+

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

२०८१ असोज  ११ गते १७:३८ २०८१ असोज ११ गते १७:३८
तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

आज मैले हठात् यसरी प्रश्न गर्न पुगें । म माफी चाहान्छु, खै किन हो आज मेरो हृदय अलि तरल भएको छ । हिउँ झैं पग्लिएको छ । भावुक भएर गंगा झैं कलकलाउँदै बगेको छ । सधैं सेतो एप्रोन र काँधमा स्थेथेस्कोप भिरेर बिरामी जाँचिरहेको चिकित्सक किन मन-मुटुको कुरा गरेर यसरी पोखिएँ । तपाईंको सञ्चो-बिसञ्चो सोधिरहेको म किन अचानक भावुक भएँ ? म आफैंभित्र यो उत्तर खोजिरहेछु ।

तपाईंका यी चर्मचक्षुले ‘मन’ त पक्कै देख्नुहुन्न तर ‘मुटु’ त महसुस गर्न सक्नुहुन्छ । मुटु सानो छ तर यसको महत्त्व हाम्रो जीवनमा अवर्णनीय छ । हरेक जीवको जीवनमा पहिलोपटक धड्किने अङ्ग नै मुटु हो । मानिसको हकमा गर्भास्थाको सातौं हप्तादेखि मुटु चल्न थाल्छ । जो त्यसपछि मृत्युसम्म निरन्तर चलिरहन्छ । त्यो हेक्का पक्कै तपाईंहरूले राख्नु भएको छ भन्ने लाग्छ ।

तपाईंले मुटुको महत्त्व थाहा हुँदाहुँदै पनि मुटुको ख्याल राख्नु भएको छ, छैन ? – मेरो प्रश्न यही हो ।

आज हरेक मानिसहरूमा मुटुको समस्या बढिरहेको छ किन ?

किन बढिरहेको छ दिनप्रतिदिन ‘हर्ट अट्याक’को तथ्यांक ? यस्ता तथ्यांकले तपाईंलाई कत्तिको तर्साउँछ ? के तपाईंले आफ्नो मुटु जोगाउने कुनै सावधानी अपनाउनुभएको छ ? छैन भनें- आजबाट आफ्नो मुटु जोगाउन थाल्नुहोस् । कसरी जोगिन्छ मुटु ? आउनुहोस् छलफल गरौं ।

मैले अघि नै भनें – आज म अलिक भावुक भएको छु । तपाईंको मनसँग अनेकौं प्रश्नहरू सोध्न चाहन्छु । शब्द मार्फत तपाईंको मुटुसँग जोडिन चाहान्छु । हृदयको गहिराइमा पुग्न चाहन्छु । तपाईं यसलाई भावनात्मक आत्मीयता सम्झिनुहोस् या ‘मुटु’सँग जोडिएको ममता ! आज म तपाईंसँग केवल मुटुको मात्रै कुरा गर्नेछु ।

मुटु..!

मुटु …..!

मुटु ………!

र, फेरि मुटु …..!

केवल आज म मुटु मात्रै भनिरहने छु । मानौं मुटुको यो गीत हो । मुटुको यो कविता हो, मुटुको यो आराधना हो र मुटुको यो पूजा हो । यो मुटुको निबन्ध हो । हाम्रो शरीरमा धेरै कुरा दुई-दुईवटा छन् । हेर्ने आँखा दुई छन् । सुन्ने कान दुई छन् । मिर्गौला दुई छन् । फोक्सो दुई भागमा छन् । मस्तिष्कमा दुई भाग हुन्छन् । मुटु यस्तो अङ्ग हो जो जीवनपर्यन्त विश्राम पाउँदैन । त्यो कर्मशील अङ्ग एउटै मात्र हुन्छ । यो प्राकृतिक सत्य बुझ्न जरुरी छ । यसर्थ मुटुको संवेदनशीलता ख्याल गरौं ।

