+
+

देशभर घनघोर वर्षा, सामान्य हो कि असामान्य ?

वर्षाले ठाउँठाउँमा बाढी, पहिरो र डुबानको समस्या निम्तिएको छ । विभिन्न जिल्लामा सडक र पुलमा क्षति पुगेको छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असोज ११ गते २२:५४

११ असोज, काठमाडौं । अघिल्ला वर्षजस्तो मौसम सामान्य हुन्थ्यो भने यति बेला घमाइलो मौसमले दशैं मुड सुरु भइसकेको हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा दिनचर्या नै बिथोलिने गरी वर्षा भएको छ ।

मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि नेपालमा गत ३६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । अझै  ३६ घण्टा वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शु्क्रबार राति साढे १० बजेको अवधिसम्ममा देशभरका ५९ वर्षा मापन केन्द्रमा वर्षाले चेतावनीको तह पार भएको छ । यसैगरी काठमाडौं उपत्यकामा बागमती नदीको खोकना मापन केन्द्र र बाराको पसाहा खोलाको महेशपुर मापन केन्द्रले बाढीले सतह खतराको संकेतसम्म पुगेको देखाएको छ ।

बाढी र वर्षाका कारण झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरुलाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । झापामा तीन जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौं, बैतडी र मोरङमा पनि एक–एक जना बेपत्ता छन् भने इलाममा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

वर्षा शनिबारसम्मै जारी हुने

वर्षाले ठाउँठाउँमा बाढी, पहिरो र डुबानको समस्या निम्तिएको छ । विभिन्न जिल्लामा सडक र पुलमा क्षति पुगेको छ । केन्द्रीय राजधानी काठमाडौंलाई जोड्ने प्रमुख राजमार्ग बीपी र पृथ्वी दुबै पहिरोका कारण अवरुद्ध छन् ।

नौबिसे–काठमाडौं सडकखण्डमा गएको पहिरोले अवरुद्ध भएको सडक ।

बाढी, पहिरो तथा डुबानको जोखिम शनिबारसम्मै कायम रहेकाले शुक्रबार र शनिबार दुई दिनसम्म रात्रि सेवाका सवारी साधन चलाउन रोक लगाइएको छ । त्यसैले आज राजधानी काठमाडौंको नयाँ बसपार्कबाट लामो दुरीका बसहरु चलेनन् ।

आज आन्तरिक हवाई उडान पनि ठप्प भएका छन् । अन्तर्राष्ट्रिय उडान र अवतरण ठप्प नभए पनि प्रतिकूल मौसमका कारण केही समय आकाशमा होल्ड हुनुपरेको छ ।

मौसमविदहरुका अनुसार अहिलेको वर्षा शनिबारसम्मै जारी हुने र आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । त्यसैले जोखिम कायमै ठानेर सावधानी जारी राख्नुपर्ने उनीहरुको सुझाव छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल अझै ३६ घण्टा लगातार वर्षा हुने देखिएको र कुलेखानी बाँध लगायत नेपालभर बाढी र पहिरोको सम्भावना अत्यधिक रहेकाले सचेत रहनुपर्ने बताउँछन् ।

झापामा ३०५ मिलिमिटरसम्म वर्षा

यसपटक सबैभन्दा बढी वर्षा झापामा भएको छ । झापामा शुक्रबार ३०५ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ ।

विगतमा त्यहाँ त्यसरी वर्षा भएको थियो कि थिएन भनेर अध्ययन गर्न बाँकी रहेको मौसमविदहरु बताउँछन् । यसै वर्षको असार २३ र २४ गते कञ्चनपुरमा आरिघोप्टे वर्षा (क्लाउन बर्ष्ट) हुँदा मानवीय क्षति कम भए पनि कृषियोग्य जमिनमा बढी क्षति पुगेको थियो ।

कुलेश्वरका खाद्यान्न गोदाममा पसेको बागमतीको बाढी ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते नै विशेष बुलेटिन जारी गरेर भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । त्यतिबेला २७ जिल्लालाई उच्च जोखिममा राखेको महाशाखाले असोज ९ गते पुनः अर्को विशेष बुलेटिन जारी गरेर ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेकाले उच्च सतर्कता अपनाउन भनेको थियो ।

महाशाखाले असामान्य मौसमी घटनाको सम्भावना देखेमा विशेष बुलेटिन जारी गरेर पूर्वजानकारी दिने गर्दछ । यस वर्षको मनसुन अवधिमा हालसम्म ९ पटक विशेष बुलेटिन जारी भइसकेको छ ।

यो वर्षा असामान्य हो कि सामान्य ?

