+
+

हेर्दाहेर्दै नख्खु खोलाले लग्यो घर

बिना अवरोध टिपर चलाउन पनि पाइने र वरपरका जमीन प्लटिङ गरेर घडेरीका रुपमा बिक्री हुने भएपछि नख्खु खोलालाई मिचेर किनारै किनार बाटो बन्यो । अहिले त्यही खोला उर्लिएर आउदा ठूलो धनजनको क्षति भएको छ ।

विकास रोकामगर कृष्ण ज्ञवाली विकास रोकामगर, कृष्ण ज्ञवाली
२०८१ असोज १३ गते २१:०२

१३ असोज, काठमाडौं । घरमाथिको समाज घरमा बास पाएपनि दर्शन लिम्बुलाई रातभर निद्रा लागेन । छेउको नख्खुखोलाको सुसाइ घटेको पनि थिएन । आइतबार बिहानै उठे र झण्डै २ दशकदेखि बस्दै आएको ‘टहरो’मा आँखा डुलाए ।

त्यहाँ खण्डहर बाहेक घर भन्नु बाँकी केही थिएन । आमा र बहिनीसँग लामो समयदेखि त्यही ठाउँमा बसेर कुखुरा, सुँगुर लगायत पालेर आयआर्जन गरिरहेको लिम्बुको परिवार शुक्रबार मध्यरातमा आएको बाढीले सबै बगाएर लगिदियो ।

हेर्दाहेर्दै नख्खु बढेर घरभित्रै छिरेपछि उनीहरु भागेर घरमाथिको अग्लो भागमा गएर ज्यान त जोगाए, तर आफ्नो भन्नु केही बचाउन सकेनन् । ‘यहाँ बसेको कति धेरै भयो । कहिलेकाहीं खोला ठूलो त हुन्थ्यो । तर यसरी बिगार गर्ला भन्ने लागेको थिएन’, हिलो पन्छाउँदै लिम्बुले अनलाइनखबरसँग भने, ‘न खाने बाँकी रह्यो, न ओढ्ने ओछ्याउने । धन्न मान्छे चाहिँ बाँचियो ।’

लिम्बुको परिवारलाई सघाउन केही आफन्त आएका छन् । ललितपुरकै एक रेस्टुरेन्टमा काम गर्दै आएका उनले आफूले पनि एक हप्ता बिदा पनि लिएका छन् । ‘बहिनीलाई आफन्तकै घरमा पठाएका छौं’, उनले अगाडि भने, ‘हामी अब यही समेट्दै बस्ने त होला । खै कति दिन लाग्ने हो कुन्नि !’

लिम्बुको कोठा नजिकै नेपाल आदर्श निर्माण कम्पनीको कार्यालय छ । कम्पनीको गाडी, निर्माण साम्रगी हिलोमा आधा डुबेको, आधा उत्रेको अवस्थामा छ । त्यही कम्पनीमा एक दशकभन्दा लामो समयदेखि स्टोर किपरको काम गर्दै आएका छन्, सिन्धुपाल्चोकका मानबहादुर तामाङ । तामाङ, कम्पनीले नख्खुखोला किनारमा उपलब्ध गराएको कोठामा बस्दै आएका थिए ।

तर शुक्रबार रातिको बाढीले टहरो बगाएपछि अलपत्र परेका छन् । ‘राति पनि माथिको एउटा घरको सिँढीमा सुतियो’ उनी दुखेसो पोख्छन्, ‘यसरी कति दिनसाध्य होला र खै !’

लामो समयदेखि नख्खु खोला किनारमा बस्दै आएपनि खोला यसरी उर्लिएको आफूले नदेखेको मानबहादुर बताउँछन् । ‘यसरी बाढी आउँछ, सोत्तर बनाउँछ भन्ने भए त यहाँ बसिँदैनथ्यो होला, यही पालि हो यस्तो देखेको’, उनले भने ।

राति करिब २ बजेतिर बाढी कोठामा पस्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनले सुनाए ।

****

ललितपुर बागडोल क्षेत्रमा पनि नख्खुको बाढी २ तलासम्म पुगेपछि घरहरु हिलैहिलोले भरिएका थिए ।

हिलोले मूल ढोका जाम हुँदा त्यहाँका अधिकांश स्थानीय बाहिरबाटै भर्‍याङ लगाएर जोखिम मोल्दै दोस्रो तलाबाट घरभित्र छिरिरहेका थिए । ‘गेटमाथिसम्म हिलो छ । ढोका खुले पो मूल ढोकाबाट छिर्नु ?’ त्यहाँ भेटिएका एकजनाले भने ।

