+
+

कोरियाको चेरवन सहरले ललितपुर महानगरको कृषि र पर्यावरणमा सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १३:३१

१० असोज, काठमाडौ । ललितपर महानगरमा कृषि अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्न दक्षिण कोरियाको चेरवन सहरका मेयर ली ह्युन जोनसहित प्रतिनिधिमण्डल ललितपुर आएको छ ।

चेरवनका मेयर जोनसहित प्रतिनिधिमण्डललाई ललितपुरका मेयर चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरे । कार्यक्रममा वडाध्यक्ष र नगरपालिकाका सल्लाहकारको उपस्थिति थियो ।

मेयर महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दौत्य सम्बन्धलाई समेत अझै प्रगाढ बनाउने बताए । एक महिनाअघि मेयर महर्जन चेरवनको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्न कोरिया गएका थिए ।

मेयर महर्जनले कृषि र वातावरण क्षेत्रमा चेरवनबाट ललितपुर महानगरले धेरै सिक्न सक्ने बताए । ‘कृषि र वातावरण क्षेत्रमा हामी चेरवनका असल अभ्यास सिक्छौं,, त्यसका लागि उहाँहरूको यो भ्रमण महत्त्वपूर्ण छ,’ उनले भने, ‘चेरवनमा पनि ललितपुर महानगर केही काम गर्न चाहन्छ, त्यो क्षेत्र सम्पदा हुन सक्छ ।’

चेरवनका मेयर जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको भन्दै कृषि र पर्यावरण प्राथमिकतामा रहेको बताए । नेपालीको सदभाव शैलीबाट आफू प्रभावित भएको उनको भनाइ छ ।

उपमेयर बज्राचार्यले चेरवनसँग भगिनी सम्बन्ध कायम भएकोमा खुसी व्यक्त गर्दै दुई सहरबीचको भिन्नता र एकता आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताइन् ।

अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरण क्षेत्रमा भएको कामबाट आफू प्रभावित भएको उनले बताइन् । ‘यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नु छ, भगिनी सम्बन्धले त्यसलाई मार्गप्रशस्त गर्छ ।’

ललितपुर महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जन दुई सहरबीचको असल अभ्यास आदान–प्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न स्टार्टअपलाई सहयोग गर्नुपर्ने बताए । दुई सहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए ।

चेरवन सहरका उपाध्यक्ष जाङ योङले अन्य सहरलाई गर्ने सहयोग काउन्सिलबाट पारित गर्नुपर्ने बताउँदै ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको बताए ।

चेरवनका कृषि प्रविधि विभाग निर्देशक लि हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ त्यसबारे अध्ययन र व्यापक छलफल गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर २० का अध्यक्ष चन्द्रलाल महर्जन, १२ वडाका अध्यक्ष नारायणलाल अवाले, २७ का वडाध्यक्ष कृष्णहरि महर्जन र २६ का वडाध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्राएर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल नै पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्र्याएर उत्पादन बढाउनुपर्ने बताए ।

चेरवनको प्रतिनिधिमण्डलले ललितपुर महानगरभित्र र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरू अवलोकन गर्ने , त्यहाँका उत्पादनबारे छलफल गर्ने कार्यक्रम छ । एक साता लामो भ्रमणमा टोलीले कृषिमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?