+
+

उद्धार र राहतमा स्थानीय सरकारको हात, सम्पर्क नहुँदा पाएन साथ

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज १४ गते १३:४२

१४ असोज, काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले देशभरि प्रभावित पारेको छ । शुक्रबार र शनिबार परेको पानीबाट कोसी र बागमती प्रदेशमा धेरै क्षति भएको देखिन्छ ।

कोसी प्रदेशका सोलखुम्बु, पाँचथर, सुनसरी, झापा, मोरङ लगायत जिल्ला प्रभावित छन् भने बागमती प्रदेशका १३ वटै जिल्लामा प्रत्यक्ष असर परेको छ ।

मौसम पूर्वानुमान हुँदाहुँदै अत्यधिक परेको पानीका कारण भएको क्षति कम गर्न स्थानीय सरकार सक्रिय देखिए । पालिकाहरूले तत्काल उद्धार र राहतको काम गर्न सक्रिय हुन खोज्दा पनि सम्पर्क टुट्दा धेरै क्षति भएको जनप्रतिनिधिहरू बताउँछन् ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा एन्फाको प्रशिक्षण शिविरमा बसेका ६ विद्यार्थीको पहिरोले पुरेर मृत्यु भयो ।

‘खोलामा बाढी आएपछि सुरक्षित हुन सिस्नेरी कटेर सुरक्षित स्थानतर्फ जाने क्रममा बच्चाहरू पहिरोमा परेछन् । सम्पर्क नहुँदा लामो समय उद्धार नभएको पाइयो । तत्काल उद्धार भएको भए ज्यान जोगाउन सकिन्थ्यो कि भन्ने लाग्छ,’ गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी भन्छन् ।

गाउँपालिकाको सिस्नेरी बजार नै कुलेखानी ड्याम खोल्दा बगाएको उनले बताए । ‘बजारको मात्रै ३० घर बगाएको छ । ९१ घरमा पूर्णक्षति भएको छ । २ सय ७५ घरमा आंशिक क्षति भएको छ । बिजुली बन्द हुँदा क्षतिको विवरण लिन सकेका छैनौं,’ पुडासैनीले भने ।

उनले समयमै सम्पर्क हुन सकेको भए धेरै जनधनको क्षति नहुने अनुमान गरे । ‘कतिपय ठाउँमा सम्पर्क नहुँदा तत्काल उद्धारको काम हुन सकेन । अहिले पनि क्षतिको पूरै विवरण आइसकेको छैन,’ उनले भने ।

यस्तै काभ्रे रोशी गाउँपालिकामा ११ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते छन् । बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र छन् ।

गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार अहिलेसम्मकै ठूलो विपद् आइपरेको हो । ‘बिजुली नहुँदा धेरै वडासँग कुरा नै हुन सकेको छैन । भएकाको विवरण संकलन हुँदैछ,’ लामाले भने, ‘रोशीका कतिपय गाउँमा सम्पर्क हुन सकेको छैन, दुई दिनदेखि लाइन नहुँदा क्षतिबारे विवरण आउन सकेको छैन ।’

घटनाबारे जानकारी लिन सकिएन

काभ्रेको भूगालेमा विद्युत्, सञ्चार र यातायात नहुँदा पहिरोमा पुरिएकाको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का बताउँछिन् ।

‘ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध भएकाले सञ्चारसेट तथा मोबाइल चार्ज नहुँदा घटनाबारे यकिन जानकारी लिन समस्या भयो,’ खड्काले भनिन् ।

बाढी र पहिरोका कारण तेमाल–२ मा ८ जना पुरिए । पुरिएको २४ घण्टा भइसक्दा पनि उनीहरूको उद्धार भएको छैन । स्थानीय शिक्षक ग्यान्जा लामाका अनुसार ८ मध्ये ४ जना मृत अवस्थामा भेटिएका छन् ।

नमोबुद्ध–५ ठोक्रेमा पहिरोमा परेर २ जना पुरिए पनि उद्धार गर्न नसकिएको स्थानीय सुन्दर बडालले जानकारी दिए । बेथानचोक–४ मा पुरिएका ८ मध्ये ४ को शव निकालिएको छ भने ४ लाई उद्धार गर्न नसकिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार बेथानचोकमा मात्रै ९ जनाको मृत्यु यकिन गरिसकिएको छ ।

तेमालमा १४ जना बेपत्ता छन् । तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाका अनुसार तेमाल–२ मा ८, तेमाल–४ मा २ र तेमाल–७ मा २ बेपत्ता छन् ।

विद्युुत् र सञ्चार सुविधा नभएका कारण यकिन जानकारी लिन नसकिएको उनको भनाइ छ । तेमालबाट ३ बिरामीलाई उद्धार गरिएको छ । त्यस्तै प्रहरी चौकी खोपासीका अनुसार पनौती नगरपालिका–११ थुम्कीमा स्थानीयको घर पुरिँदा बेपत्ता भएका ४ जनाको उद्धार हुन सकेको छैन । बनेपा नगरपालिका–१४ थालचोकमा पनि पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएको प्रहरी चौकी साँगाले जनाएको छ ।

नमोबुद्ध नगरपालिका–१ स्यामपाटीमा पहिरोमा परी २ जना बेपत्ता छन् । जिल्लाका बीपी र अरनिको राजमार्गका विभिन्न स्थानका साथै जिल्ला सदरमुकामदेखि पालिका जाने अन्य सडक अवरुद्ध छन् ।

विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध छ । बाढी र पहिरोबाट काभ्रेमा १९ जनाको मृत्यु तथा २५ जना बेपत्ता छन् । काभ्रेमा बाढी र पहिरोमा परेर हालसम्म ३१ जनाको मृत्यु, १९ जना बेपत्ता र ४२ जना घाइते छन् ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ का करिब ५० घर पहिरोमा परेर जोखिमपूर्ण अवस्थामा रहेको उपमेयर उपप्रमुख विष्णुमणि पौडेलले बताए ।

मण्डन देउपुर नगरपालिका–१२ (साविक ज्याम्दी गाविस) को माथिल्लोे भेगमा भारी वर्षाका कारण जमिन धसिँदै जाँदा ५० घर जोखिममा परेको हो ।

‘गाउँमा अझै क्षति भएको हुन सक्छ तर सम्पर्क भएको छैन, सम्पर्क नहुँदा तत्काल गर्नुपर्ने उद्धार, राहतको काम हुन सकेको छैन,’ उनले भने ।

भुम्लु गाउँपालिका–९ मा पनि एक जनाको मृत्यु भएको र पहिरोले धेरै स्थानमा गाउँ विस्थापित हुने अवस्था रहेको वडाध्यक्ष दलबहादुर तामाङले बताए । उनले पनि सम्पर्क नहुँदा गाउँबारे तत्काल भन्न सक्ने अवस्था नरहेको बताए ।

गृहले गरेन सहयोग

कोसी प्रदेशमा धेरै क्षति भएकामध्ये एक सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले गृह मन्त्रालयले उचित सहयोग नगरेको जनाएको छ । नगरपालिकाका मेयर नाम्ग्यालजाङ्बु शेर्पाले गृह प्रशासनले उद्धारमा सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

नगरपालिकाको वडा नम्बर ९ गोराखानीमा ३ जना र वडा नम्बर १० टाप्टिङमा २ जनाको ज्यान गएको छ । ‘केही घाइतेलाई तत्काल उद्धार गरेर थप उपचारका लागि पठाउनुपर्ने छ तर मन्त्रालयले रेस्पोन्स गरेन,’ शेर्पाले भने ।

उनले जिल्लामा टेलिफोन र विद्युत् आपूर्ति बन्द हुँदा धेरै क्षतिको विवरण थाहा हुन नसकेको बताए ।

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका अध्यक्षले पासाङनोर्बु शेर्पाले नेपाल टेलिकमको नेटवर्क बन्द हुँदा गाउँको क्षतिबारे थाहा हुन नसकेको बताए ।

‘हामीले अरनिको राजमार्गको छेउछाउका बस्तीहरूको अपडेट लिएका छौं । अरनिको राजमार्गमा २ वटा बेलिब्रिज, एउटा पक्की पुल बगाएको छ । अन्य क्षति सबैतिर सम्पर्क भएपछि थाहा हुन सक्छ,’ शेर्पाले भने, ‘विद्युत जाने बित्तिकै टावर जाने भएकाले धेरैलाई बाढीपहिरोबारे सचेत गराउन सकिएन । यहाँ लाइन गएपछि टावर टिप्दैन, ३ दिनदेखि लाइन नहुँदा समस्या पर्‍यो ।’

उपत्यकामा सक्रिय भए नगरहरू

काठमाडौं उपत्यकाका नगरहरूमा भने बाढी पीडितहरूको उद्धार र राहतका लागि अन्य सुरक्षा निकाय जत्तिकै सक्रिय भएर लागेको देखियो । राजधानी रहेको काठमाडौं महानगरपालिका प्रहरी बलका १७ टोली परिचालन भएका थिए ।

यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयसँग खोज र उद्धारको काम गरेका थिए । यसका लागि ४ वटा रेस्क्यु बोट प्रयोग गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरेको थियो ।

विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था गरेका हुन् । १० नम्बर वडाले १ हजार प्लेटभन्दा बढी खाना खुवाएको छ ।

बागमती नदीले वडा नम्बर १० का शंखमुल, बुद्धनगर, दोभान लगायत क्षेत्रमा बढी प्रभाव पारेको छ । बागमती र विष्णुमती दोभान रहेको वडा नम्बर १२ र १४ पनि महानगरका प्रभावित वडा हुन् ।

वडा नम्बर १४ बल्खु क्षेत्रका अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुसी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ ।

१४ नम्बर वडाले शनिबार बाढी प्रभावित १ सय २५ लाई कम्बल वितरण गरेको थियो । यस्तै ४ सयलाई दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरेको थियो । वडाले विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ ।

यस्तै वडा नम्बर ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङलाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कुलमा खानपानको व्यवस्था गरिएको छ ।

यस्तै ललितपुर महानगर प्रहरी बल शुक्रबार रातिदेखि नै फिल्डमा खटिएका थिए । ‘हामी पूर्वतयारी सहित बसको थियौं । नख्खु खोलाका कारण मात्रै फसेका ५९ जनाको नगर प्रहरी टोलीले उद्धार गरेको थियो,’ नगर प्रहरी प्रमुख सिताराम हाछेथुले अनलाइनखबरसँग भने, ‘हाम्रो एपमार्फत र अन्य सूचना अनुसार टोली मुभ भएको थियो । नगर प्रहरी मात्रै होइन, वडाध्यक्ष, सदस्यहरु पनि खटेका थिए ।’

कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख सुनिता शाक्यले नगरपालिकाले सूचना आएको जतिलाई उद्धार र राहत काम गरेको बताएकी छिन् ।

‘समस्यामा परेकालाई हामीले खबर गर्न भनेका थियौं, जसलाई समस्या परेको छ, उसलाई सहयोग गर्न कीर्तिपुर नगरपालिकाको टोली खटिएको छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?