बागडोलको हार्मोनी कोलोनी क्षेत्रमा नख्खु बाढीले बस्ती नै बगर बनाएको छ, बस्तीको कुनै नामनिशान थिएन । त्यही ठाउँमा ६ वर्षदेखि तरकारी खेती गर्दै आएकी मंगला मिजारले भनिन्, ‘घरको खर्च टार्ने यही तरकारी थियो । सबै पुरिदियो ।’

आइतबार दिउँसो उनी आफू बस्दै आएको घरबाट सामान बाहिर निकाल्दै थिइन् । घरका महत्वपूर्ण कागजात बगाएर लगिसकेको थियो, बचेका पनि पानीले भिजेको थियो ।

‘अलिकति बचेको कागजात पनि काम लाग्दैन जस्तो छ । अरु त कहाँ पुग्यो पुग्यो होला है !’ उनले भनिन् ।

उनका अनुसार शुक्रबार दिउँसैबाट नख्खु खोला बढेको थियो । करिडोरबाट पानी बस्तीतिर सोझिन थालेपछि उनको परिवार सबै छोडेर केहीमाथि रहेको दिदीको घरमा आश्रय लिन पुगेको थियो । त्यसको केही समयभित्रै हेर्दाहेर्दै आफू बस्दै आएको घर पानीमा डुब्यो र हरायो । ‘हतारमा गएकाले केही सामान उठाउनै पाइएन । के खाने के लगाउने होला ?’ उनले भनिन् ।

मिजारका अनुसार उनी बसेको ठाउँ वरिपरि केही ग्रिल उद्योग, ब्लग उद्योग, कुखुर फार्म, गाई फार्म पनि थिए । तर नख्खुको बाढीले सबै सोत्तर बनाएको छ ।

पहिले नख्खुचोकमा बसेर सिलाइकटाइको काम गर्दै आएको मैनुद्दिनको परिवार बागडोलमा कोठा सरेको एक हप्तामात्रै भएको थियो । सामान मिलाउन बाँकी नै थियो ।

साढे २ तलासम्म पुरिने गरी बाढी पसेपछि उनको परिवार अहिले बिल्लबाठ भएको छ । ‘राति हेर्दाहेर्दै कोठामा पानी भरिन थाल्यो । केही सामान बोकेर माथि घरबेटी बस्ने कोठातिर गएर बस्यौं’, मैनुद्दिनले सुनाए, ‘बाहिर त्यत्रो पानी परिराखेको थियो । २ तलासम्म पानी भरिइसकेको थियो । २ दिन भो राम्रोसँग नसुतेको ।’

घरभित्रै राखेको स्कुटर पनि हिलो माटोले पुरिएको थियो भने गेट र मूल ढोका पनि खोल्नै नमिल्ने गरी जाम भइसकेको थियो । आइतबार उनले पनि बाहिरबाटै भर्‍याङ लगाएर तल ओर्लिएका थिए । भित्र उनी बस्दै आएको कोठाभरि माटो भरिएको थियो । ‘माटोबाट निकालेर अहिले बल्ल स्कुटर धुँदैछौं । भित्र भरिएको माटो कति दिनमा निकाल्ने होला थाहै छैन, कम्तीमा एकहप्ता त लाग्छ होला !’ उनले भने, ‘हामीभन्दा चिन्तामा त घरबेटी हुनुहुन्छ ।’

नख्खु खोलाले किन धेरै क्षति पुर्‍यायो ?

शुक्रबारदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी क्षति नख्खुखोला क्षेत्रमा पारेको छ ।

उर्लिएको नख्खुखोला बस्ती पसेपछि धेरै क्षति पुर्‍याएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार खोला वरिपरि रहेका घरहरु ३ तलासम्म डुब्ने गरी खोलाले आकार लिएको थियो । बाढीले नख्खु खोला पुलमा क्षति पुर्‍याउँदा आवागमनमा समस्या भयो भने बागडोलमा रहेको मेडिसिटी अस्पताल पनि डुबानमा परेको थियो । स्थानीयका अनुसार नख्खुले करिब ४ दशकपछि उत्पात मच्चाएको हो ।

नख्खुखोला वरिपरिका बस्ती नै क्षतविक्षत बनाउने गरी नख्खुखोलाले असर गर्नुको प्रमुख कारण हो, खोला किनारामा सडक र बस्ती फैलनुमा लेले र नल्लुको ढुंगाखानी ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनका अनुसार लेले बाढी प्रभावित ठाउँ नै हो । उनका अनुसार ०३८ सालमा बाढीले लेले गाउँ नै बगाएको थियो ।

तर पछिल्लो समय लेले र नल्लुमा ढुंगाखानी चल्यो । स्थानीय प्रशासनलाई प्रभावित पारेर खानी सञ्चालकहरुले लेले र नल्लुमा ढुंगा उत्खनन् गरे, क्रसर चलाए ।

