+
+
ब्लग :

कोही किन बलात्कारी बन्छ ?

समाजमा छोरी जोगाउनै गाह्रो भो भन्ने भाष्य निर्माण भएको छ । तर आजको समाजमा बालिकाहरूलाई सम्भावित बलात्कारबाट जोगाउन जति मुश्किल छ, त्योभन्दा बढी मुश्किल हाम्रा छोराहरूलाई बलात्कारी बन्नबाट जोगाउन हुँदैछ ।

पुष्पा घिमिरे पुष्पा घिमिरे
२०८१ असोज १० गते ९:५९

केही दिन अघिको घटना हो । एउटी १२ वर्षीया बालिकालाई उपचारको लागि राजधानीको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा पुर्‍याइन्छ । कमजोर शरीर अनि डरले थरर्र काँप्दै निधारबाट चिट्चिट् पसिना निक्लेको उनको अवस्था अलि शंकास्पद देखिन्छ ।

त्यसैले ‘इमर्जेन्सी म्यानेज’सहित अस्पतालको ओसीएमसी विभागमा कन्सल्ट गरिन्छ । प्रारम्भिक चेक–जाँचबाट कुनै कारणले मानसिक आघातको शिकार भएको निक्र्योल भएपछि थप अनुसन्धान र मनोसामाजिक परामर्श चाहिने निश्चित गरी भर्ना गरिन्छ ।

एकदमै कम बोल्ने र खाना खान पटक्कै मन नगर्ने पीडित बालिका भोलिपल्ट मनोसामाजिक परामर्शको क्रममा भने जुस खान तयार हुन्छिन् । घरमा केही खान नमान्ने छोरीले जुस खान्छु भनेपछि साथमै रहेका बुबाले खुसी हुँदै उनलाई मनपर्ने ‘म्याङ्गो जुस’ किनेर ल्याइदिन्छन् ।

परामर्शदाताको अनुरोधमा आमाबुबा कोठाबाट बाहिरिएपछि पीडित बालिकाले जुस पिउँदै आफ्नो कथा यसरी खोल्छिन्:

घरदेखि पैदल आधा घण्टामा पुगिने स्कुलमा कक्षा आठमा पढ्छु म । पढाइमा राम्रै छु । त्यसैले स्कुलमा अनि घरमा पनि सबैले माया गर्नुहुन्छ । स्कुल जान एकदम रमाइलो लाग्छ ।

तर आजकल स्कुल जाँदा आउँदा बाटोमा केटाहरूले नराम्रो व्यवहार गर्छन् । कहिले अश्लील शब्द बोल्ने, कहिले सिटी फुक्ने, कहिले अश्लील हाउभाउ देखाउने त कहिले शरीरका अंगहरू छुने बहानाले बाटो छेक्छन् । धेरै दिनदेखि यस्तो व्यवहार नरोकिएपछि घरमा आमासँग भनें ।

तर ‘जवान हुँदैछ्यौ छोरी, केटाहरूसँग आफैं जोगिएर हिंड्नुपर्छ है !’ आमाले यति मात्र भन्नुभो । उहाँको कुरा त ठिकै हो । तर जोगिने कसरी ? कुनै आइडिया नै भएन । यो क्रम रोकिएन । मलाई स्कुल जानै मनलाग्न छाड्यो । एकदिन हिम्मत गरेर ‘मलाई अर्कै स्कुलमा राखिदिनुस् न बाबा’ भनेर अनुरोध गरें । बाबाले किन भनेर सोध्नुभयो ।

‘केटाहरूले बाटामा जिस्क्याउँछन्’ यत्ति मात्र भनें । ‘अर्को स्कुलमा केटाहरू हुँदैनन् र ?’ उहाँले जिल्याउने पाराले हाँसेर भन्नुभयो । सिरियस्ली लिनुभएन । बरु घरबाट नजिकैको यति राम्रो स्कुल छोडेर कहाँ जाने छोरी ? आफै स्ट्रङ्ग पो हुने हो त । त्यसरी डराएर हुन्छ त ? भनेर उल्टै उपदेश दिएर हिंड्नुभो । तर स्ट्रङ्ग कसरी हुने ? केही आइडिया भएन ।

