+
+
करिअर र जीवनबारे अभिनेत्री वर्षा सिवाकोटी :

‘छक्कापञ्जासँग जोडिनु मेरो करिअरको सबैभन्दा ठूलो सफलता’

विष्णु शर्मा विष्णु शर्मा
२०८१ असोज १४ गते १३:३९

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई हामीले सोध्यौं– करिअरका १० वर्षमा तपाईंले के पाउनुभयो ?

उनको जवाफ थियो– थ्री सी ।

अर्थात् क्लियारिटी (स्पष्टता), कन्फिडेन्स (आत्मविश्वास) र कामनेस (शान्तता) ।

व्यस्त अभिनेत्रीको अभिनय करिअरले अप्रिलमा दशक नाघेको छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल २’ देखि सुरु भएको यात्रा १८ औं फिल्म ‘छक्कापञ्जा ५’ सम्म आइपुग्दा वर्षा धेरै घुम्तीको साक्षी बनिन् ।

आफूलाई बुझ्ने कुरामा होस्, सम्बन्धका चरित्र पहिल्याउने कुरामा होस् वा जीवनप्रति दृष्टिकोण बनाउने कुरामा यी अभिनेत्रीका लागि पछिल्लो दशक खास रह्यो । पंक्तिकारसँग धेरैपछि अन्तर्वार्ताका लागि बस्दा उनीभित्र आध्यात्मिक मोड आएको देखियो, पहिलेभन्दा धेरै शान्त सुनिइन् ।

जीवन र सम्बन्धलाई हेर्ने दृष्टिकोणमा उनले परिपक्वता दर्शाइन् । गफमा रिल्याक्स सुनिइन् । दशकमा फिल्म र जीवनमा आएका उतारचढावबारे खुलिन् । पछिल्लो पटक आफूमा आएको स्नेह र खुसीको श्रेय उनी ‘छक्कापञ्जा ५’ लाई दिन चाहन्छिन् ।

‘अहिले कामलाई इन्जोय गर्न थाल्या छु । पहिला हतार हुन्थ्यो । मैले सेटभित्र र सेट बाहिरको धेरै जीवनलाई जिउनै नपाएको रहेछु’ वर्षा भन्छिन्, ‘अहिले मलाई सुटिङको प्रत्येक क्षण विशेष लाग्छ । हरेक टिम मेम्बर स्पेसल लाग्छ । यतिबेला खुसी भएर मनदेखि काम गर्ने चरणमा छु ।’

‘अहिले कतै कुद्नु छैन, कतै हतार छैन । यो सबै सिकाइ, भोगाइ र ग्रोथ जुन ममा आएको छ, यो चाहिं यही १० वर्षको अनुभवले हो’ आफूमा आएको आध्यात्मिक मोडबारे उनी सुनिइन् ।

अझै पनि आफूलाई सन्तुष्ट हुने काम गर्न बाँकी रहेको वर्षा सुनाउँछिन् । ‘म अझै पनि आफ्नो काममार्फत आफूलाई चिनाउन चाहन्छु । केही हदसम्म छक्कापञ्जा ५ बाट कामलाई एक्स्प्लोर गर्न सकेकी छु’ भन्छिन्, ‘पहिलोपटक ‘नाइँ नभन्नु ल २’ गर्दा ओठ काँप्थ्यो, स्कुलिङ र कुनै अनुभव थिएन । टिमबाट म आफैंमा एक्स्प्लोर हुन पाउँ भन्ने जुन अपेक्षा थियो, त्यो पनि पूरा भएको देख्दा एकदमै खुसी लागेको छ ।’

अहिले आएर ‘पर्सनल ग्रोथ’ महसुस गरेको उनको अनुभव छ । ‘त्यतिबेला म कमजोर फेजमा थिएँ होला । यतिबेला जीवन पढ्न पाएकी छु । पर्सनल ग्रोथ फिल गरेकी छु’ पछिल्लो १० वर्षबारे उनको बुझाइ छ, ‘यतिबेला मेरो जीवनमा स्पष्टता छ । कन्फिडेन्स पनि छ । अहिले धेरै शान्त छु जस्तो लाग्छ ।’

