+
+

राजमार्गमा व्यापक क्षति, राजधानी–मोफसलको सम्पर्क टुट्यो

अच्युत पुरी अच्युत पुरी
२०८१ असोज १२ गते १८:१२
काठमाडौं प्रवेश गर्नु मुख्य द्वार नागढुंगा । तस्वीर : आर्यन धिमाल/ अनलाइनखबर ।

१२ असोज, काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ ।

खासगरी राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको उनले जानकारी दिए ।

यसमध्ये पनि आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ । महानिर्देशक पोखरेल भन्छन्, ‘दुई दिनमा सडक र पुलले ठूलो क्षति बेहोर्नु परेको छ, देशभरबाट हामी यो विवरण संकलन गर्दैछौं ।’

कुन कुन स्थानमा अवरुद्ध छ राजमार्ग ?

सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ ।

कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ ।

पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध रहेको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।

महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।

सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ ।

१० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।

पहिलो प्राथमिकता सडक खुलाउने

काठमाडौं उपत्यकालाई बाहिरका जिल्लाहरुसँग जोड्ने सबै नाका शनिबार साँझसम्म बन्द छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले बिहानैदेखि यो सडक खण्ड बन्द छ ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग समेत अवरुद्ध छ । सडक विभागका अनुसार वीपी राजमार्गको मात्र करीव २ सय मिटर सडक बाढीले बगाएको छ । यस राजमार्गको नेपालथोक–धुलिखेल खण्डको नेपालथोक नजिक रोशी खोलाले ६० मिटर सडक पुरै बगाएको छ ।

अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् । हेटौंडाबाट काठमाडौं आउने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

महानिर्देशक पोखरेल विभागको पहिलो प्राथमिकता बन्द रहेका सडक खुलाउनु रहेको बताउँछन् । ‘पानी परिरहेको बेला पहिलो ध्यान मानवीय उद्धार र राहतमा भयो, अबको प्राथमिकता सडक खुलाउन हुनेछ,’ उनले भने, ‘कतिपय स्थानमा अस्थायी पुलहरु पनि बनाउनु पर्ने देखिएको छ, त्यसमा पनि काम गछौं । अबको प्राथमिकता सडक सूचारु गराउनु हुनेछ ।’

नागढुंगा सुरुङबाट गराइयो यात्रु र सवारी पास

शनिबार बिहान नागढुंगा सुरुङ नजिकबाट सयौं यात्रु पैदल यात्रा गरी काठमाडौं छिरेका थिए । पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन–नागढुंङ्गा सडक आज राति पनि बन्द गरिएको छ ।

शनिबार दर्जनौं सवारी साधन र यात्रुलाई नागढुंगा सुरुङबाट काठमाडौं भित्राइएको महानिर्देशक पोखरेलले जानकारी दिए । ‘जो यात्रु सडकमा फस्नु भएको थियो, उहाँहरुलाई सुरुङ प्रयोग गरी काठमाडौं भित्राइयो,’ उनले भने ।

२०/२५ वटा कुखुरा बोकेका गाडी समेत सुरुङ मार्गमार्फत काठमाडौं भित्राइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यो सडक खण्डमा आज राती देखि बिहान ५ बजेसम्म सवारी चल्ने छैनन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?