+
+

हकप्रदको सूचनाले सेयरमूल्य उचालिँदा लगानीकर्ता फस्ने जोखिम

कमल नेपाल कमल नेपाल
२०८१ असोज १४ गते १८:१७

१४ असोज, काठमाडौं । आइतबार निर्जीवन बीमा कम्पनी एनएलजीको मूल्य ४.५६ प्रतिशत अर्थात् प्रतिकित्ता ६० रुपैयाँ बढ्यो । यो वृद्धिपछि यस कम्पनीको मूल्य हालसम्मकै उच्च प्रतिकित्ता १३७५ रुपैयाँ पुग्यो । बजार घटिरहँदा हकप्रदको बहानामै कम्पनीको मूल्य खेलाडीहरुले उचाल्दै लगेका थिए ।

जसले गर्दा आइतबार यस कम्पनीको मूल्यले नयाँ रेकर्ड बनायो । जबकि निर्जीवन बीमा समूह पनि त्यस दिन ०.१५ प्रतिशत घटेको थियो । सेक्टर र समग्र बजार घट्दा पनि यो कम्पनीको मूल्य यति धेरै उचालिनुको प्रमुख कारण थियो– हकप्रद निष्कासनको स्वीकृति पाउनु ।

जब कम्पनीले हकप्रद निष्कासनको स्वीकृति पायो र समाचार बाहिरियो त्यसपछि धेरैले यो कम्पनीमा बिक्रीको अवसर देखे । अन्तत: त्यही बिक्रीको निर्णयले खरिद पक्षलाई जित्यो ।  किनकि सोमबार सेयर मूल्य सबैभन्दा धेरै घट्नेमा यहीं कम्पनी पहिलो बन्यो । यस दिन कम्पनीको मूल्य प्रतिकित्ता ६४ रुपैयाँ अर्थात् ४.६५ प्रतिशत घटेर १३११ रुपैयाँमा झर्‍यो । अघिल्लो दिन मूल्य उचालिएर किन्नेले एकैदिन ४.६५ प्रतिशत गुमाए ।

एनएलजीसँगै लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि आइतबार हकप्रद निष्कासनको स्वीकृति पाएको थियो । हकप्रद स्वीकृति पाएपछि कम्पनीको मूल्य १.८९ प्रतिशत बढ्यो । तर सोमबार भने बजार र सेक्टरकोभन्दा न्यून वृद्धिदर ०.०५ प्रतिशत मात्रै रह्यो ।

सार्वजनिक सूचना र यी दुई कम्पनीको मूल्य उतारचढावले लगानीकर्ता हकप्रद निष्कासनका कारण मूल्यमा उचालिएर खरिद गर्ने गरेको पुष्टि हुन्छ । हकप्रदका कारण उचालिने लगानीकर्ता फस्ने गरेको इतिहास विगतमा पनि प्रशस्त छन् भने एनएलजी इन्स्योरेन्सले पनि त्यसलाई दुई दिनमै पुष्टि गरेको छ ।

हकप्रद निष्कासनको अर्थ लगानीकर्तासँग जति सेयर छ, सोको अनुपातमा हक लाग्ने सेयर अंकित मूल्य १ सय रुपैयाँमै पाइनु हो । धेरै लगानीकर्तामा हकप्रदमा पाइने सेयरले कुल सम्पत्ति मूल्य बढ्ने गलत बुझाइ छ । तर जब बजारमै मूल्य बढ्छ त्यसपछि हकप्रद पाए पनि, नपाए पनि सम्पत्ति मूल्य स्वतः बढ्छ । तर बजारले साथ नदिएमा हकप्रद पाए पनि सम्पत्ति मूल्य घट्छ ।

धेरै लगानीकर्तामा हकप्रद निष्कासनप्रतिको बुझाइ गलत रहेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । ‘हकप्रद निष्कासनको सूचना आउनुअघि नै स्मार्ट इन्भेस्टरले थाहा पाइसकेको हुन्छ, त्यसपछि उनीहरुले खरिद गरेर बसेका हुन्छन्’ उनले भने ‘जब हकप्रदको सूचना बाहिरिन्छ, त्यसपछि आम सर्वसाधारण खरिदतिर लाग्छन् भने स्मार्ट इन्भेस्टरले मूल्य बढाएर बेचेर बाहिरिन्छन् ।’

