+
+

गृहमन्त्रीले बचाउन सकिएन भनेका २ जनालाई चणिकलाल तामाङले बचाए

रौतहटका चारजना निसहाय भएर नख्खुको बाढीमा बग्न थाले । त्यही बेला फुत्त खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट ३ सय मिटर बगेका चार जनामध्ये दुई जनालाइ चणिकलाल एक्लैले सकुशल उद्दार गर्न सफल भए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ असोज १२ गते १६:४०

१२ असोज, काठमाडौं । सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्नगयो, ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए ।

सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसी पनि बिहानैदेखि आफ्नो टोल वरपर परिचालित थिए । सुगम बस्तीमै भाडामा बस्दै आएका थिए, काभ्रेका चणिकलाल ताामाङ ।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । उनी पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए ।

सुगम बस्ती टोल नजिकै नख्खु खोला किनारमा एउटा टहरो थियो । टोलसुधार समितिका अध्यक्ष केसीका अनुसार टहरोमा ग्रिल कारखाना र कवाड सामान राख्ने गरिएको थियो ।

उक्त क्षेत्रमा बस्ने व्यक्तिहरु आ–आफ्नो सामान सार्दै पारि तर्दै थिए । उनीहरुले पनि स्थानीयका सामानहरु सार्न सहयोग गर्दै थिए । त्यही बेला खोला बढ्न गयो । रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए ।

करिब १० मिनेट जति उनीहरु जस्ताको टहरोमाथि बसेका थिए । दुई बच्चा र दुई युवक गरी चार जना टहरामाथि चढेर उद्धारको याचना गर्दै थिए ।

बीच खोलामा चार जना फसेका थिए भने वारिपारि स्थानीयहरु थुप्रिएका थिए । त्यति नै बेला बाढीले टहरो भत्काएपछि चारै जना बगे । ‘हामीले हेर्दा हेर्दै बगायो । केही गर्न सकिएन’, टोल सुधारका अध्यक्ष केसीले अनलाइनखबरसँग भने ।

उनीहरु निसहाय भएर बाढीमा बग्न थाले । ज्यानको याचनाबीच कतैबाट सहायता प्राप्त भएन ।

तर त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट बगेका चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए ।

राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए ।

‘म खोला किनारमै हिँड्दै थिए । खोलाबाट कराउँदै बचाउ–बचाउ भनेको आवाज भयो’, चणिकलालले अनलाइनखबरसँग भने, ‘त्यसपछि म आफैं बाढीमा पसेर उद्दार गरेँ ।’

नख्खुमा डुबेका एक युवकले एउटा हातले छातीमा आफ्नो बच्चा च्यापेका थिए । अर्को हातले पौडिँदै थिए । त्यही बेला खोलाको छालले पनि उनीहरुलाई किनारतर्फ फाल्यो । चणिकलाललाई उद्धार गर्न सजिलो पनि भयो ।

मुस्किलले हेलिँदाहेलिँदै किनार नजिक आइपुगेपछि आफू पनि खोलामा पसेर उनीहरुको उद्धार गर्न सफल भएको उनको भनाइ छ । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताए । अनि पालैपालो पेटमा थिचे, जहाँबाट बाढीमा खाएको पानी निकाल्न सकियोस् ।

त्यसपछि बल्ल होसमा आएका राजुले बाढीमा आफ्नो अर्को बच्चा बगेको भन्दै गुहार मागे ।

उद्दार गरिएका उनीहरु दुई जनालाई नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह आफ्नो गाडीमा हालेर पाटन अस्पताल पुर्‍याएका थिए । उनले भने, ‘मेरो घर नजिकैको घटना हो यो । उद्धार गरिएपछि घाइतेलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएँ । त्यहाँ अर्का व्यक्ति पनि उपचाररत भेटिए ।’

यसरी टहरोबाट बेपत्ता भएका चार जना मध्ये दुई जनालाई चणिकलालले उद्धार गरेका थिए । भने अर्का एक जना आफैं पौडिएर निस्केको पाइएको छ । यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि टहरोबाट बगेको भनिएका मध्ये तीन जनाको उद्धार भएको र अहिले पाटन अस्पतालमा उपचाररत भएको बताए ।

‘टहरोबाट बगे भनिएकामध्ये अहिले तीन जनाको उपचार भइरहेको छ । एक जना बच्चा वेपत्ता छन् । उनको खोजी भइरहेको छ’, एसएसपी खनालले अनलाइखबरसँग भने ।

राजुका भाइ २२ वर्षीय राज साह पौडेर बाँच्न सफल भएका छन् । राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह भने वेपत्ता छिन् ।

प्रहरीका अनुसार यही ठाउँमा ओखलढुंगा घर भएका ४० वर्षीय देवराज कार्की पनि बगेर वेपत्ता भएका छन् ।

शुक्रबारदेखिको निरन्तर वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन क्षति पुर्‍याएपछि गृहमन्त्री रमेश लेखकले बैठक समेत बोलाएका थिए । शनिबार बिहान साढे १० बजे सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकमा मन्त्री लेखले नख्खु नदि छेउमा रहेकाहरुलाई बचान नसकिएको बचाएका थिए ।

भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत उनीहरुलाई उद्दार गर्न नसकिएको उनले बताएका थिए । ‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दा–गर्दै पनि बचाउन सकेनौं । हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं’, लेखकले भनेका थिए ।

गृहमन्त्रीले बचाउन सकिएन भनेर दुःखमनाउ गरिरहेका बेला यता काभ्रेको एउटा गाउँबाट काठमाडौंमा मजदुरी गरिरहेका चणिकलालले भने दुईजनालाई सकुशल उद्धार गरिसकेका थिए ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?