+
+

बाढीपहिरो पीडितलाई भाटभटेनीको १ करोड बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १५:२५

१४ असोज, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरमार्केट्स’ का अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उक्त सहयोग रकम बराबरको चेक सोमबार हस्तान्तरण गरेका छन् ।

हालैको अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभरि करिब २ सय जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ भन्दा बढी बेपत्ता छन् ।

अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेका बेला सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको भनाइ छ ।

भाटभटेनी अध्यक्ष गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रुपैयाँ बराबर सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूको उद्धार र राहतका लागि गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए ।

त्यसबाहेक ८० लाख रुपैयाँबराबर खाद्यान्न उक्त क्षेत्र पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए ।

गुरुङले हालसम्म १४ जनालाई एमबीबीएस अध्ययन पनि गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् ।

उनीहरूको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरूले त्यसबापत केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?