
११ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले थप २ सीमा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । सशस्त्र प्रहरीले झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको हो ।
यसअघि झापाको काँकडभिट्टा नाकामा २०८० साल असोज २५ गतेदेखि कुकर परिचालन गरिएको थियो। आज शुक्रबारदेखि थप दुई वटा नाकामा तालिम प्राप्त कुकरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमा क्षेत्रमा ओसारपसार हुनसक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ र लागूऔषधको पहिचान गर्नसक्ने दुई/दुई वटा तालिम प्राप्त डग परिचालन गरिएको हो । अन्य सीमा नाकाहरुमा डगसहित तालिम प्राप्त जनशक्ति बिस्तार गर्दै लैजाने संगठनको योजना रहेको उनले बताए।
झापाको काँकडभिट्टामा परिचालित डगले आर्थिक बर्ष २०८०÷८१ मा १ सय ४४.३३ ग्राम र आर्थिक बर्ष २०८१÷८२ मा ५८.७८ ग्राम लागूऔषध ब्राउन सुगरको पहिचान गरी बरामद गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उप–उपशाखाबाट काँकडभिट्टामा परिचालित साथी नामको ल्याब्राडोर जातको कुकुरले हातहतियार तथा विष्फोटक पदार्थ, जोजो लयाब्राडोरले लागूऔषध पहिचान गर्नेछ ।
यसैगरी वीरगंजमा परिचालित दृष्टि ल्याब्राडोर र जर्मन सेफर्डले क्रमशः लागुऔषध र हातहतियार तथा बिस्फोट पदार्थ र रुपन्देहीमा परिचालित साया ल्याब्राडोरले लागूऔषधको पहिचान गर्नेछ । डेजी जर्मन सेफर्डले हातहतियार तथा विष्फोटक पदार्थको पहिचान गर्नेछ ।
प्रतिक्रिया 4