छक्कापञ्जा ५’ : चरित्र, कोस्टार र भिन्नता

दीपाश्री निरौला निर्देशित फिल्मको पोस्टर र गीत हेर्दा, सुन्दा पनि दर्शकले वर्षाको भूमिकाबारे ठम्याउन सक्छन् । श्रृंखलामा राजाको भूमिकामा देखिंदै आएका दीपकराज गिरीसँग उनले स्क्रिन सेयर गरेकी छन् । धेरैलाई लाग्न सक्छ फिल्ममा उनी प्रेमिका वा हितैषी हुन् ।

‘पोस्टर एकदमै विम्बपरक छ । फिल्म हेरिसकेपछि फेरि पोस्टर हेर्दा फिल्मको थिमसँग पोस्टर जस्टिफाइड छ भन्ने बुझिन्छ’ वर्षा भन्छिन्, ‘दीपक दाइलाई सुरुदेखि नै छक्कापञ्जा सिरिजमा राजा भनेर चिनिन्छ । त्यसकारणले पनि उहाँसँग जोडी बाँधेर अभिनय गर्दा धेरैले महारानी भएको अनुमान गर्नुहुन्छ ।’

वर्षाका लागि दीपक यतिबेला फेबरेट को-स्टार हुन् । उनले प्रि-प्रोडक्सनदेखि छायांकन सेट हुँदै प्रचारप्रसारमा दीपकको काम गर्ने शैली र स्वभावको मुक्तकण्ठले प्रशंसा गरिन् । तीन महिना लामो छायांकनमा गरेको संगतले उनलाई दीपकलाई बुझ्न सघायो ।

‘मलाई एकदमै ट्यालेन्टेड मान्छे लाग्यो । एकदमै डाउन टु अर्थ पर्सन । एकदमै शान्त मान्छे हो उहाँ । एकदमै बौद्धिक मान्छे हो । नचिन्दा उहाँलाई बाहिरबाट जुन मूल्यांकन गरेको थिएँ, पूर्णतया भिन्न पाएँ’ गिरीबारे उनको बुझाइ छ ।

सामाजिक सञ्जालबाट दीपकलाई बुझ्ने आफ्नो दृष्टिकोण संगत गर्दा बदलिएको कथन उनको छ । ‘उहाँ र उहाँको टिमसँग काम गर्दा स्पष्ट भएँ । छायांकनअघि छलफल हुँदा म निकै आत्तिएकी थिएँ । मलाई उहाँहरुको अपेक्षा पूरा गर्ने कुरामा प्रेसर थियो’ उनी छक्कापञ्जामा काम गर्दाको अनुभव सुनाउँछिन्, ‘त्यसअघि हाम्रो कहिल्यै पनि भेट भएको थिएन । सेटमा उहाँले मलाई भन्नुभयो- अब सम्झ तिमी यहाँ भेकेसनका लागि आएकी हुँ । हामी इन्जोय गर्न आएको भन्ने सोच । सोचिराख दिमागमा, अरु केही गर्नु पर्दैन ।’

‘काम गर्ने तरिका फरक छ उहाँहरुको । सायद यही चीजले गर्दा उहाँहरुलाई यति सफल बनाएको होला । उहाँहरुको काम गर्ने तरिका अलिकति फरक छ । वर्कसप त्यति हुँदैनन् । यो पूर्णतया भिन्न परिदृश्यमा काम भयो, मैले भिन्न तरिकाले काम गरें । मैले फिल्मको लागि त्यति धेरै तयारी गरिनँ तर उहाँहरुले प्रोजेक्टका लागि भनेर एक-डेढ वर्षदेखि तयारी गरिरहनुभएको थियो’ वर्षा भन्छिन्, ‘उहाँहरु एकदमै तयार भएर बस्नुभएको रहेछ । यसले गर्न सक्छे भन्ने सोचेरै उहाँहरुले मलाई दिमागमा राख्नुभएको होला । अफर गर्नुभयो । इनकेस गर्न नसकेमा काम गराउँछौं भन्ने कन्फिडेन्स पनि उहाँहरुमा थियो । मभन्दा धेरै कन्फिडेन्ट मप्रति उहाँहरुलाई देख्या थिएँ ।’

छक्कापञ्जा ५’ किन हेर्ने ?