हाम्रो शरीरमा अविश्राम चलिरहने अङ्ग हो- मुटु । निरविच्छिन्न चलिरहने मुटु न कहिल्यै थाक्छ । न कहिल्यै रोकिन्छ । जब मुटुको गति रोकिन्छ हामी निष्प्राण हुन्छौं । मुटु रोकिनु भनेको प्राणपखेरु उड्नु हो । जीवनको लीला सकिनु हो । कर्मको मानो टुट्नु हो र देहको गाडी छुट्नु हो । मुटु नै हो हाम्रो जीवनको प्रमुख आधार । मुटु छ जीवन छ, मुटु छैन जीवन छैन ।

मुटु गर्भास्थादेखि मृत्युको अघिसम्म चलिरहन्छ । विश्राम लियो कि सकियो । न रात, न दिन ! न दु:ख, न सुख ! न निद्रा, न भोक ! न सजिलो , न अप्ठ्यारो ! जो चलिरहन्छ निरन्तर …! निरन्तर …! निरन्तर ….!

मुटु चलेको छ र त हाम्रो प्राण छ ।

हाम्रो शरीरमा नदी झैं रक्त सञ्चार चलिरहेको छ । शरीरमा सिंचाइ छ । जसले शरीरका सबै अङ्गहरूमा ‘प्राण-वायु’ अक्सिजन र पोषण पुर्‍याउँछ । शरीरबाट अनेकौं विकार हटाउँछ । जीवनलाई सर्सउँदो राख्ने यो फुच्चे अङ्गले न निद्रा भन्न पाउँछ न विश्राम ! जो अविश्राम चल्नुपर्छ ।

देब्रे छातीभित्र अविश्रान्त ढुकढुक गरिरहन्छ मुटु ।

जो सानो छ तर यसको महत्त्व हरेकको जीवनका लागि विशाल छ, अथाह छ, अमूल्य छ  र अतुलनीय छ । धामी-झाँक्रीले पनि बिरामीको नाडी छामेर मुटुको चाल बुझेको देखिन्छ । आधुनिक चिकित्सा क्षेत्रले पनि मुटुलाई पहिलो प्राथमिकता दिएको छ । चिकित्सकहरूले हरेक अप्ठ्यारोमा पहिलो निगरानी गर्ने पनि मुटु नै हो । मुटुको चाल नै हो । काँधमा टेथेस्कोप भिरेका चिकित्सकले पनि बिरामीको छातीभित्र ढुकढुक गर्ने मुटु नै हेर्ने हो । मुटुको ठीक भए मात्रै शरीरका अन्य अङ्गहरू स्वस्थ रहने हुन् ।

मुटु जोगाउनु नै शरीर जोगाउनु हो ।

हामीले खाने हरेक गाँसमा मुटुको भविष्य छ । हामीले हिंड्ने हरेक पैतालामा मुटुको स्वास्थ्य जोडिएको छ । हामीले सोच्ने हरेक चिन्तनसँग मुटुको प्रत्यक्ष सम्बन्ध छ । हामीले गरिरहेको खराब चिन्तन नै मुटु अस्वस्थ हुने कारक तत्व हो । यसर्थ  सकारात्मक सोचौं । सकारात्मक बनौं । हाम्रो शरीरमा दुई फोक्सो बीचमा हरेक मिनेटमा साठीदेखि सयपटक ढुकढुक गर्छ । मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ ।  जसलाई हामी चिकित्सकीय भाषामा ‘पेरिकार्डिम’ भन्छौं ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा सानो कुराको महत्त्व र दृष्टान्त मुटु समेतलाई जोडेर दिएका छन् – ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ?’ साँच्चै सानो भनेको के हो ? हाम्रो मुटु निक्कै सानो छ तर त्यही सानो अङ्गको महत्त्व र महिमा शरीरका अन्य अङ्गभन्दा विशाल छ । जसको वर्णन शब्दमा कसरी गरुँ म !

