+
+

रोशी र सुनकोशीले बीपी राजमार्ग ९ ठाउँमा बगायो

नारायण अधिकारी नारायण अधिकारी
२०८१ असोज १३ गते २०:१६

१३ असोज, काठमाडौं । भारी वर्षासँगै आएको बाढी र पहिरोले पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडक बीपी राजमार्गमा ठूलो क्षति भएको छ ।

पहिरोसँगै सुनकोशी र रोशी खोलामा आएको बाढीले सडकको केही भागलाई पूर्ण रुपमा बगाएको छ । बनेपा–सिन्धुली बर्दिबास भनेर समेत चिनिने १५८ किलोमिटर लामो सडकका मुख्य गरी काभ्रे क्षेत्रमा बढी क्षति भएको छ । धुलिखेलदेखि नेपालथोकसम्मको खण्डमा १ हजार ५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।

नेपालथोक खुर्कोट खण्डमा पनि २०० मिटर सडकमा पूर्ण रुपमा क्षति भएको छ ।

रोशीमा क्षति बढी

सानो खहेर तथा पहिरो पन्छाएर सञ्चालन गर्न मिल्ने बाहेक ९ ठाउँमा पूर्ण रुपमा क्षति भएको छ । सडक विभागका सहप्रवक्ता तथा इन्जियर अमितकुमार शर्माका अनुसार ९ ठाउँमा गरेर कुल १ हजार ७०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।

रोशी गाउँपालिकाको कालढुंगामा १०० मिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षति भएको छ । यो ठाउँमा रोशी खोलाले कटान गरेर सडक नै बगाएको छ ।

अब सोही ठाउँबाट सडक विस्तार गर्न समेत सम्भव नरहेको इन्जिनियर शर्माले जानकारी दिए । कटान भएको कालढुंगाको उक्त क्षेत्रमा अब केही परबाटै डाइभर्सन गरेर सडक निर्माण गर्नुपर्ने अवस्था आएको उनले बताए ।

रोशी गाउँपालिकाकै बोक्सीकुना भन्ने ठाउँमा पनि करिब १०० मिटर भन्दा बढी सडक रोशी खोलाले कटान गरेको छ । यहाँ पनि पूर्ण रुपमा सडक क्षति भएको छ ।

थली बेसी भन्ने ठाउँमा पनि रोशी खोलाले २०० मिटरभन्दा बढी भागलाई पूर्ण रुपमा बगाएको छ । यस्तै नार्के पुल नजिक २०० मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो ठाउँमा मात्रै करिब ५० वटा गाडीहरु रोकिएका छन् ।

त्यसैगरी काभ्रेको चौकी डाँडा भन्ने ठाउँमा करिब ५०० मिटर सडक रोशी खोलाले बगाएको छए । एकै ठाउँमा सबैभन्दा बढी सडकमा क्षति भएको चौकी डाँडामा हो । खोला किनारमा भएको यो सडक पूर्ण रुपमा क्षति भएको छ ।

धुलिखेल–नेपालथोकसम्म ६ ठाउँमा गरेर करिब १५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विवरण छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव सुशीलबाबु ढकालले अनलाइनखबरसँग भने, ‘वीपी राजमार्गमा रोशीले बढी क्षति गरेको विवरण प्राप्त भएको छ । नेपालथोकसम्म मात्रै ६ ठाउँमा करिब १५ सय मिटर पूर्ण रुपमा क्षति भएको छ ।’

नेपालथोक–खुर्कोट खण्डमा पनि क्षति

वीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डमा भने कम क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार दुम्जा, कमेर र टुपीडाँडा भन्ने ठाउँमा सडक बगाएको छ । तीन ठाउँमा करिब २०० मिटर सकडमा क्षति पुगेको छ ।

खुर्कोटको मरिण डाइभर्सन नजिकको वीपी हाइवे वान वेसम्म सञ्चालन गर्न मिल्ने बनाइएको छ । सुनकोशी गाउँपालिकाको कमेरे भन्ने ठाउँमा बाढीले असर गरेको छ । सिन्धुलीकै दुम्जामा रोशी खोला राजमार्गमा क्षति पुर्‍याएको छ ।

नेपालथोक–खुर्कोट सडकखण्डमा कम क्षति पुगेका आइतबार दिउँसोबाट सडक समेत सञ्चालनमा आएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार अनुसार खुर्कोट–मुलकोट शनिबार राति नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक मुलकोट सडक खण्ड खुलाइएको छ । अहिले अल्पकालीन रुपमा सडक सञ्चालन ल्याइएको उनले बताए ।

वर्षा रोकिए पनि आइतबार मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भासिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको उनले बताए ।

वीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा नेपाली सेना आइतबार मात्रै रोशी क्षेत्रबाट हेलिकप्टरमार्फत यात्रुहरुको उद्दार गरेको थियो । नेपालथोक–खुर्कोट खण्ड सञ्चालमा आएसँगै अलपत्र परेका यात्रु सिन्धुलीतर्फ फर्किन पाएका छन् ।

कहिले आउँछ पूर्ण रुपमा सञ्चालन ?

नेपालथोक–सिन्धुली सडकखण्डमा सञ्चालनमा आए पनि धुलिखेल नेपालथोक सडकखण्डमा ठूलो क्षति भएकाले तत्काल सञ्चालन हुने अवस्था देखिँदैन ।

करिब १५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको र बिस्तार गर्न समेत अप्ठ्यारो रहेको सडक सञ्चालनमा आउन समय लाग्ने देखिन्छ । भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता ढकाल, जतिसक्दो चाँडो सडक सञ्चालनमा ल्याउने गरी काम सुरु भएको बताउँछन् ।

‘अहिले पनि बाटामै कतिपय यात्रुहरु अलपत्र हुनुहुन्छ । त्यसमाथि चाडपर्व समेत नजिकिएकाले जतिसक्दो चाँडो सडक सञ्चालनमा ल्याउन निर्देशन भइसकेकाले छ’ उनले भने ।

तर वैकल्पिक मार्ग वा डाइभर्सन बनाएर सडक सञ्चालन गर्न समेत माथि अप्ठ्यारो पहाड र तल खोला भएकाले वीपी राजमार्ग पूर्ण सञ्चालनमा ल्याउन तत्काल सहज छैन ।

मर्मतका लागि अफ्ठ्यारो रहेको स्वीकार्दै सडक विभाग इन्जिनियर शर्मा भन्छन्, ‘क्षतिको विवरण संकलन गरिसकेका छौं । अब फिल्ड अब्जरभेसनपछि कसरी र कति दिनसम्म सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्ने थाहा हुन्छ ।’

यद्यपि वैकिल्पक ट्रयाक खोलेर भएपनि जतिसक्दा चाँडो सडक सञ्चालनमा ल्याउने आफूहरुको प्रयास हुने उनले बताए ।

पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको लाइफलाइन वीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु मारमा पर्नेछन् । अझ त्यसमाथि दशैं–तिहारजस्तो मुख्य चाडपर्वको अवसरमा व्यस्त हुने सडक नै पूर्ण रुपमा ठप्प हुँदा यात्रुलाई ठूलो असर पर्ने निश्चित छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?