+
+

दशकपछि ‘महजात्रा’ लिएर देश घुम्दै महजोडी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १२:४१

काठमाडौं । दशकपछि महजोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना हुने भएको छ ।

मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको हो । काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने महजात्रामा संलग्न कलाकार किरण केसीले जानकारी दिए ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।

लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्य मार्फत कटाक्ष गरिने अभिनेता समेत रहेका हरिवंशले जानकारी दिए ।

अर्का कलाकार किरण केसी ‘रातामकै’ले यसपटकको महजात्रालाई विशुद्ध हास्यव्यंग्य र मनोरञ्जनात्मक कार्यक्रम हुने बताए । काठमाडौंपछि महजोडी पूर्वदेखि पश्चिम नेपालका विभिन्न सहरमा कार्यक्रम लिएर पुग्नेछन् ।

दमक, विर्तामोड, इटहरी धरान, विराटनगर, हेटौंडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा पनि कार्यक्रम तय गरिएको छ ।

एक कार्यक्रमको अवधि दुई घण्टा ४० मिनेटको हुने जनाइएको छ । ‘महजोडीसहितका कलाकारले देशको वर्तमान अवस्थालाई तीखो व्यंग्यमार्फत हँसाउनुहुनेछ’ केसीले भने, ‘हास्यव्यंग्य, प्यारोडी र नृत्यमार्फत कलाकारले प्रस्तुति दिनेछन् ।’

उनका अनुसार पछिल्लोपटक सन् २०१५ मा नेपालमा महजात्रा आयोजना गरिएको थियो । त्यसयता कोभिड लगायतका कारणले कार्यक्रम हुने नसकेको उनले जनाए ।

किरणका अनुसार यसअघि अमेरिकाका ३८ राज्य, क्यानडाका ६ र अस्ट्रेलियाका ७ राज्यमा महजात्रा सम्पन्न भइसकेको छ । यसैबीच, अभिनेता केसीले निकट भविष्यमा महसञ्चार र दीपकराज गिरीको ब्यानर आमा सरस्वती मुभिजले कथानक फिल्म निर्माणको तयारी गरिरहेको खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?