+

ब्राण्ड लजिकले ५ करोड ९२ लाखमा किन्यो एनपीएलको कमर्सियल अधिकार

२०८१ असोज  १४ गते १४:१० २०८१ असोज १४ गते १४:१०
ब्राण्ड लजिकले ५ करोड ९२ लाखमा किन्यो एनपीएलको कमर्सियल अधिकार

१४ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को स्ट्राटेजिक एण्ड कमर्सियल राइट्सको अधिकार ब्राण्ड डिजिटल लजिक प्रालिले पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बोलकबोल मार्फत ५ करोड ९२ लाख रुपैयाँमा लजिकलाई उक्त अधिकार ब्रिकी गरेको हो ।

अब कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार प्रसारको जिम्मेवारी लिने लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले बताए ।

‘क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथेँ, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ’, रोशन निरौलाले भने ।

एनपीएल आगामी नोभेम्बर-डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।

क्यानले एनपीएलमा खेलाडीहरुको अक्सन दशैंअघि गर्ने तयारी गरेको छ । खेलाडी दर्ता प्रक्रिया खुलाइसकेको छ । खेलाडीको अक्सनमा न्यूनतम मूल्य २ देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । गोला प्रथामार्फत ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरिसकेका छन् ।

काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।

एनपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय