+
+
स्थलगत :

नख्खु खोला वितण्डाले चाडबाडको मुखमा उजाडिए बस्ती

दशैं सुरु हुन हप्तादिन बाँकी हुँदा शनिबार बिहान नख्खु खोलामा आएको भयानक बाढीले रेनुकाको सबैथोक लग्यो । शनिबार बिहान २ बजे आएको बाढीमा उनको घरसहित, दशैंमा बेच्न तयार ७० हाँस, ५ बंगुर र २२ लोकल कुखुरा सबै खोलामा मिसियो ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ असोज १४ गते ९:५०

१४ असोज, काठमाडौं । दुई दशकअघि श्रीमान्ले ललितपुर नख्खु खोला पुल नजिकै छाडेर हिँडेपछि रेनुका लिम्बुलाई ओत लाग्न सानो टहरामात्र थियो । खोला छेउ बनाएको टहरामा उनले दुई वर्षकी छोरी र छोरालाई काखमा च्यापेर बसिन् ।

२० वर्ष उनले खोला किनारमै बसेर दुई सन्तान हुर्काइन्, बढाइन् । दुई छाक गुजारा गर्न र सन्तानलाई पढाउन लेखाउन कुखुरा, बंगुर र हाँस पालिन् । यही उनको दुई छाक जोड्ने मेलो थियो ।

चाडबाड नजिकिँदै गर्दा उनको घरमा पनि एक खालको रौनक छाउँदै थियो । दशैंलाई भनेर सरसामान किनमेल गर्ने सोच्दै थिइन् । चाडबाडको खर्च जुटाउन भनेर कुखुरा, बंगुर र हाँस बेच्न तयार थिइन् ।

तर, दशैं सुरु हुन हप्तादिन बाँकी हुँदा शनिबार बिहान नख्खु खोलामा आएको भयानक बाढीले रेनुकाको सबैथोक लग्यो । शनिबार बिहान २ बजे आएको बाढीमा उनको घरसहित, दशैंमा बेच्न तयार ७० हाँस, ५ बंगुर र २२ लोकल कुखुरा सबै खोलामा मिसियो ।

‘शुक्रबार दिउँसोदेखि खोलामा पानी बढ्दै गयो,’ उनले भनिन्, ‘हरेक साल खोला बढे पनि आँगनसम्म मात्र आउँथ्यो । यो पालि हेर्दाहेर्दै खोलाले ठूलो रूप लियो । हामी चाहिँ भागेर ज्यान जोगायौं ।’

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण शनिबार नख्खु खोलामा आएको बाढीले खोला करिडोर छेउछाउका सबैथोक बगाएर लग्यो । त्यसमा रेनुकाको घर पनि थियो ।

‘टहरै भए पनि ओत लगाउने घर थियो,’ उनले भनिन्, ‘दशैं आएकै बेला खोलाले यही बास पनि खोसेर लग्योे ।’

अहिले उनीसँग खानलाई गास छ, न बस्न बास । खोलामा आएको बाढीले लत्ता कपडादेखि खाने सबै बगाएर लग्यो । उनीसँग जाने ठाउँ कतै छैन । शनिबारको रात जसोतसो छिमेकीको घरमा गुजारा गरिन् । ‘के गर्ने, कसो गर्ने सोच्न सकिरा छैन,’ उनी भन्छिन्

***

नख्खु खोलामा आएको बाढीले ललितपुर बागडोलकी ४३ वर्षीया चन्द्रकला नगरकोटीको बस्ने घरबाहेक सबैथोक बगायो ।

उनी आफू बस्ने घर नजिकैको ब्लक उद्योगमा काम गर्थिन् । शनिबार राति नख्खु खोलामा आएको बाढी घरभित्रै छिर्‍यो । जसोतसो उनी तीन छोरीसहित जोगिएर निस्किन सकिन् ।

‘बाढीले आधा घर डुबायो,’ उनले भनिन्, ‘रातिको समयमा खोला बस्ती छिरेपछि भागाभाग गरेर ज्यान जोगायौं ।’

लगातार झरीले शुक्रबार बेलुकासम्म खोलामा पानी बहाब बढ्दै गएको थियो । तर, बस्तीसम्म आइपुग्ला भनेर सोचेकी थिइन् ।

‘यहाँ बस्न थालेको १० वर्ष भयो,’ उनले भनिन्, ‘यतिका वर्षमा खोलाको यो रूप देखेकी थिइन । खोलामा पानी बढे पनि बस्तीसम्म आइपुग्दैनथ्यो । यो पटक नसोचेको भयो ।’

