+
+
राष्ट्र बैंक तथ्यांक :

बदलियो नेपालीको खर्च प्रवृत्ति

खाद्यान्नमा गर्ने औसत खर्च अनुपात घट्दा रेस्टुरेन्ट र आतिथ्य सेवामा गर्ने खर्च अनुपात बढेको छ । खाद्यान्न साथै दाल तथा गेडागुडी, तरकारी, दुग्धजन्य उत्पादन र अन्डा, चिनी र चिनीजन्य उत्पादन, पेय पदार्थमा गर्ने औसत खर्च अनुपात घटेको छ ।

विजय पराजुली विजय पराजुली
२०८१ असोज १० गते १९:१४

१० असोज, काठमाडौं । नेपालीको जीवनशैली परिवर्तन हुँदा खर्च गर्ने प्रवृत्ति पनि फेरिएको छ । विगतमा घरमा नै खाना खाने नेपालीले अब होटल तथा रेस्टुरेन्टमा गर्ने खर्च बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिमार्जनका लागि लिइएको भारअंकले उक्त तथ्य देखाएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७९/८० मा सञ्चालन गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथोको नतिजाका आधारमा केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिर्वतनका लागि आवश्यक भारअंक निर्धारण गरेको थियो ।

नेपाल जीवनस्तर सर्वेक्षणमा नेपालीले आफ्नो आम्दानीबाट एक वर्षमा विभिन्न वस्तु तथा सेवा खरिदमा गर्ने औसत खर्चका आधारमा नयाँ भारअंक तय गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मानी उपभोक्ता मूल्य सूचकांक गणना गर्दै आएको थियो । चालु आवबाट भने आधार वर्ष परिमार्जन गरेसँगै उपभोक्ता मूल्य सूचकांकका लागि आवश्यक भारअंक परिमार्जन गरेको हो ।

उपभोक्ता मूल्य सूचकांकका लागि तयार भएको नयाँ भारअंकले नेपालीको खर्च प्रवृत्ति परिमार्जन भएको छ । भारअंक बढेका वस्तु तथा सेवामा नेपालीले गर्ने औसत खर्च अनुपात बढेको र भारअंक घटेका वस्तु तथा सेवामा नेपालीले गर्ने खर्चको औसत अनुपात घटेको बुझाउँछ ।

नयाँ आधार वर्षका लागि तयार भएको भार अंकले नेपालीको जीवनशैलीमा भएको परिवर्तनसँगै खर्च गर्ने (उपभोग) प्रवृत्तिमा समेत परिवर्तन भएको देखिन्छ ।

खाद्यान्नमा गर्ने औसत खर्च अनुपात घट्दा रेस्टुरेन्ट र आतिथ्य सेवामा गर्ने खर्च अनुपात बढेको छ । खाद्यान्न साथै दाल तथा गेडागुडी, तरकारी, दुग्धजन्य उत्पादन र अन्डा, चिनी र चिनीजन्य उत्पादन, पेय पदार्थमा गर्ने औसत खर्च अनुपात घटेको छ ।

यस्तै माछा मासु, घिउ र तेल, फलफूल र मसलामा गर्ने औसत खर्च अनुपात बढेको राष्ट्र बैंकले जनाएको छ ।

गैरखाद्य र सेवा समूह अन्तर्गत मदिरा, सुर्तीजन्य पदार्थ, घरायसी सजावट सामग्री तथा घरमा प्रयोग हुने उपकरण, स्वास्थ्य, यातायात, सञ्चार र अन्य वस्तु तथा सेवामा गर्ने खर्चको औसत अनुपात बढेको छ ।

खाद्यान्न, गेडागुडी र तरकारीको भारअंक घट्दा रेस्टुरेन्ट तथा आतिथ्य सेवाको भारअंक भने वृद्धि देखिएको हो । यसले नेपाली घरमा खाना बनाएर खानेभन्दा पनि होटल तथा रेस्टुरेन्टमा खाना खाने ‘ट्रेन्ड’ बढ्दै गएको देखिएको छ ।

