+
+

२६ वर्षको भयो गुगल : जन्मदिन नै विवादित, यस्ता छन् रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ९:४९

सर्च इन्जिन गुगलले शुक्रबार २६ वर्ष पूरा गरेको छ । सन् १९९८ मा स्थापना भएको गुगलले शुक्रबार सेप्टेम्बर २७ मा २६औं जन्मदिन मनाएको हो ।

स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका दुईजना विद्यार्थी ल्यारी पेज र सर्गेइ ब्रिनले गुगलको स्थापना गरेका थिए । गुगलले सेप्टेम्बर २७ मा आफ्नो बर्थडे मनाउने गरेको भए पनि यसको वास्तविक स्थापना मिति चाहिं सेप्टेम्बर २७ होइन । गुगलको जन्मोत्सवको रोचक तथ्य यस्तो छ :

वास्तवमा सर्गेइ ब्रिन र ल्यारी पेजले सन् १९९८ को सेप्टेम्बर ५ मा गुगललाई एक कम्पनीको रुपमा पहिलोपटक दर्ता गरेका थिए । त्यसअघि सन् १९९७ को सेप्टेम्बर १५ मै उनीहरुले गुगलको वेब डोमेन दर्ता गरेका थिए ।

गुगलको आफ्नै ब्लग पोस्टमा भनिएको छ – हाम्रो कम्पनी स्थापनाको एकीन मिति अहिलेसम्मै यसको जवाफ दिनुपर्ने ठाउँमा रहेका हामीहरुका लागि समेत विवादित छ ।

गुगल कम्पनी सेप्टेम्बर ४ मा स्थापना भएको हो । तर, एक दशक भन्दा लामो समययता हामीले सेप्टेम्बर २७ मा बर्थडे मनाउँदै आएका छौ‍ं ।

ब्लुम्बर्गका अनुसार गुगल सर्च इन्जिनको वास्तविक जन्ममिति चाहिं सेप्टेम्बर ८ हो । सन् १९९८ को सेप्टेम्बर ८ मा गुगल पेज पहिलोपटक अनलाइनमा आएको थियो । तर, गुगलले केवल २००३ मा मात्रै सेप्टेम्बर ८ तारखेमा आफ्नो जन्मदिन मनाएको छ र त्यसअघि तथा पछि पनि पटक-पटक आफ्नो जन्ममिति परिवर्तन गरिरहेको छ ।

सन् २००४ मा गुगलले सेप्टेम्बर ७ तारेखमै आफ्नो जन्मदिन मनाएको थियो । सन् २००५ मा चाहिं उसले सेप्टेम्बर २६ मा बर्थडे मनायो । अर्को वर्ष सन् २००६ देखि गुगलले सेप्टेम्बर २७ मा आफ्नो जन्मदिन मनाउन थालेको हो, जुन अहिलेसम्मै जारी छ ।

गुगलले सेप्टेम्बर ४, सेप्टेम्बर ८ तथा सेप्टेम्बर १५ मा जन्मदिन मनाउनु स्वभाविकै हुन्थ्यो । किनकि उल्लेखित मितिमा गुगल कम्पनी स्थापना, गुगल पेज अनलाइनमा आएको तथा गुगलको डोमेन दर्ता भएका थिए । तर, सेप्टेम्बर २६ तथा सेप्टेम्बर ७ मा बर्थडे मनाउनुको खास कारण चाहिं छैन ।

त्यसोभए किन उसले सेप्टेम्बर २७ मा बर्थडे मनाइरहेको छ त ? यसको चाहिं एउटा कारण छ । सन् २००६ मा गुगलले आफ्नो सर्च इन्जिनमा कीर्तिमानी २७ पेज अनुुक्रमणीकरण अर्थात् इन्डेक्सिङ गरेको ऐतिहासिक उपलब्धिलाई सेलिब्रेट गर्नका लागि गुगलले सेप्टेम्बर २७ मा आफ्नो जन्मदिन मनाउन थालेको हो । यो उसको मार्केटिङ रणनीति तथा सर्च इन्जिनको क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित भएकोमा खुसीयाली मनाउने काइदा हो ।

के हो गुगलको अर्थ ?

गुगल अर्थात् Google शब्द Google बाट अपभ्रंश भएर आएको हो । यो एउटा विशाल संख्याको गणितीय नाम हो जसमा एक अंक पछाडि १०० वटा शुन्ना हुन्छन् । अर्थात् एकसय वटा शुन्ना भएको कुनै पनि अंकलाई जनाउनका लागि गुगोल लेखिन्छ ।

गुगलले विशाल मात्रामा जानकारीहरु प्रदान गर्न सक्छ भन्ने कुरा दर्शाउनका लागि यस्तो नामाकरण गरिएको हो ।

तर, नयाँ वेबसाइट दर्ता गर्न आएको बेला सेर्गेइ ब्रिनले त्यसको नाम गलत उच्चारण गरेपछि गुगल डटकमको जन्म भएको हो ।

गुगल सम्बन्धी केही अनौठा तथ्य :

  • गुगल सर्च इन्जिनमा हरेक दिन डेढ सय वटा विभिन्न भाषामा अर्बौं सर्च हुन्छन् र ती सर्च डेटाहरु २० भन्दा धेरै डेटा सेन्टरबाट प्राप्त भएका हुन्छन् ।
  • यो कुरा सुन्दा पत्यार नलाग्न सक्दछ, तर यथार्थ के हो भने सर्गेइ ब्रिन र ल्यारी पेजको बीचमा जुन पहिलो बैठक भएको थियो, त्यसबेला कुनै पनि कुरामा सहमति बनेको थिएन । तर, पछि उनीहरु दुवै मिलेर गुगलको स्थापना गरे ।
  • गुगल बन्नुअघि यसको सुरुवाती नाम Backrub थियो । गुगल सुरुमा वेब लिंकहरुमै निर्भर थियो र यसले कम्पनीहरुको महत्वको आधारमा सूचीकरण गर्नका लागि ब्याक लिंकहरुको विश्लेषण गर्दथ्यो । पछि सन् १९९८ को सेप्टेम्बर २७ मा मात्रै गुगल कम्पनी आधिकारिक रुपमा दर्ता भएको थियो ।
  • सन् १९९८ को सेप्टेम्बर २७ मा भाडामा लिइएको एक ग्यारेजमा गुगल इंक नामक कम्पनीको आधिकारिक जन्म भयो र सोही ग्यारेजलाई नै गुगलले आफ्नो पहिलो अफिस बनायो ।
  • सन् २००६मा गुगल शब्दलाई शब्दकोषमा क्रियापद (verb) को रुपमा सामेल गरियो । मेरियम वेब्स्टर डिक्सनरीमा Google शब्दको अर्थ वर्ल्ड वाइड वेबमा कुनैपनि जानकारी प्राप्त गर्नका लागि सर्च गर्नु भन्ने लेखिएको छ ।
  • गुगलले गरेको पहिलो ट्वीट I’m 01100110 01100101 01100101 01101100 01101001 01101110 01100111 00100000 01101100 01110101 01100011 01101011 01111001 00001010 हो ।गुगलको आधिकारिक ह्याण्डलबाट सन् २००९ को फेब्रुअरी २५ मा उक्त ट्वीट गरिएको थियो । बाइनरी कोडमा गरिएको यो ट्वीटको अर्थ I am feling lucky भन्ने हुन्छ । यो गुगल सर्चको एउटा लोकप्रिय Search function हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?