+
+

पोखराको पाराग्लाइडिङमा नयाँ शुल्क : घन्टाको १२ हजार ७५० रुपैयाँ

विवाद सल्ट्याउँदै तोकियो दर, पाइलटको पारिश्रमिक पनि बढ्यो

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असोज ११ गते २१:१९

११ असोज, पोखरा । आन्तरिक विवादका कारण लामो समयदेखि पोखराको पाराग्लाइडिङमा एकरुपमा नभएको दररेट फेरि समान तोकिएको छ । पाराग्लाइडिङको दररेटमा एकरुपमा नहुँदा पर्यटन तान्न अस्वस्थ प्रतिस्पर्धा भएपछि पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले फेरि दररेट तोकेको हो ।

नेपाल हवाई खेलकुद संस्थाको पाराग्लाइडिङ व्यवसायी उपसमिति र नेपाल पाराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त बैठकले आधा घन्टासम्म र एक घन्टासम्मको फरक फरक दर तोकेको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम मूल्य १२ हजार ७५० रुपैयाँ तोकिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

पाइलटले कम्पनीबाट पाउने पारिश्रमिक पनि बढेको छ । पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत प्राप्त गर्ने भएका छन् । अहिले कायम भएको दरअनुसार पाइलटले पहिलेभन्दा २ हजार रुपैयाँसम्म बढी पाउने महासचिव आचार्यले जानकारी दिए ।

यसअघि ‘ना’ले १२ हजार रुपैयाँ दररेट तोकेको थियो । ‘ना’ले दर तोक्न छोडेपछि अस्वस्थ प्रतिस्पर्धाका कारण ३ हजार ५०० रुपैयाँ पनि पाराग्लाइडिङ गर्नुपर्ने स्थिति सिर्जना भएको थियो । ‘दररेट कायम नहुँदा अलि अस्वस्थ प्रतिस्पर्धा थियो । व्यवसायीलाई पनि घाटा र पाइलटलाई पनि सन्तोषजनक थिएन,’ महासचिव आचार्यले भने, ‘यहाँ कमाइ कम हुन थालेपछि पाइलट पनि पलायन हुन थाले । त्यसलाई रोक्न पनि परिमार्जन आवश्यक देखियो ।’

नाले दररेट तोक्ने अधिकार गत साल पुसमा सम्बन्धित कम्पनीलाई नै दिएपछि पाइलटले असन्तुष्टि जनाएका थिए भने शुल्क विवादकै करण केही समय प्लाराग्लाइडिङ उडानसमेत रोकेको पछि खुला गरिदिएको थियोल ।

अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाने र व्यवसायी तथा पाइलट दुबै मारमा पर्दै जाने भएपछि व्यवसायी र पाइलटहरु सबै बसेर नयाँ दररेट कायम गरेका छौं,’ अध्यक्ष अध्यक्ष अनिल केसीले भने, ‘यसलाई अब कार्यान्वयनमा लैजाने सरल र प्रभावकारी माध्यमको खोजी पनि गरि नै रहेका छौं । महंगोमा पाराग्लाइडिङ किन्नुपने तर नचल्ने गर्दा मारसमेत भोग्नु परेको थियो ।’

सुरुमा व्यावसायिक हिसाबले खुलेको हवाइ खेलकुद संस्थालाई नै नागरिक उड्डयन प्राधिकरणले नियमनकोसमेत अधिकार दिएको छ । जसका कारण आफैं दर तोक्दा अप्ठेरो पर्न सक्ने भन्दै कम्पनीलाई नै अधिकार दिइएको थियो । तर, ‘ना’ समन्वयात्मक भूमिका पनि खेल्नुपर्ने र पाराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित पनि बनाउनुपर्ने भूमिकामा रहेको अध्यक्ष केसीले बताए ।

नेपाल हवाई खेलकुद संस्थालाई क्यानले पारापाइलटको लाइसेन्स दिने, नवीकरण गर्ने, अनुगमन गर्ने र पाराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित गराउने जिम्मेवारी दिएको छ । तर, संस्थाबाटै व्यवसायीहरु छुट्टिन चाहेको र शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी आफूहरुले गर्न पाउने अधिकार दिन माग गरेपछि समस्या बढेको थियो ।

क्यानका अनुसार पोखरामा अहिले पाराग्लाइडिङ उडान गर्ने ७४ वटा कम्पनी छन् । ती कम्पनीहरुबीचमैै अहिले एकमना नहुँला पाराग्लाइडिङ क्षेत्रलाई नै प्रभावित पारेको थियो ।

सराङकोटबाट उडान भर्दै आइरहेका व्यवसायीले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मान्द्रेढुंगा, तोरीपानी क्षेत्रबाट उडान भर्दै आएका छन् । जसका कारण यातायातदेखि पामेमा अवतरण गर्ने गरिएको छ । यसले गर्दा खर्चसमेत बढेको तर व्यवसायी, पाइटलबीचकै असमझदारीले प्रभावित बनेको थियो । अब भने निकास निकाल्ने बाटोमा लागिएको अध्यक्ष केसीले बताए ।

सन् २ हजारबाट पोखरामा सुरु भएको पाराग्लाइडिङ दक्षिण एशियामै उत्कृष्ट मानिन्छ । नागरिक उड्डयन प्राधिकरणले ऐन बनाएर २०७५ सालदेखि सालबाट संस्थालाई नै पाइलटको लाइसेन्स र  दिन थालेको हो । पोखराको पाराग्लाइडिङ क्षेत्रमा करिब १ अर्ब लगानी छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?