+
+
विचार :

के माओवादी केन्द्र स्वार्थ समूहको चङ्‌गुलबाट निस्कन सक्ला ?

बाबुरामको एक्कासि बहिर्गमनपछिको रिक्तता (भ्याकुम) मा गुटबन्दीका सामान्य नियम र परम्परा भन्दा पृथक् ढंगले माओवादी केन्द्रमा सोझै स्वार्थ समूह र उप–समूहको रूपमा उदय भयो। कुनै पनि स्वार्थ समूहमा नलाग्ने नेता-कार्यकर्ता न घरको न घाटको हुनपुगेको देखिन्छ ।

हरिबोल गजुरेल हरिबोल गजुरेल
२०८१ असोज १० गते १४:२५

समाज विकास प्रक्रियामा जुन वर्ग उत्पीडनमा पर्छ, प्रायः त्यस वर्गबाट विचारधारात्मक पहल हुने गरेको देखिंदैन। शासक वर्गका सदस्यहरूमध्येको वामपन्थी पक्षले आफ्नो वर्गसँग विद्रोह गरेर क्रान्तिकारी वर्गको पक्षमा उभ्याउँछ। दासयुगमा स्पार्टाकसको नेतृत्वमा स्वस्फूर्त विद्रोह भयो। त्यो विद्रोहलाई दबाइए पनि शासक वर्गको एउटा तप्काले उत्पीडन र दमनको विरोध गर्दै दासहरूको पक्षमा उभियो। दास मालिक वर्गबाट अलग्गिएका विद्रोहीहरूले दासयुग अन्त्यका लागि वैचारिक आधार तयार गरे। सुकरात, प्लेटो र अरस्तु लगायत दार्शनिकलाई त्यही श्रेणीमा राख्न सकिन्छ।

समाज विकासको यो नियम र प्रक्रिया सामन्तवाद अन्त्यको सन्दर्भमा पनि देखिन्छ। युरोपमा पुनर्जागरणकालमा समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा सामन्तवर्गबाटै अलग भएका जेकोबिनहरूले अगाडि सारेका थिए। माओ, गान्धी, होचि मिन्ह, किम इल सुङ, फिडेल क्यास्ट्रो, चे ग्वेभाराको सामन्तवाद र साम्राज्यवाद विरुद्धको संघर्ष र नेपालमा टंकप्रसाद आचार्य, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र प्रचण्डले खेलेको भूमिकालाई उदाहरणको रूपमा लिन सकिन्छ।

पूँजीवादको अन्त्यका लागि कार्ल मार्क्स, फ्रेडरिक ऐगेल्स, लेनिन र माओले खेलेको भूमिका यसैसँग सम्बन्धित छ। कम्युनिस्ट सिद्धान्त (मार्क्सवाद) का आधारभूत मान्यतालाई सत्य र तथ्यका आधारमा चुनौती दिएर कुनै पनि अग्रगामी सिद्धान्त अहिलेसम्म कसैले पस्कन सकेको छैन। यू जे पोतरको अन्तर्राष्ट्रिय गीतमा ‘यो अन्तिम युद्ध हो’ भन्नुको तात्पर्य मार्क्सवादका आधारभूत पक्ष अकाट्य छन् भनेको हो।

समाज वर्गमा विभाजित छ। वर्ग व्यवहारत: राजनीतिसँग जोडिएको हुन्छ। वर्गीय धरातल र विश्व दृष्टिकोणका आधारमा पार्टी बन्दछन्। विश्व दृष्टिकोण वर्गहरूको स्वार्थका आधारमा प्रतिपादन हुन्छ। समाजका सबै सदस्यहरू प्रत्यक्ष र परोक्ष रूपमा कुनै न कुनै वर्गको पक्षधर हुन्छन् अर्थात् संस्थागत रूपमा कतै नलागे पनि व्यवहारत: कुनै न कुनै दर्शन र राजनीतिसँग जोडिएको हुन्छ। यसर्थ समाजको कुनै पनि सदस्य वर्ग र राजनीतिबाट अलग रहन सक्दैन। पार्टीलाई वर्गबाट अलग देखाउनु राजनीतिको कखरा नबुझ्नु जस्तै हो। वर्गका प्रतिनिधिहरूको पार्टी निर्माणको उद्देश्य फरक–फरक हुन्छ।

