+
+

धरहराले ओझेलमा भीमसेन स्तम्भ, अलपत्र छ सुन्धारा पनि

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असोज १० गते २०:३०

१० असोज, काठमाडौं । हिजोआज काठमाडौंमा धरहरा चढ्नेहरुको भीड छ । निर्माणको काम नसकिंदै सञ्चालन गरिएको २२ तले नयाँ धरहराको छेउमा अलपत्र छ, २०७२ सालमा भूकम्पबाट भत्किएको भीमसेन स्तम्भ (पुरानो धरहराको फेद) ।

सरकारले पुरानो धरहरालाई सीसाभित्र राखेर संरक्षण गर्ने अनि बाहिरबाट पुरानो (१९९० को भूकम्पअघिको ११ तले) धरहराजस्तै देखिने गरी अर्को धरहरा बनाउने काम अघि बढाएको थियो ।

पुरानो धरहरा क्षेत्र आसपासको राष्ट्र बैंकको टक्सार र हुलाक सेवा विभागको जग्गा समेत लिएर पुरानो धरहरा र सुन्धारासहितको क्षेत्रलाई भूकम्प संग्रहालयको रुपमा विकास गर्ने भनिएको थियो । तर, भनेअनुसार काम भएन । ठेक्का लगाउँदासम्म सीसाभित्र राखेर संरक्षण र प्रदर्शन गर्ने योजना थियो ।

तर, नयाँ धरहराको काम हुँदै गर्दा धरहराको ठुटो संरक्षणबारे फरक मत आए । स्थानीयले पुरातात्विक धरहरालाई सीसाभित्र राख्ने योजनाको विरोध गरेपछि सो काम हुन सकेन । त्यसपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्ने योजना बन्यो ।

तर, सीसाभित्र नराखे पनि भत्किएको धरहरालाई पनि भत्किंदा जुन स्वरुपमा आयो, दुरुस्तै राखिरहनु पर्ने र त्यसमा थप क्षति हुन नदिने विषय पेचिलो थियो ।

धरहराको बाँकी रहेको भागलाई प्रबलीकरण (रेट्रोफिट) गर्दै सो संरचनालाई ‘केमिकल ट्रिटमेन्ट’ गरेर स्थिर बनाउनेछ योजना सरकारले बनायो ।

तर, पुरातात्विक सम्पदामा केमिकल राखेर प्रबलीकरण गर्ने विषयमा पनि सहमति बन्न सकेन । अहिले पनि पुरातत्व विभाग र धरहराको पुनर्निर्माण हेरिरहेको शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनाबीच भत्किएको धरहराको संरक्षणबारे सहमति जुटेको छैन ।

नयाँ धरहरा चढ्नेहरुलाई प्रवलीकरणको पर्खाइमा रहेको ऐतिहासिक धरहराबारे जानकारी दिन समेत सरकारले रुचि देखाएको छैन । अग्लो नवनिर्मित धरहराको छेउमा जस्ताको छानो हालेर हरियो रंगको झुलले छेकेर राखिएको पुरानो पुरातात्विक धरहरा कहिलेदेखि सर्वसाधारणका लागि खुला हुन्छ भन्ने निश्चित छैन । पुरानो धरहराबारे जान्न इच्छुकका लागि सामान्य सूचना दिने व्यवस्था समेत नगरी नयाँ धरहरा खुला गरिएको छ ।

विभागले भत्किएर बाँकी रहेको धरहरालाई बलियो बनाउने काम आफ्नै योजनाअनुसार हुनुपर्ने अडान लिएको छ । त्यसैले चालु आर्थिक वर्षको बजेटमा धरहराको ठुटो संरक्षणको कामका लागि छुट्टै बजेट विनियोजन गरिएको छ ।

भत्किएको धरहराका प्रबलीकरणको काम धरहरा पुनर्निर्माणको जिम्मा लिएको जेआईटीसी/रमण जेभीले जिम्मा पाएको थियो । तर केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीका अनुसार भत्किएको धरहराको पुरानो भागलाई संरक्षण गर्ने कामको नेतृत्व पुरातत्व विभागले नै गर्न चाहेपछि ठेक्काबाट यो काम अलग्याउने गरी नयाँ कार्यक्रम बनाएर बजेट राखिएको छ । यसअनुसार अब ठेकेदारको कार्य विवरणबाट यो काम झिकेर ठेक्का भेरिएसन गरिने उनले बताए ।