उत्पादित रोडाढुंगा ट्रिपरमा हालेर चापागाँउ, ठेँचो, सुनाकोठी हुँदै चक्रपथ ल्याउने क्रममा अनवरत रुपमा ट्रिपर चल्दा चापागाँउ, ठेचो, सुनाकोठीका साँघुरो सडकहरु भत्किन थाले ।

टिपरले बाटो जाम हुन थालेको र बाटो पनि भत्किएको भन्दै स्थानीय बासिन्दाहरुले विरोध गरे । २०६६/६७ सालमा स्थानीय जनप्रतिनिधि नभएको मौकामा ढुंगाखानी सञ्चालकहरुबाट प्रभावित दलीय प्रतिनिधिहरुले नख्खु खोला किनारैकिनार बाटो बनाउने नीति लिए ।

किनारै किनार बाटो बनाउँदा बिना अवरोध टिपर चलाउन पनि पाइने र वरपरका जमिन प्लटिङ गरेर घडेरीका रुपमा बिक्री हुने भएपछि दुबै पक्षको स्वार्थ मिल्यो ।

ललितपुरको जिल्ला विकास समितिले त्यतिबेला करिव एक करोड रुपैयाँ निकासा गरेर नख्खु करिडोर भनिने करिव १३ किलोमिटर लामो सडक बनायो । त्यसमा रोडाढुंगा सञ्चालक र टिपर व्यवसायीले अनौपचारिक रुपमा लगानी गरे ।

सडक बनेसँगै नख्खु किनारामा धमाधम जग्गा प्लटिङ हुन थाल्यो । घरहरु बन्न थाले । स्थानीय किसानहरुले खेती मात्रै गर्ने र खुला रहेको खोला किनारामा धमाधम बस्ती बस्यो ।

विज्ञान र वातावरणको विषयका अध्येता उत्तमबाबु श्रेष्ठले सामाजिक सञ्जालमा राखेको नख्खु करिडोरको अन्तिम बिन्दु अर्थात नख्खुपुल क्षेत्रमा पछिल्लो २० वर्षमा विस्तार भएको बस्तीवारे गुगलम्यापको तुलनात्मक तस्वीर ।

माथिल्लो भागमा नख्खुखोला भनेर चिनिने सानो खोल्सो तल आइपुग्दा नख्खुखोलाको नामले चिनिन्छ । लेलेमा सञ्चालन भइरहेका ढुंगाखानीबाट निस्कने माटो र गेग्र्‍यानहरु लापर्वाहीपूर्वक नल्लुखोला किनारामा फाल्ने अभ्यास निकै बढेको थियो ।

१० वर्षअघि संसदको प्राकृतिक स्रोतसाधन समितिले अध्ययन गरेर त्यहाँको ढुंगाखानी उपत्यका बाहिर नसारे खानेपानीको स्रोतमा असर पर्ने र प्रकोपको बेला बस्ती नै जोखिममा पर्ने भनी प्रतिवेदन दिएको थियो ।

वातावरणविद् श्रवण शर्मा पनि सरकारकै गलत योजनाको मारमा जनता परेको बताउँछन् ।

अध्ययन र क्षति आकलन बिनै खोलालाई खुम्च्याउँदै जाँदा विध्वंश मच्याएको उनी बताउँछन् । ‘प्रकृतिले नै पानीको निकास दिन खोला बनाएको हो । तर हामी त्यही खोलालाई आफ्नो स्वार्थ अनुसार खुम्च्याउँदै लग्यौं । यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ’, उनी भन्छन्, ‘राज्यले नै खोला किनारमा बस्न उत्प्रेरित गरिरहेको छ । सरकारकै कारण नागरिक बढी मारमा परेका हुन् ।’

उनका अनुसार उपत्यकामा नख्खु खोलाले पारेको असरलाई पाठका रुपमा लिनुपर्छ र हाम्रो योजनाहरु, नीतिहरु बनाउँदा ध्यान दिनुपर्छ । ‘खोलालाई खुम्च्याएर ढल, कुलो जत्रो बनाएका छौं । तिनीहरुले ठूलो पानीको भार कहाँ थेग्न सक्छन् ? उनी भन्छन्, ‘नख्खुखोला त ट्रेलर मात्रै हो । अझै धेरै असर भोग्नै बाँकी छ ।’

शर्माका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि धेरै पानी पर्दा पनि बढी असर देखिएको हो ।

‘एक्कासि, लगातार धेरै पानी पर्दा क्याचमेन्ट एरियामा धेरै पानी जम्मा हुन्छ जान्छ, त्यसले पनि असर पार्ने हो,’ उनले अगाडि भने, ‘तर, यसका लागि प्लानिङ, योजना गर्दा नै अधिकतम् पानी र भलबाढी आउने क्षमता हेरेर गर्नुपर्छ ।’

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?