एकथरीको उद्देश्य समाजलाई अग्रगामी दिशामा लैजाने हुन्छ भने अर्कोथरी यथास्थितिमा राख्न र कतिपय पराजित शक्ति पश्चगामी दिशामा लैजान उद्यत हुन्छ। कतिपय यी तीन प्रवृत्ति बीच ढुलमुल नीति अपनाउँछन्। समाजमा मुख्यत: यी तीन प्रकारका सोच आपसमा टकराइरहन्छन्। यसलाई वर्ग संघर्ष भनिन्छ। वर्गहरू बीचको यो टकरावले समाजमा गति पैदा गर्दछ।

कम्युनिस्ट पार्टीमा सामेल हुने सर्वहारा र मजदुर मात्र हुन्नन्। अन्य वर्ग र समुदायबाट आएका मानिसहरू समाजको गति, परिवर्तन र विकासको नियम बुझेर तथा कतिपय वर्गीय उत्पीडनको भावनात्मक पक्षका कम्युनिस्ट पार्टीमा सामेल हुन्छन्।

कम्युनिस्ट सिद्धान्तलाई स्वीकार गरे पनि व्यवहारत: यसप्रकार मानिसहरूले गैर-सर्वहारा वर्गका सोच र आचरण कुनै न कुनै रूपमा वर्ग स्रोतका कारण आफूसँगै लिएर आउँछन्। जुन पार्टीमा वाम, मध्य र दक्षिण प्रवृत्तिको रूपमा प्रकट हुने गर्दछ। जुन समाजमा चल्ने वर्ग संघर्षको प्रतिछायाँको रूपमा पार्टीमा अन्तरसंघर्षको रूपमा देखापर्छ। यसप्रकारका प्रवृत्तिहरूबीच विभिन्न कोणबाट बहस चल्दछ। यसले वाद-प्रतिवाद-संवादको अभ्यासद्वारा नयाँ विचार, नीति र विधिको विकास हुन्छ।

बहसमा सहभागीहरूले विभिन्न कोणबाट उठाएका सकारात्मक विषयहरू निष्कर्षमा समावेश हुने हुनाले निर्णयमा अपनत्व लिन्छन् र पार्टीमा वैचारिक र भावनात्मक एकता पैदा हुन्छ। यसको साङ्गोपाङ्गलाई विचार संश्लेषण भनिन्छ। नेकपा (माओवादी केन्द्र) को दोस्रो राष्ट्रिय सम्मेलन (२०५८), दुम्ला बैठक (२०६०) र चुनवाङ बैठक (२०६२) यसका दृष्टान्त हुन्। यस प्रक्रियामा केही व्यक्ति वा सानो झुण्ड कचरा (बाईप्रोडक्ट) को रूपमा निस्कन्छ। यो नियमसंगत हुने हुनाले स्वाभाविक रूपमा लिनुपर्छ।

यसको विपरीत बहसको संश्लेषण नेतृत्वले गर्न सकेन भने संश्लेषित हुनसक्ने प्रवृत्ति पनि टाढिंदै विभाजनसम्म पुग्दछ। धोबीघाट समीकरणलाई उदाहरणका रूपमा लिन सकिन्छ। तर विजातीय प्रवृत्तिका कारण दुई लाइन संघर्षको चरणमा प्रवेश गर्‍यो भने विभाजनलाई स्वाभाविक मान्नुपर्छ। संविधान (२०७२) जारी भएपछिको बाबुराम भट्टराईको बहिर्गमन र एमालेसँगको विभाजनलाई उदाहरणको रूपमा लिन सकिन्छ।