यस्तै मदिरा र सुर्तीजन्य पदार्थको भारअंकमा पनि वृद्धि देखिएको छ । साथै, लुगा तथा जुत्ता, हाउजिङ तथा युटिलिटी सेवा, शिक्षा, मनोरञ्जन तथा संस्कृतिको भारअंक घटेको छ । त्यही स्वास्थ्य, यातायातको भारअंक बढेको छ । यसले नेपालीको खर्च प्रवृत्तिमा धेरै फरक भएको पाइएको हो ।

राष्ट्र बैंकले मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र रेस्टुरेन्ट तथा होटलको खाना उपसमूहलाई खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत राख्ने गरिएकोमा नयाँ सूचकांक तयार गर्दा ती उपसमूहलाई गैरखाद्य तथा सेवा समूहमा राखेको छ ।

यसरी केही वस्तु तथा सेवा समूह परिवर्तन गर्दा र नयाँ भारअंक निर्धारणले सेवा समूहको भार ६४.५१ प्रतिशत कायम भएको छ । खाद्य तथा पेय पदार्थ समूहको जोखिम भार भने ३५.४९ प्रतिशत रहेको केन्द्रयि बैंकले जनाएको छ ।

मूल्य सूचकांक गणनाका लागि भारित वस्तु डालोमा २ सय ४९ वस्तु तथा सेवा समूह अन्तर्गत ५ सय २५ वस्तु तथा सेवाको मूल्य संकलन गरिएको छ । यसअघि ४ सय ९६ वस्तु तथा सेवाको मूल्य संकलन हुँदै आएको थियो ।

तीमध्ये साप्ताहिक ५९ वस्तु तथा सेवा, मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुनेछ ।

यसअघि ५० जिल्लाको बजारबाट मात्रै मूल्य संकलन गर्दै आएको केन्द्रीय बैंकले अबका लागि ७७ वटै जिल्ला समावेश हुने गरी ८७ बजार केन्द्रबाट मूल्य संकलन सुरु गरेको छ । जसमध्ये तराई क्षेत्रबाट २८, पहाडी क्षेत्र ४३ र हिमाली क्षेत्रका १६ बजार केन्द्र छन् । जसमध्ये २१ ग्रामीण तथा ६६ सहरी बजार केन्द्र छन् । प्रदेशगत रूपमा यी बजार केन्द्र कोसी प्रदेशमा १५, मधेश १२, बागमती १६, गण्डकी ११, लुम्बिनी १३, कर्णाली १० र सुदूरपश्चिम प्रदेशमा १० छन् ।

बुधबार आधार वर्ष परिवर्तनको जानकारी दिन राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा उपभोक्ताको उपभोग प्रवृत्तिका आधारमा वस्तु डालो र भारअंक पनि परिमार्जन गरिएकाले मूल्यवृद्धि तथ्यांक वास्तविक नजिक हुने राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए ।

राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्यवृद्धिको तथ्यांक बजार मूल्यवृद्धिभन्दा फरक आउँछ भन्ने जनगुनासोलाई नयाँ गणना विधिले धेरै हदसम्म सम्बोधन गर्ने उनको तर्क थियो ।

नयाँ उपभोक्ता मूल्य सूचकांकका आधारमा राष्ट्र बैंकले बिहीबार मुद्रास्फीति तथ्यांक प्रकाशित गरेको छ । जसमा साउन २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । २०८०/८१ साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेकोमा चालु आवमा मूल्यवृद्धि दर घटेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।६१ प्रतिशत, मधेश ४.१७, बागमती ३.४९, गण्डकी ३.९०, लुम्बिनी ३.८१, कर्णाली ३.४६ र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत छ ।

नयाँ आधार वर्षका आधारमा गणना भएको उपभोक्ता मूल्य सूचकांकले पनि मूल्यवृद्धिमा दबाब नरेको देखाउँछ । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । यसले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि उच्च रहेको देखाउँछ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारीको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडी १२.०९, खाद्य तथा खाद्यजन्य पदार्थ ९.१५ र दुग्ध पदार्थ तथा अन्डाको ३.६६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थ ५.३८, कपडाजन्य तथा जुत्ताचप्पल ४.५८ र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ ।

साउनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०३ प्रतिशतले बढेको छ । यसले सहरीभन्दा ग्रामीण क्षेत्रमा महँगी बढी रहेको देखाउँछ ।

कुन वस्तु तथा सेवाको भारअंक कति ?

