+
+

३ दिनपछि उद्धार गरिएकी यात्रु भन्छिन् : दुधे बच्चा च्यापेर भाग्दै बाँचे

वीपी राजमार्गमा एक हजारभन्दा बढी यात्रु अलपत्र

‘सबैतिर पहिरो गयो मात्रै भन्छन् । कहाँ जाने, कता जाने ? त्यहाँमाथि साथमा बच्चा पनि छ । भीरपाखा हुँदै अलि सुरक्षित ठाउँसम्म आइयो । अहिले उद्दार भएपछि बाँचिन्छ कि भन्ने आश आएको छ’, सिन्धुलीकी हेमकुमारी पुलामीले भनिन् ।

नारायण अधिकारी कपिल कोइराला नारायण अधिकारी, कपिल कोइराला
२०८१ असोज १३ गते १५:३५
मंगलटारबाट उद्दार गरिएकी महिलाको शिशु ।

१३ असोज, काठमाडौं । शुक्रबारदेखि आएको वर्षाका कारण वीपी राजमार्गमा अलपत्र परेका यात्रुहरुको उद्दार सुरु भएको छ । राजमार्गको बीच–बीचमा अड्किएका यात्रुहरुको नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार उद्दार सुरु गरिएको छ ।

उद्दार गरिएका यात्रुहरुलाई काभ्रेको धुलिखेलसम्म ल्याएर बसमार्फत गन्तव्यमा पुर्‍याइएको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत उद्दार भएकाहरुले बाँच्ने आशै नभएको बताएका छन् ।

११ असोजमा काठमाडौं आउन घरबाट हिँडेकी सिन्धुलीकी हेमकुमारी पुलामी वर्षापछिको बाढी र पहिरोका कारण बीच बाटोमै रोकिइन् । काभ्रेको रोशी गाउँपालिकास्थित मंगलटार आसपास आएपछि वर्षाका कारण उनको गाडी अघि बढ्न सकेन । पुलामीको काखमा बच्चा समेत थियो ।

‘सबैतिर पहिरो गयो मात्रै भन्छन् । कहाँ जाने, कता जाने ? त्यहाँमाथि साथमा बच्चा पनि छ । भीरपाखा हुँदै अलि सुरक्षित ठाउँसम्म आइयो । अहिले उद्दार भएपछि बाँचिन्छ कि भन्ने आश आएको छ’, पुलामीले अनलाइनखबरसँग भनिन् ।

जताततै बाढी र पहिरोले डर लागिरहेका बेला काखमा दुधे बच्चा भएकाले झन् सकस भएको उनले सुनाइन् । ‘एकतिर बच्चा च्याप्नुपरेको छ । अर्कोतर्फ डाँडा भाग्दै हिँड्नुपरेको छ । निकै कष्टपूर्ण यात्रा भयो’, पुलामीले भनिन् ।

नेपाली सेनाको टोलीले आइतबार उनलाई हेलिकप्टरमार्फत उद्दार गरेर काभ्रेको धुलिखेल ल्यायो । त्यसपछि उनी सार्वजनिक बसमार्फत काठमाडौं आएकी छन् ।

‘मुटुु दह्रो बनाउनु बाहेक अरु उपाय देखिनँ’

हेमकुमारीकै जस्तो पीडा अन्य यात्रुहरुको पनि छ । श्रीमती र छोरीसँगै खोटाङबाट काठमाडौंका लागि हिँडेका थिए सरोज गिरी । शुक्रबारै काठमाडौं पुग्ने आशसहित घरबाट बिदा भएका उनी आइतबार मात्रै जसोतसो काठमाडौं आइपुगे ।

उनी सवार बस सिन्धुलीको सुनकोशी गाउँपालिका आइपुगेपछि वीपी राजमार्ग पहिरोले थुनियो । ठ्याक्कै कुन ठाउँमा अलपत्र परियो त्यो पनि उनलाई अहिले पत्तो छैन । ‘खोलाले बस रोक्यो । त्यतिबेलासम्म त खासै डर लागेको थिएन ।