चर्को गुटबन्दीको मारमा परेका नेता–कार्यकर्ताबाट गुटबन्दी मुर्दावाद ! को नारा लाग्न मात्र बाँकी थियो। यसर्थ यति भद्दा गुटबन्दी किन चल्यो र चलिरहेको छ ? शल्यक्रिया आवश्यक छ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा २०८१ भदौ ४ मा सुरु भएको प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आश्विन २ मा सम्पन्न भयो। प्रचण्ड नेतृत्वको सरकारले गरेका सकारात्मक कामले जनता र पार्टी पङ्तिमा पारेको सकारात्मक प्रभावको पृष्ठभूमिमा सम्पन्न परामर्श बैठकमा नेताहरू मार्फत ग्रासरुटबाट आएका सुझाव, आलोचना, खबरदारी र ढाडसले पार्टी पुनर्निर्माणको ढोका खुलेको प्रस्ट देखिन्थ्यो। तर स्वार्थ समूह (निकृष्ट गुटबन्दी) बाट आक्रान्त नेता– कार्यकर्ताको पीडा दर्दनाक थियो। कतिपय नेताहरू गुटबन्दी गरेर चर्चा बटुलेकोमा गर्व गरिरहेका थिए। यसबाट सजिलै बुझ्न सकिन्छ कि वर्तमानमा चलेको गुटबन्दी विचारकेन्द्रित भन्दा स्वार्थकेन्द्रित छ।

यसप्रकारको परिदृश्यका कारण अध्यक्ष प्रचण्डले गुटबन्दी अन्त्य गरेर पार्टीलाई एकताबद्ध गर्नुहुन्छ भन्ने कुरामा सहभागीहरू केही हदसम्म आशावादी भए पनि ढुक्क हुनसकिरहेका थिएनन्। किनकि सर्वहारा वर्गको विचार- राजनीतिमा स्वार्थ समूहले कुनै स्वाद पाइरहेको थिएन। गुटबन्दी सम्बन्धी भद्दा मजाक न भूतो, न भविष्यति जस्तो हुनगयो।

चर्को गुटबन्दीको मारमा परेका नेता–कार्यकर्ताबाट गुटबन्दी मुर्दावाद ! को नारा लाग्न मात्र बाँकी थियो। यसर्थ यति भद्दा गुटबन्दी किन चल्यो र चलिरहेको छ ? शल्यक्रिया आवश्यक छ।

भद्दा गुटबन्दीको सियो पदाधिकारीहरूतिर सोझिंदै गर्दा यसलाई चिरफार गर्नु फलामको चिउरा चपाउनु भन्दा कम कठिन छैन। तर नेतृत्वले आफू पनि यसबाट मुक्त हुने दृढ संकल्प गरेर गुटबन्दीको क्रोनिक रोगबाट कम्युनिस्ट पार्टीलाई मुक्त गर्ने विचार, नीति र विधिको संश्लेषण गर्न सक्यो भने नेपालका लागि मात्र होइन, विश्व कम्युनिस्टको आन्दोलनका लागि कोसेढुंगा सावित हुनेछ।

संकटको बेलामा अर्थात् गम्भीर बहसमा हेलिएर नै यसप्रकारको विचार, नीति र विधिको विकासको सम्भावना पैदा हुन्छ। अहिले फलाम तातेको छ, ढिला नगरी नेतृत्वले पहल लिनुपर्छ। यो विषयमा संश्लेषण गर्न नेतृत्वलाई प्रदेशस्तरीय परामर्श बैठकले सामग्री जुटाइदिएको छ। परामर्शमा सहभागी नेता- कार्यकर्ताले अध्यक्षतर्फ इङ्गित गर्दै ‘खुट्टा नकमाउनुस्, हामी साथमा छौं’ भनेको विषयले एकछिन हलमा सन्नाटा छाएको थियो।

विचार संश्लेषणको बाधक गुटबन्दी, स्वार्थ समूह, समीकरण र फुट हो। पार्टीमा स्वार्थ समूहले स्थायी स्वरूप ग्रहण गरेपछि मैत्रीपूर्ण अन्तरसंघर्षको चरण अन्त्य हुन्छ। पार्टीमा विभिन्न स्वार्थ समूह निर्माण भएपछि वर्ग विरोधीहरूले सजिलै खेल्ने अवसर पाउँछन्। ज्वलन्त उदाहरण धोबीघाट समीकरण (२०६८) हो। यसर्थ जोड दिएर भन्नै पर्छ, ‘नेपालको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलन क्षत–विक्षत हुनुको प्रमुख कारण गुटबन्दी हो।’