महाशाखाले पूर्वानुमान गरेजस्तै मंगलबारदेखि नै पूर्वी नेपालबाट वर्षा सुरु भएको थियो । वर्षा गराउने प्रणाली थप सक्रिय हुँदै बादल पश्चिमतर्फ सर्दै गएको थियो ।

आज शुक्रबारसम्म आइपुग्दा वर्षा उत्कर्षमा पुगेको छ । शनिबारदेखि पूर्वी भागमा शुक्रबारको तुलनामा कम पानी पर्ने र पश्चिमी भागमा बढी पानी पर्ने पूर्वानुमान छ ।

महाशाखाकी वरिष्ठ मौसमविद शान्ति कँडेल दशैंको मुखमा अहिले भएको वर्षालाई सामान्य मान्छिन् । यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण पहिल्यै सार्वजनिक गरिएको र त्यो मिलेको बताउँदै उनले भनिन्, ‘अहिले मनसुन अवधि कायमै रहेको अवस्थामा यस्तो वर्षा हुनु सामान्य नै हो ।’

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधि (जुन १३ देखि अक्टुबर २) मा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

अर्का मौसमविद गोविन्द झाले पनि मनसुन अवधिको बेला हुने यस्तो वर्षा सामान्य भएको बताए । ‘विगतमा पनि सेप्टेम्बर/अक्टबुर महिनामा वर्षा हुँदा धान खेतमै डुबेका थिए, त्यसैले यो सामान्य हो,’ उनले भने ।

२०७८ सालमा असोज अन्तिम र कात्तिक पहिलो साता भएको वर्षाले काटिसकेको धानबालीमा क्षति पुगेको थियो । गृह मन्त्रालयको तथ्यांकअनुसार त्यो वर्षाले ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँ बराबरको धानबाली नष्ट गरेको थियो ।

 दशैंमा के हुन्छ ?

नेपालमा विगतका वर्षहरुको तुलनामा मनसुन अवधि लम्बिँदै गएको छ । विगतका वर्षहरुमा नेपालमा सरदर मनसुन अवधि १०५ दिनको हुने गरेकोमा अहिले ११२ दिन पुगेको छ ।

मनसुन आगमन जुन १० मा र बहिर्गमन सेप्टेम्बर २३ मा हुने गरेकोमा सन् २०२० मा संशोधित मिति अनुसार नेपालमा सामान्यतया मनसुनी प्रणाली जुन १३ मा भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ ।

मौसमविदहरुको अनुमानमा अक्टुबर ४ अर्थात् असोज १८ गतेदेखि नेपालबाट मनसुन बाहिरिन थाल्ने छ ।

जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १ हजार ५ सय मिलिमिटर वर्षा हुन्छ । तर यस वर्ष असोज ९ गतेसम्म १ हजार ५१२ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्षको मनसुन बाहिरिने दिन आउन अझै करिब पाँच दिन बाँकी छ । त्यसैले वर्षा अझै हुनेछ । र, यस वर्ष पनि मनसुन अवधि पनि लम्बिने पक्का छ ।

यस वर्ष दशैंको नवरात्र सुरु हुँदासम्म मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेल बताउँछिन् ।

मौसमविदहरुको अनुमानमा अक्टुबर ४ अर्थात् असोज १८ गतेदेखि नेपालबाट मनसुन बाहिरिन थाल्ने छ । तर कति दिनभित्र बाहिरिसक्छ भनेर एकिन गर्न भने सकिएको छैन । यस वर्ष दशैंको घटस्थापना असोज १६ गते र टीका असोज २६ गते परेको छ ।

‘दशैंको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरु देखिन्छ । तर अहिलेसम्म हाम्रो सिस्टमले कतै पनि विथड्रलको संकेत देखाएको छैन,’ विभागका सूचना अधिकारी पोखरेलले भनिन् ।

लम्बिँदै गएको मनसुन अवधि अध्ययनको विषय

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ ।  यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।

तर वरिष्ठ मौसमविद शान्ति कँडेल नेपालमा मनसुन अवधि लम्बिँदै जानु र पानी पर्ने प्रकृति फरक हुँदै जानु अध्ययनको विषय भएको बताउँछिन् । ‘तर विडम्बना हामीसँग अध्ययन नै छैन,’ कँडेलले अनलाइनखबरसँग भनिन्, ‘जलवायु परिवर्तनको कारण यस्तो भएको हो कि अन्य कारणहरु पनि जिम्मेवार छन् भन्नेबारे अध्ययन आवश्यक छ ।’

नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?