‘भीमसेन स्तम्भको प्रवलीकरणको काम पुरातत्व विभाग आफैं गर्न पाए जस्तो गर्दैछ’, अधिकारीले भने, ‘त्यसको कारण देखाएर यति ठूलो ठेक्कामा हामी म्याद कति थप्नु भनेरै नयाँ कार्यक्रम बनाएका हौं ।’

पुरातत्व विभागका निर्देशक तथा प्रवक्ता रामबहादुर कुँवर परियोजनाका तर्फबाट भीमसेन स्तम्भको भत्किएर बाँकी रहेको भागको संरक्षणबारे प्रस्ताव नै पेश नगरेको बताउँछन् ।

‘यसलाई संरक्षणको लागि के गर्ने भन्ने प्रस्ताव मागेका थियौं, तर आएको छैन’, उनले भने, ‘हामीले त्यसलाई अहिले जस्तो छ त्यस्तै राख्नुपर्छ भनेका छौं, यसमा विभागले सुपरभिजन गर्छ भनेपछि खासै छलफल नै भएको छैन ।’

वि. सं १८८२ मा भीमसेन थापाले ११ तले धरहरा निर्माण गराएका थिए । १९९० को महाभूकम्पमा २ तला भत्किएको थियो । जुद्धशमशेरले भाँचिएको दुई तला नथपी ९ तलामै सीमित राखेर पुनर्निर्माण गराएका थिए ।

२०७२ को भूकम्पमा लगभग फेदैदेखि ढलेको धरहरालाई त्यत्तिकै छाडेर सरकारले भीमसेन थापाले बनाउन लगाएकै स्वरुपमा नयाँ धरहरा बनाए पनि भत्किएको धरहरा भने अहिले पनि कसरी प्रवलीकरण हुन्छ भन्ने अन्योल छ ।

यसको पुरनर्निर्माण नहुने निश्चित भए पनि जति भाग बचेको छ, त्यसलाई स्मारकका रुपमा राख्ने सरकारी योजना त छ, तर त्यसको मोडालिटी अन्योलमै छ ।

सुन्धाराको पनि बिजोग

धरहरा क्षेत्रभित्र भीमसेन थापाले नै निर्माण गराएको ऐतिहासिक सुन्धारालाई ब्युँताउनेबारे पनि सरकार अन्योलमै छ । हाल जीर्ण रहेको सुन्धारामा स्थानीय बासिन्दाले र काठमाडौं महानगरपालिकाले प्राकृतिक पानी नै खसाल्नुपर्ने अडान लिएपछि सरकारले यसको संरक्षणको काम पनि अघि बढाउन सकेको छैन ।

सुन्धारामा बाह्रैमास पानी खसाल्ने योजना भएपनि कहाँको पानी कसरी प्रयोग गर्ने भन्ने अन्योल छ ।

यही अन्योल नहट्दा सुन्धाराको पनि जीर्णोद्धार हुन नसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारी बताउँछन् ।

‘स्थानीय बासिन्दा र महानगरपालिकाले सुन्धारमा प्राकृतिक पानी ल्याएर खसाल्नुस् भन्नुभएको छ, तर, टुँडिखेलबाट पानी ल्याउँदा पनि ४० फिटभन्दा माथिको पानी छैन भन्ने उहाँहरु (महानगरपालिका) ले निष्कर्ष निकालल्नुभएको छ’, उनले भने, ‘हामीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट पानी जोड्न विकल्प पनि दिएका हौं, मान्नुभएको छैन ।’ उनले डिप बोरिङबाट पानी सुन्धारामा ल्याउने अर्को विकल्प भएपनि त्यसमा पनि सहमति हुन सकेको छैन ।

‘पानीबारे कुरा नटुंगिएसम्म भूकम्पले हल्लाएका र चर्काएका ढुंगा मिलाउन पनि उहाँहरुले दिनुभएन’, अधिकारीले भने । यसैकारण सुन्धाराका लागि पानी आपूर्ति र निकासको काम धरहराको अहिले चलिरहेको ठेक्काबाट झिकेर नयाँ कार्यक्रममा राखिएको उनले बताए ।

परियोजनाले पानीको मूल सुकेर अलपत्र परेको सुन्धारालाई सकेसम्म प्राकृतिक रुपमै पानीको स्रोत खोज्ने भनेको थियो । महाँकाल क्षेत्रबाट सुन्धारामा प्राकृतिक रुपमै पानी ल्याउने र सकेसम्म आकाशे पानी जम्मा भएको प्राकृतिक रुपमै धारामा खसाल्ने प्रस्ताव परियोजनाको थियो । तर, सुन्धारामा पानी अभाव हुँदा डिप बोरिङबाट पनि खसाल्ने अर्को विकल्प पनि दिइएको थियो । सुक्खा समयमा हुनसक्ने संकटमा भने केयूकेएलको पाइपलाइनबाट समेत पानी लिएर सुन्धारामा खसाल्ने विकल्प दिइएको थियो । सुन्धारालाई जीवन्त राख्ने र पानी नसुक्ने अवस्था बनाउने भन्दै दिइएका विकल्पमा स्थानीय बासिन्दा सहमत भएका छैनन् ।