झन् उकुसमुकुस भयो । एकदिन त स्कुल जाँदै गर्दा उनीहरूले बाटो छेकेर हात समात्दै धकेलेर बाटो मुन्तिरको खोल्सातिर लैजान खोजे । तर संयोगले विपरित दिशाबाट आइरहेको मोटरसाइकलको ठूलो आवाजले तर्सिए तिनीहरू । त्यही मौकामा हात झट्कारेर म फुत्किएँ ।

तर स्कुल नगई रुँदै घर फर्किएँ । आमाले किन फर्किएको भनेर सोध्नुभयो । मैले पेट दुखेर भन्दिएँ । अनि कोठा भित्र गएर ढोका थुनेर पल्टिएँ । भोलिपल्टदेखि मलाई स्कुल जानै मन लागेन । पेट दुखेको बहाना गरी घरमै सुतिरहें । कसैसँग बोल्न र खान पनि मन लागेन ।

पहिलो दिन त पिरियड भएर होला भनेर खासै सोधखोज गर्नु भएन । तर म नउठेपछि आमाले ‘तिमीलाई गाह्रो भए जस्तो छ । ल हिंड छोरी अस्पताल जाउँ’ भन्नुभयो । मलाई पेट दुखेको थिएन । त्यसैले अस्पताल जान पटक्कै मन थिएन ।

तर बुबाले ट्याक्सी बोलाउनुभो । अनि अस्पताल लिएर आउनुभो । खै किन हो, आजकल मलाई नचिनेको केटा मान्छे देख्ने बित्तिकै एकदम डर लागेर मुटु ढुकढुक हुन्छ । अनि पसिना आउँछ । अब फेरि त्यही बाटो स्कूल कसरी जाने होला भन्ने चिन्ताले सताइरहन्छ ।”

जब यो पूरै कथा पीडितका अभिभावकलाई सुनाइन्छ; छोरीको इज्जत, सुरक्षा र भविष्यलाई लिएर डर र चिन्ताले निकै हतास हुन्छन् । अनि घरी चिकित्सक त घरी नर्ससँग सोधिरहन्छन् ‘हाम्री छोरी पहिले जस्तै सामान्य त हुन्छिन् नि है ?’ त्यसैले परामर्शको पालो अब उनीहरूको आउँछ ।

मानव सभ्यताको इतिहासदेखि नै महिलाको शरीर र भावना माथि पुरुषले नैसर्गिक अधिकार जमाउने र त्यो महिलाले सहजै स्वीकार्नुपर्ने पितृसत्तावादी मान्यता हावी छ । जुन घोषित अघोषित रूपमा बच्चादेखि नै सिकाइन्छ छोराछोरीलाई ।

जे होस दह्रो मन गरेर पीडितको स्वास्थ्य उपचार सँगै कानूनी उपचार समेत खोज्ने निष्कर्ष सहित पीडक विरुद्ध प्रहरीमा उजुरी दिन्छन् । प्रहरीले आफ्नो कारबाही अघि बढाउँछ ।

तर आफूलाई अमूक राजनीतिक दल सम्बद्ध सामाजिक कार्यकर्ता बताउने कुनै व्यक्ति पीडकका आफन्त सहित दलबलसाथ अस्पतालमा प्रकट हुन्छन् र भन्छन्, ‘केटाहरूले अलिअलि छेडखानी गरेछन् । के गर्ने ! उमेर नै यस्तै हो । कुखुरे बैंसको करामत । यस्ता झिनामसिना कुरामा पढ्ने विद्यार्थीलाई पुलिस लगाउनु राम्रो होइन । दिमागमा नराम्रो असर पर्न सक्छ । केटाहरूको भविष्यको सवाल छ । हामीलाई केस मिलाउन मेडिकल रिपोर्ट चाहियो । तुरुन्त बनाएर पठाइदिनुपर्‍यो ।’

अस्पताल अधिकारीले भन्छन्, ‘मेडिकल इन्भेस्टिगेसनको आफ्नो इथिक्स हुन्छ । त्यसले आफ्नो स्वाभाविक समय त लिन्छ नै !’ उनले आदेशात्मक जवाफ दिन्छन् । ‘के नै भा’को छ र ? सामान्य टच गरेको मात्र त हो नि ! यसो खस्याङखुसुङ मिलाएर लेखिदिनोस् न !’

