
११ असोज, काठमाडौं । मुग्लिन–कुरिनटार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा खसेको पहिरो चालक र सहचालक आफैंले पन्छाएका छन् ।
आज बिहान घोप्टेभिरमा ढुंगा–माटोसहित सानो पहिरो खसेर एकतर्फी बाटो अवरुद्ध भएको थियो । सो ठाउँमा खसेका ढुंगा ट्रक चालक र सहचालकहरु मिलेर पन्छाएका हुन् ।
चितवनको घोप्टेभिर क्षेत्रमा बेलाबेलामा पहिरो गइरहन्छ । तर त्यहाँ पहिरो पन्छाउने मेसिन आइनपुग्दै चालक–सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।
पहिरो पन्छाउनेहरु भारतीय नम्बर प्लेटको ट्रकका चालक–सहचालक रहेको प्रत्यक्षदर्शी खिलानाथ दाहालले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘कुरिनटारतिरबाट मुग्लिनतिर एउटा ग्याँस बुलेट जस्तो गाडी गइरहेको थियो र मुग्लिनतिरबाट भारतीय ट्रक आइरहेको थियो । त्यो भारतीय ट्रकले अर्को ट्रकलाई टोचन लगाएर तानिरहेको थियो । बुलेट र ट्रक ठ्याक्कै पहिरो गएको ठाउँनेर पुगेपछि बाटो क्रस गर्न मिलेन । त्यसपछि ट्रकका चालक सहचालकहरु मिलेर पहिरो पन्छाएका थिए ।’
मुग्लिन–मलेखु सडकखण्डका खसेको पहिरो पन्छाउन सगुन कन्स्ट्रक्सनका मेसिन प्रयोग गर्ने गरिएको छ । तर मेसिन प्रयोगमा निकै ढिलासुस्ती हुने गरेको पत्रकार विनोद श्रेष्ठ बताउँछन् । ‘मुग्लिन–नारायणगढ खण्डमा चाहिँ तत्कालै मेसिन चलाउने गरेको देखिन्छ तर मुग्लिन–मलेखु खण्डमा चाहिँ ढिलो भएको देखिन्छ,’ पत्रकार श्रेष्ठ भन्छन्, ‘उनीहरुको प्रक्रिया नै लामो हुने रहेछ ।’
प्रतिक्रिया 4