+
+

बीपी राजमार्गबाट खाली खुट्टै काठमाडौं फर्किरहेका छन् सर्वसाधारण (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १४ गते १५:४७

१४ असोज, काभ्रे । अविरल वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँमा बीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौं फर्किएका सर्वसाधारणको भकुण्डेबेसीदेखि धुलिखेल क्षेत्रमा लामो लाइन छ ।

रोशी खोलाको कटान र पहिरोले बीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौंबाट पूर्वका विभिन्न जिल्लातर्फ गएका सर्वसाधाारण काभ्रेको मंगलटार क्षेत्रमा रोकिएका थिए । तत्काल राजमार्ग सञ्चालनमा आउने सम्भावना नभएपछि उनीहरु काठमाडौं फर्किएका छन् । तर उनीहरुले बाटोमा खानेकुरा र पानी समेत पाउन सकेका छैनन् ।

आइतबार नेपाली सेनाको हेलिकप्टरले बीपी राजमार्गका विभिन्न ठाउँबाट करिब २०० जनाको उद्धार गरेको थियो । तर एक हजार भन्दा बढी सर्वसाधारण त्यस क्षेत्रमा अलपत्र परेकाले उनीहरु हिंडेर काठमाडौं फर्किनुको विकल्प भएन ।

यो हुलमा बच्चादेखि वृद्धहरुसम्म, बिरामीदेखि अशक्तहरुसम्म छन् । अलपत्र परेपछि उनीहरुले राज्यविहीनता मात्रै हैन, सरकारसँग सामान्य मानवीयता समेत नभएको तीतो अनुभव सँगालेका छन् ।

गह्रुंगो झोला र सामानका भारी बोकेका उनीहरु अधिकांश लठ्ठी टेकेर फर्किरहेका छन् । कतै खोला तर्नुपर्ने र हिलोमा समेत हिंड्नुपर्ने हुनाले उनीहरुका जुत्ताचप्पल भिजेका छन्, त्यसले खुट्टामा घाउ बनाएको छ । कसैले हिलो टाँसिएका जुत्ता र चप्पल हातमै बोकेका छन् । खाली खुट्टा पिच रोडमा हिंडिरहेका उनीहरु सुरक्षित ठाउँमा पुग्ने हतारमा छन् ।

कोही विदेशबाट घर फर्किंदा ल्याएका ब्यागेज घिसार्दै खिन्न र थकित मुद्रामा फर्किरहेका छन् । यो भीडमा खाने कुरा किन्न समेत पैसा नहुनेहरु मात्रै छैनन्, धेरथोर पैसा हुँदा पनि भोक लाग्दा चाउचाउ किनेर खान नपाएकाहरु पनि छन् ।

बच्चा च्यापेका आमाहरु पनि यही भीडमा बेसहारा जस्तो बनेर पैदल हिंडिरहेको दृश्यले धेरैलाई भावुक बनाउँछ । यो कष्टकर र जोखिमपूर्ण यात्रामा उनीहरुलाई पहिरो छल्ने चुनौती मात्रै छैन, फेरि पानी बर्सिएमा कसरी यात्रा पूरा गर्ने भन्ने पीरलो पनि छ । ठाउँ–ठाउँका पहिरोहरु छिचोल्दा हरेक पटक उनीहरुले ज्यानको बाजी थापेका छन् ।

ती पैदलयात्रीका अनुसार शुक्रबार र शनिबार त उनीहरु सरकारले उद्धारको पहल गर्ला भन्ने आशामा मंगलटार र आसपासकै क्षेत्रमा बसेका थिए । लगातार पानी परिरहेकाले केही अलपत्र यात्रुले स्थानीयको घरमा बास मागे, कोही विद्यालय भवन, प्रहरी चौकी, चिसो खेल मैदानमा दिन–रात बिताए ।

२ दिनसम्म कुर्दा पनि उद्धार हुने कुनै सम्भावना नदेखेपछि उनीहरु आफ्ना सरसामान र झोला बोकेर काठमाडौंतर्फ लम्किए ।

यो हुलमा अधिकांश काठमाडौंबाट विभिन्न गन्तव्यका लागि हिंडेका यात्रु नै छन् । उनीहरु गन्तव्यमा पुग्न नसक्ने देखेपछि हिंडेर नै काठमाडौं फर्किने प्रण गरेर राजधानी आउँदैछन् ।

पहिलो दिन आइतबार राति उनीहरु कोही भकुण्डेबेसी र त कोही भकुण्डेभन्दा तल बास बसे । एक–दुई वटा छोटा सडक खण्डमा स्थानीय तहले आफ्नो क्षेत्रभित्र उद्धार सुविधाका नाममा चलाएका साना सवारीमा पनि चढे ।

तर, अर्को स्थानीय तहको सीमासम्म पुर्‍याएर छाडिदिने स्थानीय तहहरुको गैरसमन्वयकारी र गैरजिम्मेवार कामले उनीहरुको सकस कम हुन सकेन । त्यसैले उनीहरु भोकै प्यासै काठमाडौं फर्किंदैछन् ।

हेर्नुहोस् थप तस्वीरहरु  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?