‘तपाइँले भने झैं खस्याङखुसुङ लेखेर हुने भए अस्पतालको मेडिकल रिपोर्ट किन चाहियो त ? तपाईं आफैंले लेखे भैहाल्यो नि महाशय !’ अस्पतालबाट ती ‘नेता’ले मुखभरिको जवाफ त पाउँछन् तर यौनजन्य दुर्व्यवहार जस्तो गम्भीर कानुनी अपराधलाई विभिन्न स्वार्थवश सामान्यीकरण वा ढाकछोप गरेर ‘ढिसमिस’ पार्न खोज्ने विकृत मनोवृत्ति समाजमा अझै किन व्याप्त छ ? यो प्रश्न भने अनुत्तरित नै रहन्छ ।

पीडितले न्याय नपाएर झन् पीडित हुने । अनि पीडकको मनोबल बढेर थप हिंस्रक बन्दै अर्को अपराधको लागि हौसिने । कतै शक्ति र पहुँचको आडमा समाजमा भैरहने यस्ता गतिविधि नै प्रकारान्तरले बलात्कारी उत्पादन गर्ने कारखाना त बनिरहेका छैनन् ?

हुर्कंदै जाँदा यही संरचनात्मक लाभांशको मनोविज्ञान विस्तार भएर महिलामाथिकै नियन्त्रण आफ्नै मुट्ठीमा छ भन्ने भ्रमले बास गर्छ छोराहरूको मन–मस्तिष्कमा । यही भ्रमलाई जब समाजले मलजल गर्छ त्यो झांगिएर पुरुषवादी अहंकारको विषवृक्षको रूपमा फैलिन्छ ।

विडम्बना नै भनौं, सभ्य समाजमा कानुनको पालना गर्नेहरू पुजिन्छन् । तर हामीकहाँ अपराधीहरू फूलमालाले सजिन्छन् । यसको जिम्मेवार को ?

वास्तवमा कुनै पनि व्यक्तिभित्र बलात्कारी मनोवृत्ति अंकुरण हुन त्यसै अनुकूलको उर्वर भूमि चाहिन्छ । अनि त्यो उर्वर भूमि ऊ हुर्के बढेकै सामाजिक परिवेश हुन्छ । जुन परम्परागत मूल्यमान्यता र धर्म–संस्कृतिद्वारा सिधासिधा निर्देशित हुन्छ ।

मानव सभ्यताको इतिहासदेखि नै महिलाको शरीर र भावना माथि पुरुषले नैसर्गिक अधिकार जमाउने र त्यो महिलाले सहजै स्वीकार्नुपर्ने पितृसत्तावादी मान्यता हावी छ । जुन घोषित अघोषित रूपमा बच्चादेखि नै सिकाइन्छ छोराछोरीलाई ।

सती सावित्री बन्नुपर्ने नाममा परिवारबाटै निरीह प्राणी बन्न उत्प्रेरित गरिन्छन् छोरीहरू । तर पुरुषार्थी हुनैपर्ने बहानामा थाहै नपाई हिंस्रक बन्न उक्साइन्छन् छोराहरू । एउटै घरभित्र झुम्राको पुतली वा आधुनिक गुडियाको शिङ्गारपटार गर्दै हुर्किन्छन् छोरीहरू ।

तर फिरफिरे घुमाउँदै र घुयेंत्रो नचाउँदै होस् या आधुनिक मेसिनगन र फाइटर प्लेन आदिका खेलौनासँग खेल्दै हुर्किन्छन् छोराहरू ।