वर्षालाई लाग्छ, दर्शकले आफ्नो जीवनको अमूल्य तीन घण्टा फिल्मलाई दिनुको खास अर्थ छ । ‘यो बिग एफर्ट हो । दर्शकले फिल्म हेर्न एक दिन छुट्याउनुपर्छ । व्यस्त समयमा तीन घण्टा महत्वपूर्ण हो’ उनी भन्छिन्, ‘दर्शकले छक्कापञ्जाबाट आशा गर्ने कुरा मनोरञ्जन हो । सबैको आफ्नो जनरा हुन्छ । सबै फिल्मले हँसाउनुपर्छ भन्ने हुँदैन ।’

‘हलमा गएपछि दर्शक इन्टरटेन हुनुपर्छ । दर्शकले हलमा गएपछि अपेक्षाअनुसारको मनोरञ्जन पाउनुहुन्छ’ वर्षाको दाबी छ । उनी ‘छक्कापञ्जा’को पाँचौं शृंखला वर्तमान समसामयिक मुद्दामा बनेको मौलिक कथावस्तुसहितको रहेको बताउँछिन् ।

‘नेपालको अर्गानिक कन्टेनटमा एकदमै इन्टरेनिङ ढंगले फिल्म बनेको छ । हामीले प्रत्येक दिन देखिरहेका क्यारेक्टर फिल्ममा देख्छौं । दर्शकसँग एकदमै कनेक्ट हुन्छ जस्तो लाग्छ मलाई’ उनी भन्छिन् ।

सेल्फ लभ’

वर्षालाई लाग्छ, ‘छक्कापञ्जा’सँग जोडिनु उनको १० वर्षको सबैभन्दा ठूलो सक्सेस हो । तर करिअरको पाँच वर्षको पूर्वाद्ध उनको जीवनको सर्वाधिक अन्योलग्रस्त समय बन्यो ।

‘यतिबेला छक्कापञ्जाको फेजलाई इन्जोय गरिराख्या छु किनकि उहाँहरुसँग जोडिनु मेरो करिअरका १० वर्षको सबैभन्दा ठूलो सफलता हो’ वर्षा भन्छिन् । आगामी दिनमा पनि ‘छक्कापञ्जा’ टिमसँग काम गर्न उत्साहित छिन् उनी ।

करिअर थालेको पाँच वर्षलाई चुनौतीपूर्ण क्षणको रुपमा अर्थ्याउँछिन् उनी । ‘त्यतिबेला करिअर अघि बढाउने कि नबढाउने भन्ने दोधारमा थिएँ’ वर्षा भन्छिन्, ‘हरेक मान्छे र हरेक दिनको डिलिङ मेरो लागि भारी बन्यो । मान्छे चिन्ने यो प्रोसेसले मेरो केही समय अन्योलमा बित्यो । यसले गर्दा लाइफमा लिएका डिसिजन पनि कन्फ्युजनमा लिएँ ।’

आफूले करिअरका सुरुमा भेटेका जति मान्छेलाई चिन्दा र बुझ्दा समय लागेको र त्यो आफ्नो करिअरको चुनौतीपूर्ण समय रहेको उनको बुझाइ छ । ‘जो मान्छे पनि सुरुमा राम्रो नै देखिन्छ । यसो गर्दा गर्दै हरेक मान्छे र हरेक दिनको डिलिङ मेरा लागि एकदमै भारी बन्यो’ उनी भन्छिन्, ‘आमा र दाइ बाहेक एकदमै आँखा चिम्लिएर विश्वास गर्ने पात्र कोही पनि भेटिनँ । कन्फ्युजमा धेरै काम गरें । यसले गर्दा प्रत्येक दिन तनावमा हुने रहेछु ।’

त्यसपछि वर्षाले योग साधनाको बाटो रोजिन् । जीवनमा विस्तारै आध्यात्मिक मोड आउन थाल्यो । ‘म पूर्णरुपमा सेल्फ लभतिर जान थालें । योग गर्न थालें । योगले मलाई एकदमै हिल गर्छ । म प्रत्येक दिन एक घण्टा योग गर्छु । यसले मलाई धैर्य र शान्त रहन सजिलो भएको छ’ उनले दिनचर्याबारे भनिन् ।