यसर्थ यतिखेर गुटबन्दी, स्वार्थ समूह र स्वार्थ समूह कसरी पैदा हुन्छ र यसका कारण तथा उपचार विधि खोजी गर्नुलाई नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभार बनाउनुपर्छ। अन्यथा जनयुद्ध र जनआन्दोलनको जगमा बनेको अन्तर्राष्ट्रिय महत्व बोकेको नेपालको कम्युनिस्ट आन्दोलन दिनप्रति दिन रक्षात्मक हुँदै जानेछ। यसले नेपालमा मात्र होइन, विश्वका उत्पीडित वर्ग र समुदायलाई समेत निराश बनाउनेछ।

प्रकृति, समाज, विज्ञान प्रविधिमा हुने सबै परिवर्तन र विकासको सन्दर्भमा उठ्ने प्रश्नहरूको साङ्गोपाङ्ग जवाफ कम्युनिस्टहरूले निरन्तर दिइरहनुपर्छ। यसको जवाफ दिने प्रक्रियामा विभिन्न मत र भिन्नमत आउने गर्दछन्। आफ्नो वर्ग (आधारभूत वर्ग) सँग पार्टीको प्रगाढ सम्बन्ध छ भने बहसले सार्थक रूप लिन्छ।

विजातीय वर्गसँग सम्बन्ध प्रगाढ छ भने वर्ग संघर्ष भुत्ते हुँदा अन्तरसंघर्ष पनि भुत्ते हुन्छ। अर्थात् प्राविधिक विषय र स्वार्थकेन्द्रित बहसले प्राथमिकता पाउँछ र वैचारिक बहस ओझेलमा पर्दछ।

अहिले माओवादी केन्द्रमा स्वार्थकेन्द्रित बहस र संघर्षले प्राथमिकता पाउँदा कम्युनिस्ट पार्टी निर्माणका सन्दर्भमा निरन्तर चलिरहेको बहस ओझेलमा परेको छ। नेतृत्वले यो कुरालाई गहिरो बोध गर्न सकेन भने पार्टी व्यक्तिका स्वार्थहरूको किचलोमा फस्दै जान्छ। र विषयान्तर बहसले अराजकता र विघटनतिर डोर्‍याउँछ। सही दिशामा पार्टीलाई अगाडि बढाउने हो भने जहाँबाट बाटो बिराएको हो त्यहीं फर्कनुपर्छ।

अन्यथा यता हो कि उता हो भनेर भौंतारिइरहनुको औचित्य छैन। यसका लागि भीषण वर्ग संघर्ष र अन्तरसंघर्षबाट संश्लेषण गरिएको प्रचण्डपथलाई प्रस्थान विन्दु बनाउनैपर्छ। पार्टीलाई पुनर्जीवित गर्ने योभन्दा अरू उपाय देखिंदैन। तर शान्ति प्रक्रियामा प्रवेश गरेपछि विचारको निरन्तर विकास (भलै नाम जे पनि राख्न सकिन्थ्यो) गर्नुको सट्टा प्रचण्डपथलाई स्थगन गरियो। मानिसको दिमाग स्थगन भयो भने के हुन्छ भनिरहनु पर्दैन।

युद्धकालमा जस्तै शान्ति प्रक्रियामा आएपछि पनि माओवादी केन्द्रमा मुख्यत: तीन प्रवृत्ति- क्रान्तिकारी, जडसूत्रवादी र अनुभववादी (क्रमशः प्रचण्ड, किरण र बाबुराम) बीच बहस र संघर्ष चलिरह्यो। एकताको प्रक्रियासँगै मध्यमार्गी प्रवृत्तिका केही संकेत पनि देखापरे। जुन पालुङटार बैठकपछि ठोस रूपमा सतहमा आयो। युद्धकालमा प्रवृत्ति बीचको बहस र संघर्षलाई नेतृत्वले संश्लेषण गरेकाले विचारको विकाससँगै पार्टी सबै मोर्चामा मूलतः सफलता पायो।