मुटु स्वस्थ राख्नु नै आजको आवश्यकता हो ।

हामी हरेक हिसाबले दिनप्रतिदिन विलासी बन्दै गएका छौं । अझ आधुनिक जीवन शैली, खानपान र व्यवहारले त हाम्रो मुटुको अवस्थामा प्रतिकूलता थप्दै गएको छ । शारीरिक व्यायामले मुटु स्वस्थ र बलियो बनाउँछ । हाम्रो रक्तचापलाई नियन्त्रणमा राख्छ । नियमित हिंड्ने, दौडिने र पौडिने हो भने मुटु स्वस्थ हुन्छ । तर खै ? हाम्रो समय ? हामी हिंड्न अल्छी गर्छौं । दौडिनु असभ्य ठान्छौं । पौडिन खोइ हाम्रो फुर्सद ! आधुनिक जीवनशैलीमा अभ्यस्त छौं हामी । मिनेट-मिनेट पैसामा जोखेका छौं । मुटु नै रहेन भने केको पैसा ? मन नै शान्त नभए के-को बैंस ?

धुम्रपान-मद्यपानले पनि मुटुमा समस्या ल्याउँछ ।

हामीले खाने हरकुरामा सतर्क हुनुपर्छ ! अत्यधिक मोटोपनले पनि मुटुलाई गम्भीर संकट निम्त्याउँछ । यो भावनात्मक बगाई मुटु जोगाउने सन्दर्भमा हो ।

आधुनिक जीवनशैलीले हामीमा अनेकौं तृष्णा थपिएको छ । तृष्णाले अत्यधिक तनाव उत्पन्न गर्छ । तनावले सिधै हाम्रो मस्तिष्क र मुटुमा नकारात्मक असर गर्छ । तनाव घटाउनु नै मुटु जोगाउनु हो । मुटु जोगाउन शारीरिक व्यायाम, ध्यान, योग अनि प्रकृतिको सानिध्यमा रमाउन जरुरी छ । प्रकृतिको अनुपम सौन्दर्यमा हराउनु । हिमालसँग प्रीत लाउँदै, पहाडसँग मीत लाउँदै, खोलासँग गीत गाउँदै, चराहरूसँग रम्दै-रमाउँदै जीवन बिताउँदा मन शान्त हुन्छ र मुटु स्वस्थ  हुन्छ । तर खोइ समय ? यो छिनाझप्टी, यो अनावश्यक हतारो, यो तनाव र बेफुर्सदी, यो आधुनिकताको मोह ।

यो अस्वस्थकर खाना के-का लागि ?  एउटा स्वादेजिब्रोका लागि हामीले मुटुको आयु घटाइरहेका हुन्छौं । हाम्रो अनुहारको ओडारभित्र बसेर पटरपटर बोल्ने ! दशथरीको कुरा काट्ने र बाह्र-सत्ताइसका गुड्डी हाँक्ने यो पीपलपाते जिब्रोलाई अनुशासनमा कहिले राख्ने ? नेपालीमा एउटा उखानै छ- ‘स्वादे-जिब्रो अल्छे तिघ्रो’ यो स्वादेजिब्रोलाई नियन्त्रण गरेनौं भनें मुटु धरापमा पर्छ । जीवन अप्ठ्यारोमा झर्छ ।

हामी श्रम र श्रमिकप्रति अनुदार छौं । श्रमको सम्मान गर्दैनौं । पसिनाको रङ चिन्दैनौं । हेयको दृष्टिकोणले हेर्छौं । यस्तो दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । सबैले श्रम गरौं । श्रमको सम्मान गरौं । स्वस्थ जीवन स्वस्थ मुटु नै आजको आवश्यकता हो । हामी आधुनिकताको नाममा अत्यधिक विलासी नबनौं । हरेक दिन हिंडौं । आफ्ना सन्ततिलाई पनि हिंड्न प्रेरित गरौं । शरीरलाई हानि गर्ने खानेकुराको सेवन नगरौं ।

धुमपान-मद्यपानबाट टाढा बसौं ।

श्रम गरौं मुटु बचाऔं ।

शंका लागे मुटु जचाऔं ।

(डा. सुवेदी काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत छन्)

मन मुटु मुटु स्वास्थ्य
लेखक
डा. सुशील सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०

फिचर

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?