खाद्य तथा पेय पदार्थ समूह

वस्तु तथा सेवा आधार वर्ष २०७१/७२ (भारअंक) आधार वर्ष २०८०/८१ (भारअंक)
खाद्य तथा खाद्यजन्य ११.३३ ८.०८
दाल तथा गेडागुडी १.८४ १.७६
तरकारी ५.५२ ४.६५
माछामासु ६.७५ ६.७६
दुग्ध पदार्थ र अन्डा ५.२४ ४.२८
घिउ तथा तेल २.९५ २.९७
फलफूल २.०८ २.२३
चिनी तथा चिनीजन्य वस्तु १.७४ १.१०
मरमसला १.२१ १.८०
पेय पदार्थ (सफ्ट ड्रिंक्स) १.२४ ०.८७

गैरखाद्य तथा सेवा समूह

वस्तु तथा सेवा आधार वर्ष २०७१/७२ (भारअंक) आधार वर्ष २०८०/८१ (भारअंक)
मदिरा ०.६८ १.२६
सुर्तीजन्य पदार्थ ०.४१ १.०३
कपडा तथा जुत्ता ७.१९ ५.६५
हाउजिङ तथा युटिलिटी २०.३० १६.६६
सरसजावट सामग्री र घरायसी उपकरण ४.३० ५.९१
स्वास्थ्य सेवा ३.४७ ५.५१
यातायात ५.३४ ६.२६
सञ्चार सेवा २.८२ ३.६०
मनोरञ्जन तथा संस्कृति २.४६ १.५२
शिक्षा ७.४१ ४.६७
रेस्टुरेन्ट तथा आतिथ्य सत्कार २.९२
बीमा तथा वित्तीय सेवा छुट्टै तथ्यांक नभएको ०.९३
विविध पस्तु तथा सेवा २.८१ ३.४९

एक महिनामा करिब सर्वा अर्बको आईटी सेवा निर्यात

सरकारले सूचना प्रविधि (आईटी) र टेलिकम्युनिकेसन सेवा निर्यातबाट एक महिनामा ८३ करोड २७ लाख रुपैयाँ खुद विदेशी मुद्रा आर्जन गरेको छ । साउनमा १ अर्ब १४ करोड ४८ लाख बराबर आईटी सेवा निर्यात हुँदा ३१ करोड २१ लाख बराबर आयात भएको छ ।

वैदेशिक भ्रमण र अध्ययन खर्च बढ्दा सेवा खाता घाटा बढ्यो

चालु आर्थिक वर्ष सुरुवातबाट नै वैदेशिक अध्ययन र भ्रमण खर्च उच्च दरमा वृद्धि भएको छ । आईटी सेवा निर्यातबाट खुद नाफामा भएको र भ्रमण आयसमेत वृद्धि हुँदा पनि खुद सेवा खाता घाटामा देखिएको छ ।

साउनमा खुद सेवा आय १५ अर्ब २६ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आव साउनमा यस्तो घाटा ११ अर्ब २५ करोड थियो ।

सेवा खाता अन्तर्गत ८.१ प्रतिशतले वृद्धि भई ४ अर्ब ७६ करोड पुगेको छ । तर, भ्रमण व्यय ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको हो । यसमध्ये शिक्षातर्फको व्यय १४ अर्ब ९२ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड थियो ।

शिक्षासँगै अन्य भ्रमण खर्चसमेत वृद्धि हुँदा खुद सेवा खाता घाटामा गएको हो ।

रेमिट्यान्समा उच्च वृद्धि र आयात नबढ्दा विदेशी विनियम सञ्चिति लगातार बढ्दो

आयातमा हुन नसकेको सुधार, एकल अंकको ब्याजदरमा पनि अपेक्षाकृत बढ्न नसकेको कर्जाले अर्थतन्त्रमा सुधारको अवस्था देखिँदैन । अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकजस्ता निकायले अर्थतन्त्रमा सुधारका आधार देखिएको भन्दै सोही अनुसारको आर्थिक वृद्धि अनुमान सार्वजनिक गरिरहेका छन् ।

