+
+

कोशी प्रदेशमा बाढी-पहिरोबाट ५ जनाको मृत्यु, ९ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १२:२४
बाढी पहिरोको प्रतिनिधिमूलक तस्वीर

१२ असोज, विराटनगर । अविरल वर्षासँगै कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ९ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार पाँचथरमा ४ र धनकुटामा १ जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा, मोरङ र इलाममा पाँच जना बेपत्ता भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।

प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावर कम्पनीमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । विहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाय पनि पुरेको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका– ५ शनिबार बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।

बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् ।

खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन् । कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ ।

शुक्रबार दिउँसो इलामको माइ नगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बू बेपत्ता भएका छन् । त्यस्तै मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?