कोभिडको समयदेखि उनले योग अँगाल्न थालेकी हुन् । ‘त्यसपछि जीवनलाई लिएर मेरो दृष्टिकोण चेन्ज भएको छ । व्यक्तिगत रुपमा म पनि म शान्त भएको छु’ उनी भन्छिन् ।

महिला चरित्रलाई बलियो तुल्याउन जरुरी’

पछिल्लो दशकमा फिल्ममा महिलाको चरित्र चित्रणमा बदलाव आएको वर्षा बताउँछिन् । ‘परिवर्तन त आएको छ तर यो पर्याप्त होइन । हामीले अझै काम गर्नु जरुरी छ’ भन्छिन्, ‘फिल्ममा महिलाले अभिनय गरेर मात्र हुँदैन, त्यो पात्रलाई बलियो तुल्याउनुपर्छ । चारवटा पुरुष कलाकारलाई फिल्ममा राखेर महिलालाई अझै बलियो बनाइयोस न भन्ने हो ।’

महिलाको शीर्ष भूमिका रहेको फिल्मलाई मात्र महिलाप्रधान फिल्म भनिने भाष्यप्रति उनी असहमत छिन् । ‘मलाई चाहिं यो परिभाषा चित्त बुझेको छैन’ उनी भन्छिन्, ‘अब उल्ट्याउन जरुरी छ । यसो गर्दा वुमन सेन्ट्रिक भन्ने कुराले न्याय पाउँछ कि जस्तो लाग्छ । यस्ता फिल्म अझै आउन जरुरी छ ।’

रोनाल्डोसँग डेटिङ र पूर्वरानी ऐश्वर्याको बायोपिक

वर्षालाई वास्तविक कथा र बायोपिक फिल्ममा काम गर्न रुचि छ । उनलाई पूर्वरानी ऐश्वर्या शाहको बायोपिकमा काम गर्न रुचि रहेछ । ‘नेपालमा यति धेरै वुमन पर्सनालिटी हुनुहुन्छ, त्यो पर्सपेक्टिभबाट उहाँहरुलाई हाइलाइट हुने खालका क्यारेक्टर बनायो भने राम्रो हुन्छ । मलाई रियल क्यारेक्टरमा वर्क गर्न मन छ’ उनी भन्छिन् ।

उनी विश्वचर्चित पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी डाइहार्ट फ्यान हुन् । विश्वकप र युरोकपको बेला उनको रोनाल्डोक्रेज छताछुल्ल हुन्छ । ‘व्यक्तिगत रुपमा मलाई उहाँ मनपर्छ । युट्युबमा जीवन संघर्षबारेका अन्तर्वार्ता हेरेकी छु । उहाँ सिकेर आएको मान्छे हो’ वर्षा भन्छिन्, ‘डिनर डेट जानुपर्‍यो भने उहाँसँगै जान्छु ।’

वर्षासँग केही र्‍यापिड फायर प्रश्नोत्तर पनि भए (यो सेसन भिडियोमा हेर्न सकिनेछ । जस्तो- उनी दुई-तीन दिनको अन्तरालमा गुगलमा आफ्नो नाम सर्च गर्छिन् । दीपकराज गिरी फेवरेट को-स्टार हुन् । उनलाई रामबाबु गुरुङको निर्देशनमा फिल्म खेल्ने चाहना छ अनि टमब्वायको पात्रमा अभिनय गर्न । अभिनेत्री नभएको भए उनी बैंकमा काम गर्थिन् । फ्यानलाई थाहा नभएको तर उनको लुकेको प्रतिभा भनेको उनी जुन गीत वा संवाद सुन्छिन्, त्यसको शब्द स्मरण गरिराख्छिन् ।

आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?

वर्षाले तीन शब्द जसले आफूलाई परिभाषित गर्ने बताइन् । उनी भन्छिन्, ‘म चाँडो एडजस्ट हुन्छु । नन-ड्रयागर मान्छे हुँ अनि रेस्पोन्सिबल पनि ।’

वर्षाको दशैं ‘छक्कापञ्जा ५’ को प्रचारमै बित्ने पक्का छ । ‘दशैंमा म हल-हलमा घुमेर दर्शकसँग अन्तरक्रिया गर्छु’ उनी भन्छिन्, ‘शाकाहारी हुने प्रयास गर्छु ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?