+
+

सिड्नीबाट सुरु गरे रामकृष्ण ढकालले अस्ट्रेलियाको सांगीतिक टुर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:२३

काठमाडौं । गायक रामकृष्ण ढकालले सिड्नीबाट सांगीतिक टुरको सुरुवात गरेका छन् । ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नाम दिइएको कार्यक्रममा शनिबार बेलुकी उनले आफ्ना कालजयी र लोकप्रिय गीतहरु मार्फत सिड्नीका नेपालीलाई मन्त्रमुग्ध बनाए ।

सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा सदा झैं रामकृष्ण राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बिहान उठ्ने बित्तिकै’ गाउँदै स्टेजमा उक्लिए ।

त्यसपछि उनले आफ्नो सिग्नेचर सङ ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले छाडेर’, बाँचुञ्जेलीलाई लगायत गीत प्रस्तुत गरे । स्थानीय लाइभ ब्यान्डसँगै प्रस्तुत भएका रामकृष्णले स्वरसम्राट नारायणगोपालका समेत केही गीत गाए । फिल्म ‘हिजोआजका कुरामा’ समावेश ‘माया जदौ’ गाउँदै उनले कार्यक्रमको बिट मारेका थिए ।

कार्यक्रममा रामकृष्णले सन् २००९ देखि अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक भएको बताए । ‘अस्ट्रेलियामा मैले सधैं माया पाउने गरेको छु, यसलाई धन्यवाद भन्ने मसँग शब्द छैन’ उनले भने, ‘मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरें । यसपटक म अझै उत्साहित छु ।’

कार्यक्रमका क्रममा उनले नेपालमा लगातारको वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याएको जनधनको क्षतिलाई लिएर चिन्ता व्यक्त गरे ।  ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । देशमा त्यस्तो विपत्ति परेको छ । तर पनि म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’ उनले भने ।

पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा रामकृष्णले तीन घण्टासम्म आफ्ना गीतमार्फत दर्शकलाई झुमाए । दशैंभर अस्ट्रेलियामै रहने रामकृष्ण सिड्नीपछि न्युक्यासल, एडिलेड लगायत सहरमा गुञ्जिनेछन् ।

उक्त अवसरमा रामकृष्णले नयाँ गीत ‘जीवनको हिसाब’को प्रिमियर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?