+
+

होटलमा अनुगमन नगर्ने सहमति नभएको सरकारको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:३४

१३ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडबाडमा होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति नभएको दाबी गरेको छ ।

होटल एसोसिएसन नेपाल (हान) ले ‘चाडबाडका बेला सरकारी प्रतिनिधिले होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने’ बेहोरा उल्लेख गरी आफ्ना ३ सय सदस्य होटललाई परिपत्र गरेको थियो ।

सोहीबारे समाचार प्रकाशित भएपछि उद्योगमन्त्री दामोदर भण्डारीको निजी सचिवालयले आज साँझ विज्ञप्ति जारी गरी चाडबाडका बेला होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति नगरिएको दाबी गरेको हो ।

हानको परिपत्रमा ‘उद्योगमन्त्री भण्डारी, सचिव र वाणिज्य विभागका महानिर्देशकबीच हानका अध्यक्ष विनायक शाह, वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्षको उपस्थितिमा सहमति भएको’ उल्लेख छ ।

 

मन्त्रीको निजी सचिवालययले जारी गरेको विज्ञप्तिमा ‘सर्वसाधारणको हित प्रवर्द्धनसँग जोडिएको विषयमा अनुगमन तथा निरीक्षण गर्ने र गलत कार्य भए गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गर्ने गराउनेमा मन्त्रालय प्रतिबद्ध रेहको’ उल्लेख छ ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक रेस्टुरेन्टमा अनुगमन गरी पानीमा बढी मूल्य लिएको आरोपमा ३ लाख जरिवाना तिराएको थियो ।

त्यसपछि व्यवसायी असन्तुष्ट हुँदै मन्त्रीसमक्ष गुनासो गरेका थिए । रेबानले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने सहमति भएको छ ।

त्यसैगरी पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकाले होटल तथा रिसोर्टले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखी बिक्री वितरण गर्न सक्ने सहमति भएको हानले जनाएको छ ।

उता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार जारी गरेको विज्ञप्तिमा ‘हानले गरेको उक्त परिपत्रले प्रचलित उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक व्यवसायी ऐन २०७६, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ को दफा ३ (१ क) विपरीतको कार्य गर्न उक्साहट गर्ने कुत्सित मनासय राखेको देखिएको’ उल्लेख छ ।

विभागले राज्यको प्रचलित कानुन बमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिँदै गुणस्तरीय बस्तुको उचित मूल्यमा सुलभ आपूर्ति सुनिश्चितताका लागि सधैं प्रयत्नशील रहिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?