको र त्यो भनेको नेपालको कमजोरी भएको पाण्डेको भनाइ थियो । त्यसका लागि नागरिक उड्डयन क्षेत्र महत्वपूर्ण रहेको पाण्डेले जिकीर गरे ।

नेपालको आकास सुरक्षित छ भन्ने सन्देश संसारभरि फैलाउनुपर्ने पाण्डेले बताए । संसारका जुनसुकै देशमा दुर्घटना हुन सक्ने भए पनि नेपाली हवाइ आकास असुरक्षित छ भनेर प्रचारबाजी भएको पर्यटनमन्त्री पाण्डेले बताएका छन् ।

पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्वीकार्न कुनै पनि प्रदेश र ठाउँका मानिसलाई अप्ठेरो नपर्ने तर पर्यटकीय राजधानीका आधारहरु पनि पुष्टि हुनुपर्ने पर्यटनमन्त्री पाण्डेको भनाइ थियो । विषयगत समितिको बैठक काठमाडौंमा नगरेर पोखरामै गर्नुको कारण पनि जनस्तरबाटै पर्यटकीय राजधानी हो भन्ने कुराको स्वीकारोक्ति भएको पर्यटनमन्त्री पाण्डेले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पाण्डेका निम्ति पोखरा सधैं अघोषित सल्लाहकार रहने भनाइ उनको थियो ।आफूसँग धेरै व्यक्ति र स्वार्थ समूह पनि स्वार्थका निम्ति जोडिएको तर आफूले देशको स्वार्थका निम्ति काम गर्न चाहेको पाण्डेको दाबी छ । पोखरा देशकै मध्यभागमा पर्ने, अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसकेको अवस्थामा पर्यटकीय राजधानीका रुपमा यसको ठूलो सम्भावना रहेको पाण्डेले बताए ।

पोखरा सबै विमानस्थलहरुबाट पनि नजिक पर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउनका निम्ति लिनुपर्ने कर तथा शुल्कहरु पनि मिनाहा गरेर एयरलाइन्सहरुलाई बोलाएको बताए । पोखरा र भैरहवा विमानस्थलबाट उडानका निम्ति २ वर्ष निशुल्क गर्ने घोषणा कार्यान्वयनका निम्ति पनि आफू लागिरहेको पाण्डेले बताए ।

भैरहवा र पोखरा विमानस्थल नचलाउने हो भने निजगढ विमानस्थलको औचित्यमाथि पनि प्रश्न उठ्ने पाण्डेको भनाइ छ । उनले केही समयअघि भारत गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेललाई भेटेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गराउन गम्भीरताका साथ कुरा राखेको पाण्डेले बताए ।

मुक्तिनाथ श्यामीनारायणले ज्ञान प्राप्त गरेको ठाउँ भएकाले तीर्थस्थल मान्ने र श्यामीनारायण समुदायको अक्षरधामलाई मुक्तिनाथसँग जोड्ने कुरा गरेको पाण्डेले सुनाए । ‘गुजरात जहाँ श्यामी नारायण सामुदायका मानिसहरु बस्छन्, जो मुक्तिनाथ जान चाहन्छन् उनीहरुका लागि पोखरा सबैभन्दा सजिलो गन्तव्य हो,’ पाण्डेले गुजरातका मुख्यमन्त्रीलाई भनेको भनाइ सुनाए ‘पोखरा नेपालको पर्यटकीय राजधानी पनि हो र मुक्तिनाथ जानका लागि एउटा ढोका पनि हो ।’

निजी क्षेत्रलाई अगाडि नसारिकन देशको विकास सम्भव नभएको भन्दै पर्यटनमन्त्री पाण्डेले निजी क्षेत्रकाप्रति नकरात्मक भाष्य निर्माण गरिएको बताए । ‘कसैले शिक्षा क्षेत्रमा काम गर्न थाल्यो बोर्डिङ खोल्यो शिक्षा माफिया भनिदिने, स्वास्थ्य क्षेत्रमा लगानी गर्न खोज्यो मेडिकल माफिया भनिदिने, हाइड्रो खोल्यो जल माफिया भनिदिने । यो भाष्य खडा गर्ने प्रवृति छ,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?