आज पनि छोरीहरूले भान्सामा तरकारीमा नून–तेल अड्कल्न सिक्दै गर्दा हातमा क्रिकेटको ब्याट र खुट्टामा फुटबल नचाउँदै खेलमैदानतिर कुद्छन् छोराहरू । छोराहरू छोरा भएकैले विशेषाधिकार प्राप्त छन् भन्ने मनोविज्ञान घुसाइन्छ उनीहरूको दिमागमा सानैदेखि । परिवारभित्रै दिदी बहिनीको सुरक्षाको जिम्मेवारी दाजुभाइहरूलाई तोकिन्छ सानैदेखि । जब घरभित्र आफ्नै छोरीबहिनी माथिको नियन्त्रण जायज ठहरिन्छ ।

हुर्कंदै जाँदा यही संरचनात्मक लाभांशको मनोविज्ञान विस्तार भएर महिलामाथिकै नियन्त्रण आफ्नै मुट्ठीमा छ भन्ने भ्रमले बास गर्छ छोराहरूको मन–मस्तिष्कमा । यही भ्रमलाई जब समाजले मलजल गर्छ त्यो झांगिएर पुरुषवादी अहंकारको विषवृक्षको रूपमा फैलिन्छ ।

परिणाम आफ्नै टोल छिमेकमा हिंडडुल गर्न समेत असुरक्षित हुन्छन् छोरीहरू । दिनदहाडै र्‍यागिङ्ग, बुलिङ, ब्याडटच आदि इत्यादि अनेक हिंसाको सामना गर्नुपर्छ उनीहरूले । प्रतिवाद गर्न खोज्दा छोरी मान्छे भएर के खोज्न घर बाहिर हिंडेको त ? उल्टै प्रतिप्रश्न खेप्नुपर्छ ।

यसरी आफूमाथि हुने हिंसाको सारा दोष स्वयं आफैंमाथि थोपर्ने समाजसँग जुध्दै हिंड्नुपर्छ छोरीले । तर फुक्काफाल छोराहरूका हर स्त्री पीडक हर्कतहरू सदैव हँसिमजाकको विषय बन्छन् समाजमा । उनीहरूका अपराधजन्य क्रियाकलाप समेत नजरअन्दाज गरिन्छन् ।

विडम्बना त के भने समाजमा चल्दै आएका यसखाले लैंगिक हिंसाको स्रोतको लहरो हाम्रो धर्म संस्कृतिसँगै जोडिन्छ । चाहे रामायणकी सीताको अग्निपरीक्षाको प्रसंग होस् या महाभारतकी द्रौपदीको चीरहरण । मिथकीय हाम्रा अधिकांश धर्मशास्त्र भित्र नारी चीत्कारका अनेकौं प्रसंगहरू छन् । तर अधिकांश ती प्रसंगहरूमा पितृसत्ताको आडभरोसा पुरुषहरूलाई नै मिल्दै आएको भेटिन्छ ।

त्यसैले त आज पनि एउटी स्कुले बालिकामाथि दिनदहाडै यौन दुर्व्यवहार गर्ने छोराहरूको भविष्यको चिन्ताले सताउँछ समाजलाई । कुखुरे बैंसको करामत मानेर विना शर्त माफी दिनुपर्ने दलिल पेश गरिन्छ । तर जवानीसँगै जोडिएर आउने ‘इज्जत’ नामको जिनिस आफैंले जोगाउन नसके छोरीहरूको भविष्य चौबाटोमै असरल्ल हुन्छ ।

अनि काँडेतार लाग्छ जीवनको बाँकी गोरेटोमा । जसलाई पन्छाउँदै अघि बढ्न सबैलाई सम्भव नहुन सक्छ । सायद यस्तै लैंगिक दुर्व्यवहारको सामना गर्न नसकेर कति छोरीहरूले स्कुल छोडेका होलान् । अनि कति अभिभावकले कारण खोजी नै नगरी पढ्न अयोग्य घोषित गरेर घरधन्दा सुम्पिदिएका होलान् ।

अथवा मारे पाप पाले पुण्यको कसम खाँदै असमयमै अन्माएर पराइघर पठाइदिएका होलान् । तर मैमत्त छोराहरू भने थप हिंस्रक बन्दै अरू कति छोरीहरूलाई शिकार बनाउँदै होलान् ! के यसको तथ्यांक कसैसँग होला ?

