+
+

काबेली करिडोर प्रसारण लाइनका चार टावरमा क्षति, १८५ मेगावाट विद्युत् उत्पादन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १९:०१

१३ असोज, काठमाडौं । इलाम माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्‍याएको छ ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाको करिब १ सय ८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक १ सय ८० देखि १ सय ८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलाम गोदकबाट झापा दमक खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ ।

उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराइएको थियो । त्यहाँ प्रसारण लाइनको स्पान साढे ७ सय मिटर छ ।

चार टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्णक्षति पुर्‍याएको छ । यी दुइटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रिड महाशाखा टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षति जानकारी लिएको छ । महाशाखा प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए ।

प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्भे टोली सोमबारसम्म फिल्डमा पुग्ने र अवलोकनपछि प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?