एकछिनमा पहिरो आउन थाल्यो । अब बसेको ठाउँबाट नभागे ज्यान जोगाउन मुश्किल थियो । भाग्दै गाउँ–गाउँ पुगियो । साथमा छोरी र श्रीमती पनि थिए । मुटु दह्रो बनाउनुको विकल्प भएन । आफैंले हरेस खाए झन् उनीहरु कत्ति आत्तिएलान् भन्ने जसोतसो सुरक्षित ठाउँमा पुगिएछ’, उनले भने ।

विराटनगरबाट उपचार गराउन भनेर काठमाडौंतर्फ आएकी रमिला थापाको पनि तीन दिनपछि उद्दार भएको छ । उनी शुक्रबार राति माइक्रोभित्रै बसिन् ।

‘कोचिएर बसेको न निद्रा लाग्छ । कतिखेर बगाउने हो भन्ने पत्तो छैन’ थापाले थपिन् , ‘लग्यो लग्यो बगायो भन्छन् । शनिबार दिनभर पनि यता र उता दौडादौड गर्दै ठीक भयो । पानी पर्न छाडेपछि चाहिँ बाँचिन्छ जस्तो लाग्न थाल्यो ।’

श्रीमान मुटुको बिरामी भएकाले दशैं अघि जाँच गराउने भनेर उनीहरु काठमाडौं आएका थिए । रमिला सहित ३ जनालाई नेपाली सेनाको हेलिकप्टरले धुलिखेल ल्याएको छ । उनका श्रीमान भने रोशी क्षेत्रमै छन् । ‘म त सकुशल आइपुगे । अब श्रीमानलाई पनि यसैगरी ल्याइदिए खुसी हुने थिएँ’, उद्दारपछि केही खुसी उनले व्यक्त गरिन् ।

वीपी राजमार्गमा करिब १ हजार यात्रु अलपत्र

आइतबार विहानदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत वीपी राजमार्गमा अलपत्र परेका यात्रुहरुको उद्दार सुरु गरिएको छ । सुरुमा बिरामी, बयोवृद्ध, बालबालिकाहरुको उद्दार गरिएको छ । रोशी क्षेत्रबाट मात्रै अहिलेसम्म ८३ जना यात्रुहरुको उद्दार गरिएको छ ।

अहिले पनि उद्दारको काम जारी नै रहेको छ । बिरामीका लागि सेनाको छुट्टै हेलिकप्टर प्रयोग गरिएको छ । जसमा एक पटकमा ५/६ जना मात्रै बस्न मिल्छ । अर्को एम आई–१७ हेलिकप्टर पनि प्रयोग गरेर उद्दार गरिएको छ । त्यसै गरी काभ्रेकै तेमाल क्षेत्रमा पनि हेलिकप्टर पठाएर उद्दार सुरु गरिएको छ ।

वीपी राजमार्गमा मात्रै करिब १ हजार यात्रुहरुको उद्दार गर्नुपर्ने अवस्था रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी वसुन्धरा खड्काका अनुसार काभ्रेजिल्लामा पर्ने वीपी राजमार्गमा मात्रै करिब ७ सय हाराहारीमा यात्रुहरुको उद्दार गर्नुपर्ने अवस्था आएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले पनि वीपी राजमार्गको सिन्धुली क्षेत्रमा करिब ३ सय यात्रु उद्दारको पखाईमा रहेको बताए ।

सुनकोशी गाउँपालिकाको कमेरे भन्ने ठाउँमा वीपी राजमार्गलाई बाढीले असर गरेको छ । सिन्धुलीकै दुम्जामा रोशी खोला करिब २ सय मिटर वीपी राजमार्ग बगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव ऋषिराम तिवारीले शुक्रबारदेखि अहिलेसम्म १६१ जनाको हेलिकप्टरमार्फत उद्दार गरिएको बताएका छन् । काभ्रेमा अहिले तीन वटा हेलिकप्टरमार्फत उद्दार जारी राखिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्दार गरिएको थियो ।

गृह मन्त्रालयको तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?