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा एक तिहाइ महिलाहरू यौन हिंसाको शिकार हुन्छन् । अर्को एक तथ्यांक भन्छ, दुनियाँमा प्रत्येक चार सेकेण्डमा एक महिला बलात्कृत हुन्छिन् । छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययन अनुसार आज पनि त्यहाँ प्रतिदिन औसत पचासी जना महिला बलात्कृत भइरहेका छन् ।

नेपालमा सन् २०१७ मा दर्ता भएका यौन हिंसाका केसमध्ये ४९ प्रतिशत १६ वर्ष मुनि उमेरका बालिकाहरू थिए । जसमध्ये २२ प्रतिशत बलात्कार नातेदारहरूबाट तथा ४५ प्रतिशत छिमेकीहरूबाट हुने गरेको तथ्यांक छ ।

के यो तथ्यांक छोरीहरूलाई रात–बिरात घर बाहिर निस्कनुहुँदैन, आफ्नो इज्जत आफैं जोगाउनुपर्छ भन्ने उपदेश दिएर नथाक्ने पितृसत्ताभित्र लुकेको कुरूप र डरलाग्दो चित्र होइन र ?

आफ्नै घरभित्र हरदिन असुरक्षित अनि आफन्तहरूको गिद्धेनजरबाट आक्रान्त भैरहने अबोध बालिकाहरूले आफूले आफैंलाई पलपल जोगाइरहन कतिसम्म सम्भव होला ? अनि छोटो लुगा लगाएको कारण बलात्कार बढेको कुतर्क गर्ने उपबुज्रुकहरूलाई कसरी बुझाउने समाजमा दुई वर्ष मुनिका बालिकादेखि ८० काटेका वृद्धालाई समेत नछोड्ने नरपिशाच पनि छन् भनेर । अझ पछिल्लो समयको डिजिटल दुनियाँमा त कोठाभित्र सिधै छिर्छन् बलात्कारीहरू ।

त्यसैले छोरीहरूलाई जोगाउनै गाह्रो भो भन्ने भाष्य निर्माण भएको छ । वास्तवमा आजको समाजमा बालिकाहरूलाई सम्भावित बलात्कारबाट जोगाउन जति मुश्किल भएको छ त्योभन्दा बढी मुश्किल हाम्रा छोराहरूलाई बलात्कारी बन्नबाट जोगाउन हुँदैछ ।

कला पारखीको भावनामा खेल्ने कलाकार होस् या खेलप्रेमीको आकर्षणलाई ब्ल्याकमेलिङ गर्ने खेलाडी आदि इत्यादि सबै यौन पीडकहरूको मानसिक यौन विकारको स्रोत उसको हुर्काइ हो ।

तर दुर्भाग्य यस्तो विकराल अवस्थाको समेत नजरअन्दाज गर्दै विद्यमान कानूनी व्यवस्थाले त पुरुष जति सबै फस्ने भए भन्ने कुतर्क गर्दै संशोधनको आवाज उठाउने प्रयत्न गरिंदैछ । एकाध घटनालाई जनरलाइज्ड गर्दै ‘मन मिले मायाप्रीति नमिले क्षतिपूर्ति’ को गलत भाष्य बनाउन खोज्नु कति जायज होला ? के हाम्रो समाज त्यति उदार छ र ?

वास्तविक बलात्कार पीडितले न्याय पाउँ भनेर हारगुहार गर्दा त उल्टै चरित्रमाथि प्रश्न उठाउँदै ‘छि..छि.. दुर..दुर’ गरिन्छ यहाँ । जसले गर्दा अधिकांश पीडितहरूले बोल्ने हिम्मतसम्म नगरेर चुपचाप सहेर बस्न बाध्य हुन्छन् ।

के ‘मलाई फलानाले बलात्कार गर्‍यो’ भनेर हिम्मत गर्ने महिलालाई चैनले बसिखान दिन्छ यो समाजले ? अनि कसैले झुटा आरोप नै लगाइहाल्यो भने पनि अनुसन्धान गर्ने निकायले के हेरेर बस्लान् त ? त्यति त विश्वास गर्नुपर्‍यो नि राज्यका निकायहरूमाथि । यो त चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा ताने जस्तो भएन र ?

यसबाट प्रस्ट हुन्छ लिंगभेद र महिला हिंसाका सम्बन्धमा समाजमा पितृसत्तात्मक पक्षधरता र अन्यायपूर्ण मौनता कायमै छ अझै । बलात्कारजन्य सामाजिक अपराधका स्रोत यिनै मूल्यमान्यताका वरिपरि छन् । वास्तवमा महिलाको शरीरलाई बजारु मालको रूपमा देख्ने सांस्कृतिक दृष्टिदोष नै यसको मूल जरो हो । जसलाई उखेलेर फाल्ने प्रयत्नमा जुटिरहनुको विकल्प छैन ।

चर्चित युट्युबर ध्रुव राठी कोलकाता बलात्कार केन्द्रित आफ्नो भिडियोमा एक अनुसन्धानको नतिजा प्रस्तुत गर्छन् । जसमा १३२ जना बालयौन दुराचारीहरू बीच गरिएको अध्ययनमा ७३ प्रतिशत स्वयं बालयौन दुर्व्यवहार पीडित रहेको, ६५ प्रतिशतले दश वर्ष उमेर नपुग्दै अश्लील भिडियो हेर्ने गरेको र ६० प्रतिशतले एघार वर्ष नपुग्दै हस्तमैथुन सुरु गरेको तथ्य भेटिएको उल्लेख छ । त्यसैगरी १३७ जना बलात्कारीहरूमध्ये ६८ प्रतिशतले शारीरिक दुर्व्यवहार, ७८ प्रतिशतले घरेलु हिंसा र ७० प्रतिशतले भावनात्मक दुर्व्यवहार भोगेको तथ्यांक छ ।

यसबाट प्रस्ट हुन्छ सँगै काम गर्दा अनावश्यक छेडखानी गरिरहने सहकर्मी होस् वा आफ्नै विद्यार्थी माथि गिद्धेदृष्टि राख्ने शिक्षक । चियाको अफर गर्दा यौन स्वीकृतिको अन्दाज गर्ने मित्र होस् या यात्रामा सँगै सिट पर्दा अनावश्यक रूपमा शरीर टच गर्ने सहयात्री ।

कला पारखीको भावनामा खेल्ने कलाकार होस् या खेलप्रेमीको आकर्षणलाई ब्ल्याकमेलिङ गर्ने खेलाडी आदि इत्यादि सबै यौन पीडकहरूको मानसिक यौन विकारको स्रोत उसको हुर्काइ हो । उसको बालापनको शिक्षा–दीक्षा नै हो । संगत हो, संस्कार हो ।

कुनै पनि मान्छे तत्क्षण बलात्कारी बन्न सक्दैन । न त तत्कालको जैविक उत्तेजनाले मात्र कसैले बलात्कारको आँट गर्न सक्छ । लामो समयदेखि उसको मानसपटलमा लुकेर बसेको कुण्ठाको परिणामले घट्छ कुनै पनि बलात्कारजन्य घटना ।

जुन शृङ्खलाबद्ध र योजनाबद्ध हुन्छ । स्त्रीद्वेषी समाजव्यवस्था भित्र अन्तरनिहित यही कटु यथार्थको अन्तर्यमा पुगेर हाम्रा छोराहरूको बाल मस्तिष्कलाई महिला हिंसा विरुद्ध प्रशिक्षित गर्न ढिला भइरहेको छ । जसको शुरुआत घरघर र स्कुल–स्कुलबाटै हुनुपर्दछ ।

(लेखक एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), कान्ति बाल अस्पताल महाराजगञ्जको फोकल पर्सन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?