+
+

उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई दलहरुको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:२८

१३ असोज, काठमाडौं। अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान कार्य सम्पादन समितिको बैठक बसेर पीडितहरुको उद्धार कार्यमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले कोजाग्रत पूर्णिमासम्मको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापनामा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार कांग्रेसले पीडितहरुको उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

नेकपा एमालेले पनि आइतबार बिहानै केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकबाट पीडितहरुको उद्धार कार्यमा सम्पूर्ण पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको छ । ‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ’, विभागका प्रमुख खिमलाल भट्टराईले भने ।

उनका अनुसार उद्धार प्रभावित जिल्लाहरुमा आगामी १६ असोजसम्म शुभकामना आदानप्रादन लगायतका पार्टी कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजै कार्यकर्ताहरुलाई स्वयसेवामा परिचालित हुन निर्देशन दिएका थिए । बक्तव्य जारी गरेर पीडितहरुको उद्धार कार्यमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत लगायत सबैमा जनताको दुखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु’, प्रचण्डले बक्तव्य मार्फत् भनेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि शनिबारै बक्तव्य जारी गरी उद्धार कार्यमा नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएको थियो । अध्यक्ष राजेन्द्र लिङदेनले बक्तव्य जारी गरेर आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनस्र्थापनामा जुट्न निर्देशन दिएका थिए ।

‘विपदसँग जुधिरहेको आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनस्र्थापनामा जुट्न देशभरका हाम्रो पार्टीका सदस्यहरुसँग हार्दिक आह्वान गर्दछु’ लिङदेनले बक्तव्यमा भनेका छन् ।

उनले पीडित नागकिलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारबीच प्रभावकारी संयोजन गरिनुपर्ने प्रस्ताव पनि राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उद्धार कार्यमा खटिन कार्यकर्ता परिचालन गरेको छ । सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत् नागरिकको जिउधनको सुरक्षामा खटिन आह्वान गरेका थिए ।

‘देशै भरिका प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सहयोग र सेवामा जुट्न र खटिन रास्वपाका सबै तहका जिम्मेवार सदस्यहरुलाई अपिल समेत गदर्छु’, लामिछानेले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?