+
+

राजेश हमालले थाले कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १७:०७

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन थालेका छन् । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको स्टुडियोमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

हमाल आधा दशकभन्दा लामो समयपछि फिल्मको छायांकन सेटमा फर्किएका हुन् । दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सन-सोसल ड्रामा फिल्मसँग हमालका केही रोचक किस्सा पनि छन् ।

यो फिल्ममा हमालले ३३ वर्षपछि छविराज ओझासँग सहकार्य गरेका छन् । ओझा हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता हुन् । तर ‘नरसिंहा अवतार’मा ओझा वितरक हुन् ।

‘हमालजीसँग लामो समयपछि काम गर्ने अवसर जुरेकोमा खुसी छु’ ओझाले संक्षिप्त प्रतिक्रिया दिए । हमालले पनि फिल्मको कथा भिन्न रहेको र टिम राम्रो रहेकाले आफू फिल्म खेल्न तयार रहेको बताए ।

फिल्मको छायांकन सुरु गर्न आयोजित समारोहमा हमाल र ओझा सँगै देखिए । ओझाले नरिवल फुटाए भने चलचित्र संघका अध्यक्ष तथा यो फिल्मका निर्माता नरेन्द्र महर्जनले क्ल्याप हाने । करण श्रेष्ठले एक्सन घोषणा गरे ।

यो फिल्ममा हमालले पछिल्लो पुस्ताका कलाकारसँग स्क्रिन सेयर गर्दैछन् । राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ अन्य कलाकार हुन् ।

निर्देशक भट्टराईले यो फिल्म आफ्ना लागि चुनौतीपूर्ण रहेको बताए । ‘राजेश दाइले धेरै स्क्रिप्ट नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकि राजेश दाइलाई कन्भिन्स गर्नलाई नै मलाई तीन महिना लागेको थियो’ उनले भने ।

निर्माता महर्जनले भिन्न तरिकाले फिल्म बन्ने भएकाले आफू लगानी गर्न तयार भएको बताए । अभिनेता कटुवालले सानैदेखि हेर्दै आएको हिरोसँग फिल्म खेल्न पाउँदा उत्साहित रहेको बताए ।

‘मैले सानैदेखि उहाँका पोस्टर कलेक्सन गरेर उहाँजस्तै हिरो बन्ने सपना देख्थें’ उनले भने । अभिनेत्री शाहले हमालको कारण आफू यो फिल्ममा जोडिएको बताइन् । सनिशा भट्टराईले आफ्नो बुवा राजेशको फ्यान भएको र अहिले उहाँसँगै फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको सुनाइन् ।

फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मितिको रुपमा तय गरिएको छ । प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी,प्रकाश कुँवर लगायतको अभिनय रहनेछ ।

आठ वर्षपछि यो फिल्मबाट हमालको पुनरागमन हुँदैछ । उनले यो फिल्मका लागि केही समयदेखि भिन्न लुक्स बनाइरहेका छन् । यो फिल्ममा हमालले सरोज खनालसँग ३० वर्षपछि सहकार्य गर्दैछन् ।

उनीहरुले यसअघि ‘सडक’मा सहकार्य गरेका थिए । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई महर्जनसहित परशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?