+
+

पत्रकार महासंघका पूर्वउपाध्यक्ष कार्कीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ११:५२

१२ असोज, बुटवल । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको निधन भएको छ । २०११ सालमा जन्मिएका कार्की लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेका थिए । कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवासमा निधन भएको हो ।

गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । तर आर्थिक अभावले ढिला भएको थियो । कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता सुुरु गरेका थिए ।

कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीबाट दर्ता गरेका थिए ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं जनआस्थाका सम्पादक किशोर श्रेष्ठ नेपाल पत्रकार महासंघको महासचिव भएका बेला कार्की महासंघको केन्द्रीय उपाध्यक्ष थिए ।

कार्कीले २०४६ साल र २०६२–६३ को जनआन्दोलन सफल बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका उनका समकालीनहरु बताउँछन् । कार्की संविधान सभाका लागि नागरिक अभियानको उपाध्यक्ष भएर संविधान सभा चुनावमार्फत संविधान बनाउनुपर्छ भन्ने आन्दोलनमा पनि क्रियाशील थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेलसमेत परेका थिए । उनका एक श्रीमती भगवती, छोरी निरु , बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्ष अघि मृत्यु भइसकेको छ ।

कार्कीले वामपन्थी आन्दोलन र पत्रकारिताका माध्यमबाट समाजको अग्रगामी रुपान्तरणमा खेलेको भूमिका अविस्मरणीय रहेको नागरिक अभियान्ता एवं अधिवक्ता पदम कार्की बताउँछन् ।

पञ्चायतकालमा कम्युनिष्ट नेता कार्यकर्ता र वामपन्थी पत्रकारका लागि कार्कीको निवास सेल्टर जस्तै बनेको समेत पदम कार्कीले स्मरण गरे । नेकपा मसालबाट राजनीति सुरु गरेका कार्की संयुक्त जनमोर्चा, एकता केन्द्र हुंदै माओवादी केन्द्र निकट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?