+
+

११ ब्रान्डका पानीमा ‘कोलिफर्म’, २ लाख जरिबाना सहित बिक्री निषेध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १५:०६

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा ‘फिकल कोलिफर्म’ भेट्टाएपछि ती सबैको बिक्री वितरणमा रोक लगाएको छ । योसँगै प्रत्येक ब्रान्डलाई २ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय महानगरले गरेको छ ।

कारबाही गरिएका पानी ब्रान्डले फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न पाउने महानगरले जनाएको छ ।

१२ देखि २८ भदौमा विभिन्न स्थानबाट २० वटा पानीको नमुना महानगरले संकलन गरेको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि थप एउटाको नमुना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसरी पठाइएका २१ नमुनामध्ये ११ मा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा ‘कोलोनी फर्मिङ युनिट’ (सीएफयू) मापदण्ड विपरीत देखिएको हो । सीएफयू सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिसामा पाइन्छ । दिसामा पाइने सूक्ष्मजीव पानीमा भेटिएको हो ।

कुन–कुनमा ब्रान्डमा देखियो कोलिफर्म ?

जरिबाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्रान्डमा ब्याच नम्बर १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ सीएफयू देखिएको थियो । उपभोक्ताबाट गुनासो आएपछि १८ भदौमा यसको नमुना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका–८ स्थित उद्योगबाट उत्पादन भइरहेको छ ।

१२ भदौमा नमुना लिइएका पानीमध्ये ब्याच नम्बर १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० सीएफयू देखिएको थियो । अक्वा पिस टोखा–८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा त्यहीँकै अक्वा एसएनएस बेभरेजले उत्पादन गरेको हो ।

ब्याच नम्बर ६ को कोलभोतेश्वर ब्रान्डको २४ भदौमा नमुना लिइएको थियो । यसमा फिकल कोलिफर्मको मान ११६ सीएफयू छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरबाहिनी फुड एन्ड बेभरेजले उत्पादन गरेको हो ।

२४ भदौमा नै नमुना लिइएका पानीमा गोकर्णेश्वरको अक्वा सुन्दरी उद्योगको उत्पादन अक्वा डीबी, कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिंकिङ वाटरको उत्पादन अक्वा, गोकर्णेश्वरको स्तुपा इन्डस्ट्रीको उत्पादन क्युब प्रोसेस ड्रिंकिङ वाटर र गोकर्णेश्वरकै मुनलाइट स्प्रिङ मिनरल वाटरको उत्पादन अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको हो ।

अक्वा डीबीमा ५, अक्वा १७, ब्याच नम्बर २०० को क्युब प्रोसेस ड्रिंकिङ वाटरमा ३ सयभन्दा धेरै र ब्याच नम्बर ४२ को अक्वा माइल्ड ब्रान्डको पानीमा २१ सीएफयू भेटिएको छ ।

२८ भदौमा संकलन गरिएका नमुनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटिएको थियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरिशंकरमा ३ सयभन्दा धेरै सीएफयू देखिएको छ ।

अक्वा कपन एमके मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिका कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरिशंकर गोकर्णेश्वरमा रहेको कोसी मिनरल उद्योगले उत्पादन गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?