उनी पनि दशैं मनाउने सुरसारमा थिइन् । तर, चाडबाडकै मुखमा बाढीले सबै थोक लगिदिएप्छि उनी चिन्तामा छिन् । उनी बस्ने घर, घरजस्तो छैन ।

‘आगनदेखि घरभित्रसम्म माटोको लेदो छिरेको छ,’ घरतिर देखाउँदै उनले भनिन्, ‘न लगाउने कपडा छ, न खाने बास छ । खानेकुरा बिग्रिएर केही छैन ।’

उनलाई आफ्नोमात्र होइन, साथमा भएका तीन छोरीको पनि चिन्ता थपिएको छ ।

शुक्रबारदेखि निरन्तर परेको पानीले शनिबार नख्खु खोलाले ठूलो रूप लियो । चार दशकपछि नख्खुमा आएको भयानक बाढीले करिडोर छेउछाउ ठूलो जनधनको क्षति गर्‍यो । खोला छेउछाउका बस्ती बगायो भने केही घरसमेत डुबानमा परे ।

शनिबार राति नख्खु खोलामा आएको अनपेक्षित बाढीले खोला छेउछाउका बस्ती डुबानमा परेपछि शोकमा डुबेको छ ।

अहिले खोला करिडोर छेउछाउका केही घर माटोले पुरिएका छन् भने कतिपय घर र टहरा तहसनहस भएका छन् । माटोको बाक्लो लेदो बस्ती छिरेको छ ।

घटनाको दोस्रो दिन आइतबार मध्याह्न अनलाइनखबरको टिम पुग्दा नख्खु खोला छेउछाउका बस्ती उजाडिएका थिए । घर डुबानमा परेको स्थानीय चिन्तित देखिन्थे ।

कोही घरको आँगनसम्म माटो थुप्रिएकाले भर्‍याङ लगाएर झ्यालबाट सामान बाहिर निकाल्दै थिए । कोही घरअघि थुप्रिएको माटोको लेदो बाहिर फाल्दै थिए । कोही भत्किएको घरतिर हेर्दै टोलाइरहेका देखिन्थे । कोही माटोले पुरिएका ठाउँबाट सामान झिक्दै थिए ।

चोरभारको गल्छी नजिकै नख्खु खोला र बागमती जोडिने भएकाले बागडोल आसपास क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीय बताउँछन् ।

‘एकातिर नख्खु खोला, अर्कातिर बागमती मिसियो,’ स्थानीय प्रविण देवकोटाले भने, ‘लगातार झरीले ठूलो रूप लिएका दुइटा खोला एकापसमा मिसिँदा बस्तीसम्म छिर्‍यो ।’

चाडबाडको मुखमा भएको क्षतिले बस्ती उजाडिएको उनले सुनाए । ‘कसैले केही न केही गुमाएका छन्,’ उनले भने, ‘कसैको घर डुबेको छ, कसैको आफन्ती गुमेका छन् । कतिका घर बस्न लायक छैनन् । खानलाई केही छैन ।’

 उद्योग कलकारखानामा क्षति

नख्खु खोलामा आएको बाढीले छेउछाउका बस्तीसँगै उद्योग, कलकारखानामा समेत क्षति पुर्‍याएको छ । त्यहाँका उद्योगमा समेत ठूलो जनधनको क्षति भएको छ ।

बागडोलस्थित जय बालकुमारी हलो ब्लक तथा सिमेन्ट टायल उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले उद्योगमा भएका मेसिन, जेनेरेटर बिग्रिएका छन् भने कच्चापर्दाथमा क्षति पुगेको छ ।

ब्लक उद्योगका सञ्चालक अनुप महर्जनका अनुसार उद्योगको पाँच कोठा भएका संरचना भत्किएको छ । ब्लक इँटा, मेसिन र कच्चापर्दाथ गरी ७० लाखसम्म क्षति पुगेको छ ।

त्यस्तै सनराइज अर्पाटमेन्ट, मेडिसिटी हस्पिटल डुबानमा परेर क्षति पुगेको छ । त्योसँगै ग्यारेज, होटल, ड्राइभिङ सेन्टर, कृषि फार्महरू समेत डुबानमा परेका छन् ।

भक्तपुर महानगरपालिकाका अनुसार झन्डै ३ सय घरधुरी डुबानमा परेका छन् । बस्तीसँगै खोला छेउछाउका थुप्रै उद्योगमा आंशिक क्षति र पूर्णक्षति भएका छन् ।

 तस्वीरहरू: विकास श्रेष्ठ

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?