शान्ति सम्झौता (२०६३) पछि काठमाडौंमा नेताहरूको जमघटमा प्रतिक्रियावादी र अवसरवादीहरूको प्रत्यक्ष उपस्थिति र आफ्नो वर्ग भन्दा विजातीय प्रवृत्तिसँगको सामीप्यताले गर्दा अन्तरसंघर्ष र वर्ग संघर्ष घुलमिल भएर छुट्याउनै नसक्ने अवस्था तयार भयो।

यसप्रकारको परिवेशले नेतृत्व दैनिक काममा इन्गेज हुनुपर्ने अवस्था पैदा गर्‍यो। एकातिर, नेतृत्व ध्यान अध्ययन, अनुसन्धानतिर जान सकेन भने अर्कोतिर, नेता कार्यकर्ताको ध्यान प्राविधिक विषयमा केन्द्रित भयो र विचार संश्लेषणको युद्धकालीन अभ्यासले निरन्तरता पाउन सकेन।

फलस्वरूप खरिपाटी राष्ट्रिय भेलासम्म पुग्दा पार्टी गुट–उपगुटमा विभाजित भयो। जुन पालुङटार विस्तारित बैठकमा भद्दा रूपमा देखापर्‍यो। गुटबन्दीले स्थायी स्वरूप लिएपछि गुट स्वार्थ समूहमा परिणत भयो। जुन पार्टीभित्र पार्टीको वैधानिक आवरणमा धोबीघाट समीकरणमा बदलियो र विभाजन भयो। किरणको बहिर्गमनपछि संविधान जारी गर्ने विषयमा बाबुरामसँग बहस र संघर्ष भयो। जुन भुसको आगो जस्तै थियो। बाबुराम २०७२ आश्विन ३ मा जारी गर्नुहुन्न भन्ने पक्षमा र अध्यक्ष प्रचण्ड निर्धारित समयमा जारी गर्नुपर्छ भन्नेमा दृढ भएपछि अन्तरविरोधले उग्र रूप धारण गर्‍यो।

अध्यक्ष प्रचण्ड आधा गिलास भरी र बाबुराम आधा गिलास खाली भनेर बहसमा उत्रनुभयो। संविधान निर्धारित समयमै जारी भएपछि पार्टीबाट बाबुरामको बहिर्गमन भयो। इतिहासका उपर्युक्त तथ्य अगाडि सार्नुको चुरो कुरा किरण- बादल, बाबुराम र प्रचण्डको संघर्षको मूल पक्ष प्रवृत्तिगत र वैचारिक थिए। यस प्रकारको बहस कहिले सुषुप्त रूपमा र कहिले प्रकट रूपमा चलिरह्यो। यो बहसले प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवाद र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति निर्माणमा ठूलो योगदान गरेको थियो।

यतिखेर पार्टीमा बहस चलिरहेको छ तर दुःखको कुरा विचार केन्द्रित बहसले हैन, व्यक्तिगत स्वार्थ केन्द्रित बहसले प्राथमिकता पाइरहेको छ। बाबुराम भट्टराईको बहिर्गमनपछिको केन्द्रीय समितिको बैठकको सुरुवातमा अध्यक्ष प्रचण्डले ‘अब पनि गुटबन्दी गर्ने भए पार्टी विघटन गरौं’ भन्नुभएको थियो।

बाबुरामसँगको बहस र संघर्ष प्रवृत्ति र राजनीतिक थियो। दु:खका साथ भन्नुपर्छ गुटबन्दीको शृङ्खला रोकिएको छैन। बाबुरामको एक्कासि बहिर्गमन पछिको रिक्तता (भ्याकुम) मा गुटबन्दीका सामान्य नियम र परम्परा भन्दा पृथक् ढंगले माओवादी केन्द्रमा सोझै स्वार्थ समूह र उप-समूहको रूपमा उदय भयो। विचारको कलेवरमा पार्टीमा खुलेआम स्वार्थ समूह क्रियाशील छन्। यसको उद्भव पार्टी सम्बद्ध विद्यार्थी संगठनको पहिलो निर्वाचन (२०७४) प्रक्रियामा भयो। पार्टी नेतृत्व पनि विवादबाट बच्न सकेन।

