+
+

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

रासस रासस
२०८१ असोज १३ गते ७:१२

१३ असोज, इनरुवा (सुनसरी) । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।

सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।

लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो ।

नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?