+
+

संकटमा काम नआएको सञ्चार सेवा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असोज १४ गते ७:४३

१४ असोज, काठमाडौं । शनिबार बिहानदेखि नै देशका धेरै भाग बाढी र पहिरोले आक्रान्त रह्यो । यही बेला अत्यावश्यक सञ्चार सेवा भने समस्याग्रस्त रहे ।

बाढी र पहिरो प्रभावित क्षेत्र नै सञ्चार सुविधाबाट विच्छेद हुँदा हहिले पनि कतिपय पहाडी क्षेत्रमा भएका क्षतिबारे पर्याप्त सूचनाहरु आउन सकेका छैनन् ।

शनिबार विहान मोबाइलसहित धेरैजसो इन्टरनेट सेवा प्रदायकका सेवाहरु समस्याग्रस्त बनेका थिए । अहिलेसम्म मोबाइल सेवाका पूर्वाधारमा क्षतिको विवरण आएको छैन । तर, इन्टरनेटका वितरण पूर्वाधार (फाइबर)हरुमा ठाउँ-ठाउँमा समस्या छन् ।

सेवा प्रदायकहरु जिम्मेवार नबन्दा यसपाली पनि संकटको बेलामा जनताले सहज र भरपर्दो दूरसञ्चार सुविधा पाउन सकेनन् । सेवामा रोकावटका कारण प्रभावितहरुलाई सञ्चार सम्पर्क गर्न बाधा पर्‍यो भने उद्धारको काम राम्रोसँग हुन नसक्ने अवस्था सिर्जना भयो । प्रभावित क्षेत्रहरुले नै सञ्चार सुविधा उपयोग गर्न पाएनन् ।

राजमार्गमा अलपत्र परेका यात्रुहरुले नेटवर्क अभावमा घरमा आफ्नो खबर दिन पाएनन् । राजमार्ग क्षेत्रका टेलिफोन टावरहरुले काम नगर्दा स्थानीयहरु नै हैन, सवारी चालक सवारी धनी, यात्रु र उनीहरुका आफन्तहरुले समेत तनाब ब्यहोनुपर्‍यो ।

मोबइल नलागेर कतिपय यात्रु र चालकहरु सम्पर्कमा नआउँदा बस परिएका आशंकामा आफन्तले सार्वजनकि जानकारी दिएरै खोजी समेत गरर्नु परेको छ ।

नेपाल टेलिकम अधिकारीहरुका अनुसार बाढी र पहिरोको कारण विद्युत सेवा अवरुद्ध भएपछि टेलिकमका टावरहरु ‘आउट अफ सर्भिस’ भएका थिए । टेलिकम प्रवक्ता हरि ढकाल लामो समय विद्युत् सेवा बन्द भएका क्षेत्रका बेस ट्रान्सिभर स्टेसन (बीटीएस) टावरहरुबाट प्रदान हुने नेटवर्कमा अवरोध भएको थियो ।

‘विद्युत लाइनका कारण केही ठाउँमा समस्या भएको थियो,’ उनले भने,‘अहिले त्यस्ता सबैजसो ठाउँको टेलिफोन टावरहरुबाट सेवा फेरि सरु भइसकेको छ ।’

तर, अहिले पनि ललितपुर दक्षिणी क्षेत्रहरुमा मोबाइल सेवमा समस्या छ ।

सरकारी मात्रै हैन, निजी सेवा प्रदायकको अवस्था पनि उस्तै रह्यो । यसले गर्दा संकटमा परेका नागरिकले समयमै अत्यावश्यक पर्दा पनि आफन्त र साथिभाइसँग सम्पर्क गर्न पाएनन् ।

टेलिकम प्रवक्ता ढकालका अनुसार कतिपय सोलर प्रणालीबाट चल्ने हिमाली र उच्च पहाडी क्षेत्रमा बीटीएसमा पनि घाम नलाग्दा समस्या आएको थियो । तर, मौसम सुधार भएसँगै धेरै ठाउँमा त्यस्ता बीटीएसले पनि सेवा थालिसकेको उनले बताए ।

सेवा प्रदायकहरुले बलियो विद्युत आपूर्ति प्रणाली विकास नगरी बीटीएस टावरहरु सञ्चालन गर्दा विपदमा बेलामा यस्तो समस्या आउने गरेको छ । अझ जनघनत्वअनुसार टावरहरु नराख्दा एकसाथ धेरै फोनहरु हुँदा फोन सम्पर्क गर्न कठिन हुने समस्या छ । विपदका बेलामा धेरै फोन प्रयोगकर्ताहरु एकसाथ सक्रिय हुने भएकाले फोन सम्पर्क गर्न कठिन हुने गरेको छ ।

यसपटक इन्टरनेट सेवा प्रदायकहरुले पनि विपदका बेलामा भरपर्दो सेवा दिन सकेनन् । विभिन्न ठाउँमा बढीका कारण इन्टरनेटका फाइबरहरु चुडिएकाले सेवा अवरुद्ध छन् ।

त्यसलाई समयमै मर्मत गरेर चलाउन उनीहरुले तदारुकता देखाएका छैनन् । नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)का अध्यक्ष सुधीर पराजुली पश्चिम नेपालतर्फका विभिन्न भागमा इन्टरनेट सेवा अझै अवरुद्ध छ ।

‘खिम्ती लामोसाँघु प्रसारणलाइनको एउटा टावर ढल्दा त्यस क्षेत्रमा पनि इन्टरनेट सोव आंशिक प्रभावित छ,’ उनले भने,‘बाढी प्रभावित क्षेत्रमा विद्यत लाइन नहुँदा शनिबार केहीबेर इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो, अहिले सबैजसो ठाउँमा सेवा सञ्चालनमा छ ।’

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल प्राविधिक रुपमा बीटीएस टावरहरुमा विद्युत् आपूर्ति प्रभावित हुँदा समस्या आउनु स्वभाविक भएको बताउँछन् । तर, सेवा प्रदायकहरुले यस्तो समस्या नआओस् भनेर जिम्मेवार भ्एर काम भने गर्नुपर्ने उनको भनाइ छ ।

‘सेवामा यदाकदा समस्या आउनसक्छ, झन् यो वपर्षायको समय भएकाले विद्युत आपूर्तिसँग मोबाइलका टावरहरुको सेवा प्रभावित हुनसक्छ,’ उनले भने,‘जनतालाई समस्या नपरोस् भनेर त्यसमा समाधान खोज्न भने ढिला गर्न मिल्दैन ।’

राजधानीभन्दा बहिर राजमार्ग क्षेत्रमा यस्तो समस्या बढी भएको र त्यसले धेरैलाई प्रभावित गर्ने भएकाले सेवा प्रदायकहरु जिम्मेवार बन्नुपर्ने उनको धारणा छ । ‘संकटमा सञ्चार सेवा महत्वपूर्ण हुन्छ, यसमा समस्या आउन नदिने र आए समाधान गरिहालने तत्परता चाहिन्छ,’ उनले भने,‘सेवालाई काठमाडौं उपत्यकामा मात्रै हैन, बाहिर पनि चुस्त बनाउन सेवाप्रदायकहरुले जोडबल लगाउनुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?