पहिलो विद्यार्थी चुनावको अतिबाट मुक्त गर्न नेतृत्वले त्यसपछिको निर्वाचनमा सहमतिमा आवश्यकता भन्दा बढी जोड दियो। तर स्थिति नियन्त्रणमा आउन सकेन। यी दुवै (निर्वाचन र सहमति) कामकारबाही प्रत्युत्पादक हुनपुगे। विद्यार्थीबाट सुरू भएको र पार्टीका नेताहरू जोडिएर बनेका स्वार्थ समूहहरू अझ अगाडि बढेर समीकरणतिर अग्रसर भइरहँदा पार्टी जीवन तलदेखि माथिसम्म आक्रान्त हुनपुगेको छ। यसले विकराल रूप लिएको छ।

पार्टी नराम्रोसँग स्वार्थ समूहहरूको चङ्गुलमा फसेको छ। र कुनै पनि स्वार्थ समूहमा नलाग्ने नेता-कार्यकर्ता न घरको न घाटको हुनपुगेको देखिन्छ। किन यस्तो भयो ? किनकि पार्टीका नेताहरू जोडिने विषयको मुख्य पक्ष विचार र प्रवृत्तिगत थिएन। व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा प्रधान र विचार (प्रवृत्ति) सहायक हुन गएको यसप्रकारको अराजनीतिक संघर्षले विचारको विकासमा योगदान होइन पार्टीलाई भ्रष्टीकरण र विघटन गर्दछ। गुटगत संघर्षको रिक्ततामा स्वार्थ समूहले स्पेस पायो।

जनयुद्धको लिगेसीसँग जोडिएको एउटा वैचारिक प्रवृत्तिको नेताले प्रतिवाद गर्ने स्थिति रहँदासम्म कुनै पनि निर्णय गर्नु पहिले अध्यक्ष प्रचण्डले सल्लाह लिनैपर्ने हुन्थ्यो। तर बाबुराम भट्टराईको बहिर्गमनपछि यस्तो स्थिति रहेन। यसै पृष्ठभूमिमा स्वार्थ समूहको उदय भएको हो। यसैले जान–अन्जानवश स्वार्थ समूहमा फसेका नेता–कार्यकर्तालाई यो दलदलबाट निकाल्न नेतृत्वले यथाशक्य छिटो पहल लिनु आजको प्रमुख कार्यभार हो।

पार्टी नराम्रोसँग स्वार्थ समूहहरूको चङ्गुलमा फसेको छ। र कुनै पनि स्वार्थ समूहमा नलाग्ने नेता-कार्यकर्ता न घरको न घाटको हुनपुगेको देखिन्छ। किन यस्तो भयो ?

दार्शनिक रूपमा वाद-प्रतिवाद-संवाद (वादे वादे जायते तत्वबोध) र संगठनात्मक विधिको रूपमा एकता-संघर्ष-रूपान्तरण मुख्यत: रूपान्तरण सम्बन्धी मार्क्सवादी मान्यताले गुटबन्दी र स्वार्थ समूहलाई चिन्दैन तर पनि विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलन रक्षात्मक हुनुको प्रमुख कारण गुटबन्दी र स्वार्थ समूहको अभ्यास निरन्तर भइरहनु हो। गुटबन्दीको विरोध र रूपान्तरणको विषय पार्टीका हरेक दस्तावेजमा पाइन्छ। यी विषय नेता-कार्यकर्ताको भाषणमा थेगो जस्तै छ।

सबभन्दा चर्को गुटबन्दी गर्ने र भ्रष्ट आचरण र कार्यशैली अवलम्बन गर्नेले नै गुटबन्दीको विरोध र रूपान्तरणको वकालत गर्ने गरेको हुन्छ। यसप्रकारका मानिसहरूले आफ्नो गल्ती अरूले थाहा पाउँछन् कि भनेर शब्दजालले छोपछाप गरिरहन्छन्। विश्व कम्युनिस्ट आन्दोलनमा ख्रुश्चेभ र लिन पियाओलाई दृष्टान्तको रूपमा लिन सकिन्छ।

यसर्थ गुटबन्दी र स्वार्थ समूहलाई सजिलै रोक्न सकिन्न किनकि यसको जरा समाजसम्म पुगेको हुन्छ। यसलाई न्यूनीकरण र निरुत्साहित गर्न सिस्टमले कन्ट्रोल गर्ने मेकानिज्म निर्माण गर्नुपर्छ। विचार, नीति र विधिको संश्लेषण यसको प्रधान पक्ष हो। योसँगै निम्न अभ्यास गर्नुपर्दछ। यसले सीसीटिभी क्यामराको काम गर्नेछ।

