+
+

बाढी–पहिरोले काभ्रे र सिन्धुपाल्चोकका सडक अस्तव्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:१८

१३ असोज, काठमाडौं । गत बिहिबारबाट परेको भारी वर्षाका कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सडक अस्तव्यस्त भएका छन् ।

सिन्धुपाल्चोकमा मेलम्ची, चौतारा र अरनिको राजमार्ग अन्तर्गत तातोपानी जोड्ने सडक ४० स्थानमा पहिरोका कारण अवरुद्ध रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

अरनिको राजमार्ग धुलिखेलदेखि नै अवरुद्ध छ । सिन्धुपाल्चोक बन्देउदेखि सुकुटेसम्म सडक सञ्चालनमा आएको उनले बताए । यस्तै बन्देउदेखि सदरमुकाम चौतारा जोड्ने सडक एकतर्फी सञ्चालनमा आएको प्रजिअ थापाले बताए ।

‘तातोपानी नाका जोड्ने सडकको अवस्था दयनीय छ । भोटेकोसी नदीमा दुइटा बेलिब्रिज बगाएको सूचना आएको छ,’ उनले भने, ‘बाह्रबिसेसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । त्यसभन्दा माथिल्लो क्षेत्रको अवस्था कस्तो छ यकिन छैन ।’

जिल्लाका साना–ठूला सडकमा गरी ३ सयभन्दा बढी स्थानमा पहिरो गएको उनले बताए ।

सिन्धुपाल्चोकमा हालसम्म पहिरोमा परी मृत्यु भएका ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । अन्य २ को शव फेला परे पनि सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अरनिको राजमार्गको काभ्रे खण्ड पनि खुलाउने प्रयास भइरहेको छ । धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिका खण्डमा पर्ने सडक खुलाउने प्रयास भइरहेको छ ।

राजमार्गको पाँचखाल र भुम्लु गाउँपालिकामा पर्ने जिरोकिलोदेखि दोलालघाट खण्डमा सबैभन्दा धेरै पहिरो खसेको छ । उक्त पहिरो हटाउने काम भइरहेको छ ।

पाँचखाल नगरपालिकामा पहिरा हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए ।

राजमार्गको जिरोकिलोदेखि दोलालघाट खण्डमा केही स्थानमा चाखोलाले पनि सडक कटान गरेको छ । सडक खुलाउन अझै केही समय लाग्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?