+
+

एक महिनामै सवा अर्बको आईटी सेवा निर्यात, भ्रमण खर्च बढ्दा सेवा आय घाटा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १५:१०

१० असोज, काठमाडौं । सूचना प्रविधि (आईटी) र टेलिकम्युनिकेसन सेवा निर्यातबाट एक महिनामै ८३ करोड २७ लाख रुपैयाँ खुद विदेशी मुद्रा आर्जन भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

साउनमा १ अर्ब १४ करोड ४८ लाख बराबरको आईटी सेवा निर्यात हुँदा ३१ करोड २१ लाख रुपैयाँ बराबरको आयात भएको छ । जसमध्ये टेलिकम्युनिकेसन सेवा २८ करोड २२ लाखको निर्यात र १० करोड ४७ लाखको आयात हुँदा खुद निर्यात १७ करोड ७५ लाख छ ।

यस्तै ८६ करोड १९ लाखको कम्प्युटर सेवा निर्यात हुँदा २० करोड ४५ लाखको आयात भएको छ । यसबाट खुद निर्यात ६५ करोड ७५ लाख रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आईटी सेवा आयात र निर्यात छुट्याएर तथ्यांक प्रकाशित गरेको हो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको शोधनान्तर मार्गदर्शनको पाँचौं संस्करण (बीपीएम ५) र सोही बमोजिम शोधनान्तर तथ्यांक संकलन निर्देशिका, २०६१ अनुसार शोधनान्तर तथ्यांक प्रकाशन गर्दै आएको थियो ।

२०७७/७८ देखि बीपीएम तालिकालाई आईएमएफको शोधनान्तर तथा अन्तर्राष्ट्रिय लगानी सम्बन्धी मार्गदर्शनको छैंठौं संस्करण बीपीएम ६ ढाँचामा समेत प्रकाशन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाबाट राष्ट्र बैंकले बीपीएम ६ एवं त्यसमा आधारित अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली सम्बन्धी मार्गदर्शन २०२२ अनुसार प्राप्त तथ्यांक प्रशोधन गरी बीपीएम ६ अनुसार तथ्यांक प्रकाशन सुरु गरेको छ । जसमा आईटी सेवा आयात निर्यात सेवा खाता अन्तर्गत छुट्टै तथ्यांक प्रकाशित भएको हो ।

बढ्यो वैदेशिक भ्रमण र अध्ययन खर्च

चालु आव सुरुवातबाट नै वैदेशिक अध्ययन र भ्रमण खर्च उच्च दरमा वृद्धि भएको छ । आईटी निर्यातबाट खुद नाफामा भएको र भ्रमण आय समेत वृद्धि हुँदा पनि खुद सेवा खाता घाटामा देखिएको छ ।

साउनमा खुद सेवा आय १५ अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव साउनमा यस्तो घाटा ११ अर्ब २५ करोड थियो ।

सेवा खाता अन्तर्गत ८.१ प्रतिशतले वृद्धि भई ४ अर्ब ७६ करोड पुगेको छ । तर, भ्रमण व्यय ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको हो । यसमध्ये शिक्षातर्पmको व्यय १४ अर्ब ९२ करोड छ । अघिल्लो वर्ष सोही अवधिमा भ्रमण व्यय १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड थियो । शिक्षासँगै अन्य भ्रमण खर्चसमेत वृद्धि हुँदा खुद सेवा खाता घाटामा गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?