तर, केन्द्रीय बैंकले प्रकाशित गरेको तथ्यांकले भने त्यस्तो संकेत गरेको देखिँदैन । आयातमा आधारित अर्थतन्त्रमा आयात र निर्यात व्यापार दुवै संकुचित छ । चालु आव साउनमा गत वर्षको तुलनामा संकुचित आयात चाडपर्व नजिक आउँदै गर्दा भदौमा भने सामान्य सुधार भएको छ । तर, निर्यातमा कमी देखिन्छ ।

खर्च गर्ने र अर्थतन्त्र चलायमान बनाउने युवा विदेश जाँदा आन्तरिक अर्थतन्त्रमा माग सिर्जना हुन नसकेर शिथिल छ । तर, उनीहरूले पठाएको रेमिट्यान्सले वाह्य क्षेत्र दबाबमुक्त मात्रै छैन, सुविधाजनक अवस्थामा छ ।

यसले ठूला पुर्वाधार निर्माण र लगानीका लागि आधार सिर्जना गरे पनि निजी क्षेत्र लगानीका लागि विश्वस्त हुन नसकेको बैंकिङ क्षेत्रको कर्जा विस्तार तथ्यांकले देखाउँछ ।

वित्त नीतिमार्फत अर्थतन्त्र चलायनमान बनाउने नीतिगत पहल हुन सकेको छैन भने मौद्रिक नीतिमार्फत गरेको प्रयास पर्याप्त हुन सकेको देखिँदैन ।

केन्द्रीय बैंकले प्रकाशित गरेको चालु आव तथ्यांकले पनि सोही संकेत गर्छ । राजस्वमा समान्य सुधार भए पनि पूँजीगत, मध्यवर्ती र उपभोग्य वस्तु आयातमा हुन नसेको वृद्धिले मागमा संकुचनकै अवस्था देखाउँछ ।

साउनको आयात तथ्यांक हेर्दा पनि वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोसाक, खाने तेल लगायत वस्तुको आयात बढेको छ ।

हवाईजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एमएस तार, छड, बार तथा क्वाइल, एमएस बिलेट लगायत वस्तु आयात निर्माण सामग्री, उद्योगको कच्चा पदार्थ आयात नै घटेको छ ।

रेमिट्यान्समा उच्च वृद्धिले गर्दा चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा छन् भने विदेशी विनिमय सञ्चिति ऐतिहासिक बिन्दुमा पुगेको छ । दुई वर्षदेखि निरन्तर घटेको आयात र बढेको रेमिट्यान्सका साथै आईटी निर्यातले साथ दिँदा शोधनान्तर बचत उल्लेख्य देखिन्छ ।

विदेशी विनियम सञ्चिति पनि निरन्तर बढेको छ । तर, आन्तरिक लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी समेत घटेको छ । चालु आव साउनमा पनि १८ प्रतिशत बढेर रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड पुगेको छ ।

साउनमा शोधनान्तर बचत ४० अर्ब ९० करोड र चालु खाता ३० अर्ब ८९ करोड छ । तत्काल उच्च दरमा आयात बढ्न वा रेमिट्यान्समा उच्च गिरावट नभएको अवस्थामा चालु खाता र शोधनान्तर स्थितिमा दबाब परिहाल्ने अवस्था देखिँदैन ।

आयातभन्दा रेमिट्यान्स धेरै छ । रेमिट्यान्समा उच्च वृद्धि र आयात नबढ्दा विदेशी विनिमय सञ्चित एक महिनामै २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । साउनको आयात आधार मान्दा उक्त सञ्चितिले १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

घट्यो ब्याजदर, बढेन कर्जा

कोभिडपछिको समयमा कर्जाको ब्याजदर निरन्तर बढेर माघ र फागुन २०७९ मा कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो ।

त्यसयता घट्दै गएको कर्जाको ब्याजदर एकल अंकमा आएको छ । साउन २०८१ मा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशतमा आएको छ । तर, निजी क्षेत्रमा कर्जाकोे माग भने बढ्न सकेको छैन ।

साउन २०८१ मा वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ६.२ प्रतिशत मात्रै बढेको छ । जबकि, गत आवमा मौद्रिक नीतिको लक्ष्य ११.५ प्रतिशत र चालु आवमा १२ प्रतिशत छ । तर, कर्जा भने लक्ष्यको आधा मात्रै विस्तार भइरहेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेप भने १४.९ प्रतिशत बढेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?