+
+

गीतकार मनोज खड्काले ल्याए रामकृष्ण ढकालको स्वरमा ‘जीवनको हिसाब’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:२४

गाउँघरले सोध्यो परदेशीलाई

फर्किन्छौ या उतै भासिन्छौ भाइ

जीवनको हिसाब मिलेन साथी

सपनामा लडें गुम्सियो छाती

गीतकार मनोज खड्काको नयाँ गीत ‘जीवनको हिसाब’का शब्द हुन् यी । नेपाली समाजको साझा कथा बोल्ने यो गीतमा रामकृष्ण ढकालको स्वर र डेनी निरौलाको संगीत छ । गीतलाई किरण कँडेलले एरेन्ज गरेका हुन् ।

घरको कमजोर आर्थिक अवस्थालाई उकास्ने सपना बोकेर बिरामी बुवा, आमा र श्रीमतीलाई घरमा छाडेर परदेशिन बाध्य युवकको कथा गीतको भिडियोमा प्रस्तुत छ । धनेन्द्र रसाइलीले निर्देशन गरेको भिडियोमा अभिनेता दिलीप रायमाझी र सविना थपलिया फिचर्ड छन् । भिडियोमा मनोज खड्का, सागर कालीकोटे, मंगल विश्व, अञ्जान भुटानी, धनमाया गजमेर, सोम बराइली, टेभोन बाउर्स र डेभोन कोटिट समेत देखिएका छन् ।

परदेशिएका नेपालीहरूको भौतिक र मानसिक अवस्थालाई भिडियोमा उतारिएको गीतमा बन्दूक आतंकलाई समेत प्रस्तुत गरिएको छ । गीतमार्फत परिवार र समाजसँग बिछोडिएका नेपाली चाँडै जन्मभूमि फर्केर पुनर्मिलनको वातावरण बनोस् भन्ने आग्रह गरिएको छ ।

अस्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित रामकृष्ण ढकालको सांगीतिक कार्यक्रमका क्रममा ‘जीवनको हिसाब’ गीत सार्वजनिक गरिएको हो । भिडियोमा राजेन्द्र विष्टको छायांकन र सुक कालीकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्युजिक एसोसिएसनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन् ।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए ।  करिब एक दर्जन हाराहारीमा गीत रेकर्ड गराइसकेका गीतकार खड्काको पछिल्लो ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक भएको थियो ।

‘जीवनको हिसाब’ ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?