सुन्धाराका कारण नै धरहरा रहेको ठाउँलाई काठमाडौंमा ‘सुन्धारा’ भन्ने गरिन्छ । धरहरा नजिकै रहेको यो सुनौलो धारामा धेरै वर्षदेखि पानी बगेको छैन । सन् २००० तिरसम्म सुन्धारा पनि महत्वपूर्ण स्मारक थियो ।

‘लुहिती’ (सुन्धाराको स्थानीय नेवाः नाम) धरहरासँग मिलेर भीमसेन थापाले रानी त्रिपुरासुन्दरीका लागि सन् १८२५ मा बनाएका थिए । ढुंगाको वास्तुकलाले सजाइएको सुन्धारा परिसरमा पाँचवटा ढुंगाका धाराहरू पनि छन् । प्रत्येक धाराको शीर भागमा विभिन्न देवीहरुप्रति समर्पित मन्दिर छन् ।

कुनै समय बूढानीलकण्ठ जल प्रणाली हुँदै राजकुलोबाट निस्कने प्राकृतिक पानी यहाँबाट बग्ने गरेको इतिहास छ । भूमिगत पानी सजिलै धारामा आउन जमिनको सतहभन्दा केही मिटर मुनि धाराहरू राखिएको छ ।

तर, पछिल्ला दुई दशकदेखि ती धाराहरु सुक्दै गएपछि यसको अस्तित्व नै सकंटमा छ । राजकुलोबाहेक टुँडिखेल पनि सुन्धारामा आउने भूमिगत पानीको अर्को स्रोत थियो ।

रानीपोखरीदेखि रंगशालासम्म फैलिएको टुँडिखेलमा दक्षिणभागमा सिमसार क्षेत्र थियो । रंगशाला बनेपछि त्यो मासियो । बालुवाले भरिएको टुँडिखेल वरपरको सिमसार मासिएपछि त्यसको प्रभावले वरपरका ढुंगेधाराहरुमा धारामा पानीको अभाव हुने अवस्था आएको हो ।

झन् वरपरका क्षेत्र कंक्रिटले भरिएपछि सुन्धारा संकटमा पर्दै गएको थियो । स्थानीय बासिन्दाका अनुसार ‘काठमाडौं मल’ बनाउँदा यो सुन्धाराको पानीको मूल मासिएको हो । २०४२ सालमा काठमाडौं मल बनाउन बालुवा निकालेर माटो भरेपछि स्थानीयले काम रोकेका थिए । तर, २०५६ मा काठमाडौं मल बनेपछि सुन्धाराको जलस्रोत र हिति प्रणाली बिथोलिन पुग्यो ।

जथाभावी भएका निर्माणका कामले वर्षायाममा सुन्धारामा झरेको पानीको निकास समेत मेटिन पुग्यो । धारा सुकेपछि स्थानीयबासी पनि पानी उपयोग गर्नबाट बञ्चित हुुँदै आएका छन् ।

यसलाई प्राकृतिक रुपमै ब्यूँताउनुपर्ने माग स्थानीयवासी र सम्पदा प्रेमीहरुको छ । तर, वरपर कंक्रिट नै कंक्रिटका संरचना भएकाले यसमा १२ महिना नै प्राकृतिक पानी बगाउन अन्य विकल्प खोजी भएपनि अझै सहमति जुट्न सकेको छैन । अहिले धारामा खस्ने पानीलाई कसरी सुन्धारा क्षेत्रबाट बाहिर पठाउने भन्ने पनि अन्योल छ ।

स्थानीयले प्राकृतिक रुपमा नै सुन्धाराको पानीलाई बगेर जाने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सो क्षेत्रमा बनेका भवनले प्राकृतिक रुपमा बगाउन समस्या पर्ने अवस्था रहेको अधिकारीहरु बताउँछन् ।

पुरातत्व विभागका प्रवक्ता कुँवर केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनासँग सुन्धाराको पानीको व्यवस्थापनबारे अहिलेसम्म छलफल नभएको बताउँछन् । ‘सुन्धारा पहिलेकै स्वरुपमा संरक्षण हुने हो’, उनले भने, ‘पानीका सवालमा हामीसँग छलफल भएको छैन ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?