+
+

१४ जिल्लाका २५ ठाउँमा रेकर्डब्रेक वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २०:२३

१३ असोज, काठमाडौं । १४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन भएको छ । शनिबार काठमाडौं उपत्यकाका ९ केन्द्रको वर्षाको रेकर्ड तोडिएको सार्वजनिक भएको थियो । जल तथा मौसम विज्ञान विभागले आइतबार थप १६ केन्द्रको रेकर्ड ब्रेक वर्षाको विवरण सार्वजनिक गरेको हो ।

काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ ।

त्यस्तै मकवानपुरको दामन,  नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी र तनहुँको सखर तथा खैरेनीटारको वर्षामापन केन्द्रमा पनि अहिलेसम्मको धेरै वर्षा रेकर्ड भएको छ ।

यी विवरण स्वचालित र मानव सञ्चालित दुवै खालका वर्षा मापन केन्द्रका हुन् ।

हेर्नुहोस् वर्षाको रेकर्ड

‘विषम मौसमी घटना’

नेपालमा मनसुन कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त ठूलो प्रणालीको प्रभावले घनघोर वर्षा भएको थियो । सबैभन्दा बढी वर्षा शुक्रबार र शनिबार भएको थियो ।

विभागले यसलाई जलवायु परिवर्तनबाट सिर्जित ‘विषम मौसमी घटना’ भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले जलवायु परिवर्तनको कारण वर्षाको प्रवृत्ति बदलिएको र त्यसको असर नेपालमा पनि परेको बताए ।

विगतमा मनसुनको सुरुवाततिर जुलाई महिनामा सबैभन्दा धेरै र मनसुनको उत्तरार्द्ध सेप्टेम्बरतिर सबैभन्दा कम वर्षा हुने गरेकोमा यसपटक सेप्टेम्बर अन्त्यतिर रेकर्ड ब्रेक वर्षा भएको छ । वर्षाले काठमाडौं उपत्यकासहितका कोशी, बागमती र गण्डकी प्रदेशका जिल्ला बढी प्रभावित भएका छन् ।

विभागको हावापानी विश्लेषण शाखाका मौसमविद सुदर्शन हुमागाईंले मनसुन बाहिरने तरखर गर्ने बेला भएको अत्यधिक वर्षाले बढी जनधनको क्षति हुनु विषम अवस्था भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?