+
+

हाम्रो संसदको स्तर निकै तल रहेको महसुस हुन्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १३:३५

१० असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदको स्तर निकै तल रहेको महसुस भएको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सांसदहरुले गर्ने गतिविधि र देखाएको व्यवहारले संसदको स्तर निकै तल रहेको महसुस हुने बताएका हुन् ।

‘सांसदहरुको अभिव्यक्तिले के देखाउँछ भने अघिल्लो दिन खबरदार यसो भनिस् भने भनेको छ, भोलिपल्ट ऊ अर्को पक्षमा पुग्छ र त्यही कुरालाई हिजो खबरदार भन्दै थिइस् खै तैँले गरेको भन्छ, यसले हाम्रो स्तर कहाँ छ भन्ने देखाउँछ, जता बसे पनि एउटा जिम्मेवारी साथ व्यवहार गर्ने कुराले चाहिँ हाम्रो स्तर निकै तल छ भन्ने महसुस हुन्छ’, उनले भने ।

संसदमा विषय केन्द्रित छलफल भइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको सभामुख घिमिरेले बताए । ‘स्तरीय भए हुन्थ्यो, अझ व्यवस्थित भए हुन्थ्यो भन्ने लाग्छ, विषय केन्द्रित भइदिए हुन्थ्यो, त्यो विषयले केही दिन पाए हुन्थ्यो’, उनले भने ।

सभामुख घिमिरेले संसदीय समितिहरुले पनि राम्रो काम गर्न नसकेको बताए । समितिका बैठकमा कोरम नपुग्ने, सांसदहरुले राम्रो तयारी नगर्ने र समिति सभापतिहरुले धेरै समय नदिने समस्या पनि देखिएको उनको भनाइ छ ।

संसदीय समितिहरुले विधेयकमाथि राम्रोसँग छलफल गरेमा संसदको काम पनि धेरै सहज हुने घिमिरेले बताए । ‘ती कुराहरुको अभावमा संसद भद्दा हुन्छ, निर्णय, निस्कर्ष निकाल्न सक्दैन, निकालेका निस्कर्षहरु पनि प्रभावकारी र व्यवहारिक नहुन पनि सक्छन् । त्यसले गर्दा समितिको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ’, उनले भने ।

संविधान संशोधनबारे बृहत छलफल आवश्यक

सभामुख घिमिरेले सबै राजनीतिक दलहरुबीच बृहत छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

‘सबै राजनीतिक शक्तिहरु, राजनीतिक दलहरु ओपन भएर, आग्रहहरुलाई छोडेर, आवश्यकता हो कि होइन भन्ने कुराको महशुस गरेर अनि जाने वातावरण बनाउनु पर्छ’, उनले भने ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरु पक्ष विपक्षमा बाडिँदा भविष्यमा समस्या आउने सभामुख घिमिरेको भनाइ छ । ‘फराकिलो दृष्टिकोणका साथ हाम्रो देशको मूल कानुन, एउटा बेग्लै विगतको इतिहासबाट हामीले निर्माण गर्नसक्यौं । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा अनुभवहरुलाई लिएर कसरी जाने भन्ने कुरामा सबै राजनीतिक शक्तिहरु, दलहरु, व्यक्तिहरु, विज्ञहरु एउटा त्यस्तो प्रयत्नमा ओपन भएर जानुपर्छ’, उनले भने ।

संविधान संशोधन गर्नुअघि संविधान कार्यान्वयनमा कति ध्यान दियौं भन्ने पनि ख्याल गर्नुपर्ने उनले बताए । संघीय सरकारले आवश्यक कानुनहरु नबनाइदिएका कारण प्रदेशहरुले काम गर्न नसकेको र त्यही कारण संघीयतामाथि प्रश्न उठिरहेको उनले बताए ।

‘संविधानको समीक्षा गर्ने र यसलाई उपयुक्त ढंगबाट परिमार्जन गर्ने, संशोधन गर्ने, यो कुराहरु गर्नु भन्दा अगाडि यी हुन नसकेका कामहरुको बारेमा समीक्षा गर्नुपर्छ’, सभामुख घिमिरेले भने ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?