+
+

उद्धार पर्खिँदापर्खिँदै नख्खु खोलामा बगे चार जना

प्रत्यक्षदर्शी भन्छन्ः ४५ मिनेटपछि आएको प्रहरीसँग उद्धार सामग्री पनि थिएन

प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १२:०१

१२ असोज, काठमाडौं । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जना बेपत्ता भएको खुलेको छ । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना नख्खु खोलाको बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।

प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए ।

‘मैले सातदोबाटोका डीएसपी, महानगरपालिका अन्य सबै निकायमा पनि खबर गरेको थिएँ’, उनले अनलाइनखबरसँग भने, ‘निकै बेरपछि दुई जना प्रहरीमात्र आउनु भयो, त्यो पनि उहाँहरुसँग केही उद्धार सामग्री लिएर आए ।’

प्रहरी आउन पनि झण्डै ४५ मिनेटजति लागेको उनले बताए । ‘राजधानीको मन्त्री निवास नजिकै रहेको नखिपोट जस्तो क्षेत्रमा पनि यस्तो स्थिति छ भने अन्त के हालत होला’, उनले प्रश्न गरे, ‘कम्तीमा लाइफ ज्याकेट मात्र लिएर उहाँहरु आउनु भएको भए बचाउन सकिन्थ्यो ।’

दुई जना प्रहरी आएपछि डोरी समेत आफूले घरबाट ल्याएर दिएको उनले बताए । ‘लुगा सुकाउने डोरी ल्याएपछि उहाँहरुले क्रेटमा बाँधेर पठाउनुभयो’, उनले भने, ‘तर, चार जना बस्नु भएपट्टीकै जस्ता खस्यो र उहाँहरुलाई नख्खु खोलाले बगायो ।’

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको उनले बताए । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन् ।

शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो ।

तर, उपत्यकामै उद्दारको तयारी कमजोर देखिएको छ । गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा अहिले उद्धार, राहत लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उनको सचिवालयका अनुसार, बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?