१. पार्टीको आन्तरिक निर्वाचनमा मेरिटोक्रेसी र डेमोक्रेसीको फ्युजन हुनुपर्छ। मेरिटोक्रेसी मार्फत केन्द्रीयता र मतदान मार्फत जनवाद व्यक्त हुन्छ। गुटबन्दी गर्ने र स्वार्थ समूहमा लाग्नेको मूल्यांकन नम्बर काटिने भएपछि गुटबन्दी गर्ने निरुत्साहित र गुटबन्दी नगर्ने उत्साहित हुन्छ। यसप्रकारको अभ्यासले गुटबन्दीलाई धेरै हदसम्म नियन्त्रण गर्दछ। मतदानका बेला प्रयोग हुनसक्ने मनी, मसल र पावरको प्रयोगलाई पनि निरुत्साहित गर्दछ।

२. जसले गरे पनि, जति नजिककाले गरे पनि गलत काम र आचरण गलत नै हुन्छ। कम्युनिस्ट जहिले पनि सत्य, न्याय र समानताको पक्षपाती हुनुपर्छ। यसर्थ गलत कामलाई गलत नै भन्ने सही कामलाई सही नै भन्ने संस्कारको विकास गर्नुपर्छ। गलत काम गर्नेको मूल्यांकन नम्बर कम आउँछ। कसैले गलत काम गर्नेको संरक्षण गर्‍यो भने उसको पनि मूल्यांकन नम्बर कम आउँछ। यसप्रकारको अभ्यासले गुटबन्दी गर्न निरुत्साहित गर्दछ।

३. माथि उल्लिखित उपर्युक्त दुई अभ्यासले गुटबन्दी एक हदसम्म नियन्त्रण गर्दछ। यसलाई थप प्रभावकारी बनाउन नेतृत्वले गुटबन्दी नगर्ने र क्षमतावान्‌लाई कामका हरेक क्षेत्रमा प्राथमिकतामा राखेर भूमिका दिने प्रचलन कायम गरियो भने गुटबन्दी गर्ने निरुत्साहित हुन्छ, इमानदार र सक्षम उत्साहित हुन्छ। यसप्रकारको अभ्यासले गुटबन्दी न्यून गर्न मद्दत गर्दछ।

उपर्युक्त तीन बुँदा प्राविधिक हुन्। यी गुटबन्दी अन्त्य गर्ने सहायक पक्ष हुन्। मुख्य कुरा पार्टीमा प्रवृत्तिहरू बीच चल्ने बहस र संघर्षको निरन्तर संश्लेषण गरेर विचार, नीति र विधिको विकास गरेर पार्टीलाई एकताबद्ध गर्दै गुटबन्दीको प्रभावबाट अलग पार्न सकिन्छ। विचार संश्लेषण गरेपछि मानवीय प्रवृत्ति हावी हुनेहरू स्वत: अनुशासन पालन गर्न अग्रसर हुन्छन्। तर मानिस पनि पशुजगतबाट आएको हुनाले यसका अवशेषका कारण पार्टीले अनुशासनको पालनामा जोड दिनुपर्ने हुन्छ।

मानिसमा बेलाबखत हावी हुने अस्वाभाविक प्रवृत्तिलाई तीन बुँदाले केही हदसम्म नियन्त्रण गर्दछ। अर्थात् गुटबन्दीका निमित्त कारणलाई निराकरण गर्दछ। यसले पाटीभित्र स्वार्थ समूहको रूपमा देखा परेको चरम महत्वाकाङ्क्षा र व्यक्तिवादी अराजकताको चङ्गुलबाट पार्टीलाई मुक्त गर्न मद्दत गर्दछ। र, बाँकी रहलपहल स्वार्थ समूहको प्रभावलाई तत्काल काममा बाधा नपर्ने स्तरसम्म न्यूनीकरण गरेर समाजवादी कार्यदिशालाई व्यवहारमा उतार्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?