यहीं कारण हकप्रद सूचना आइसकेपछि धेरै कम्पनीको मूल्य घट्ने गरेको उनले स्पष्ट पारे । आम सर्वसाधारण खरिदतिर लाग्दा सहज रुपमा ठूलो परिमाणमा बिक्री पनि हुने भएकाले यस्तो सूचनालाई स्मार्ट इन्भेस्टरले बिक्रीको अवसरमा बुझेका हुन्छन् । तर आम सर्वसाधारण भने एक सयमा सेयर पाइने बुझाइमा हुन्छन्, जुन बुझाइले उनीहरुको सम्पत्ति मूल्य बढाउँदैन, बरु घटाउने जोखिम नै उच्च हुन्छ ।

जब हकप्रद निष्कासन हुन्छ, त्यसपछि त्यो सेयर बजारमा सूचीकृत भइसकेपछि सेयर संख्या बढ्न जान्छ । यसले समग्रमा आपूर्ति बढाउँछ र मूल्य घट्ने अर्को जोखिम हुन्छ । अर्कोतर्फ बढेको पूँजीले तुरुन्तै त्यहीं अनुपातमा आम्दानी आर्जन गर्न सक्दैन । जसले गर्दा प्रतिसेयर आम्दानी पनि घट्न जान्छ ।

यतिबेला बीमा कम्पनीहरुले तोकिएको चुक्ता पूँजी पु¥याउन हकप्रद निष्कासनलाई जोड दिइरहेका छन् । आगामी असार मसान्तसम्म जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्ने छ । सोहीअनुरुप धेरै कम्पनीले हकप्रद निष्कासनलाई रोजेका छन् ।

हकप्रद निष्कासन भनेको थप लगानीका रुपमा बुझ्नुपर्ने अर्का एक लगानीकर्ताले बताए । ‘त्यहीं हकप्रदलाई कसैले किन्ने मौकाका रुपमा बुझेका हुन्छन् भने केहीले बेच्ने मौका पनि बुझेका हुन्छन्, तर समग्र बजारले लिने गतिमा पनि मूल्य भर पर्छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने । त्यसकारण हकप्रदले लगानीकर्तालाई घाटा हुन्छ भन्ने आफ्नो मान्यता नरहेको उनको दाबी छ ।

‘नोक्सान नै हुन्छ त म भन्दिनँ, समग्र बजार र कम्पनीको मूल्य पनि घटेको अवस्थामा त्यो फाइदा पनि हुन सक्छ’ उनले भने ‘तर समग्र बजार नै घट्दो अवस्थामा भएमा हकप्रदकै कारण उचालिएर किन्नु नोक्सानी हुन सक्छ ।’ लगानीकर्ताका लागि हकप्रद सेयर हर्ष न विस्मात् रहेको उनको भनाइ छ ।

किन फाइदा हुँदैन हकप्रद ?
हकप्रदले सेयर संख्या बढे पनि कुल सम्पत्ति मूल्य बढ्दैन । यसलाई उदाहरणबाट बुझौं, एक लगानीकर्तासँग एबीसी कम्पनीको १ सय कित्ता सेयर छ, जसले ८० प्रतिशत हकप्रद जारी गर्दैछ । बुक क्लोजअघि मूल्य ९०० छ भने सो व्यक्तिको कुल सेयर मूल्य ९० हजार हुन्छ ।

भोलिपल्ट मूल्य समायोजन हुँदा व्यक्तिको सेयर संख्या १८० हुन आउँछ, जहाँ ८ हजार रुपैयाँ  ८० कित्ता हकप्रदमा थप लगानी हुन जान्छ र कुल लगानी मूल्य ९८ हजार हुन आउँछ । अब समायोजनपछि भोलिपल्ट मूल्य ९ सय हुँदैन । ५४४ रुपैयाँ ४४ पैसा मात्रै हुन आउँछ । समायोजन हिसाव : [९००+(१००×०.८०)] ÷ [१+०.८०] = ५४४.४४

अब समायोजनपछि १८० कित्ताको ५४४ रुपैयाँ ४४ पैसाका दरले कुल मूल्य पनि ९८ हजार नै हुन आउँछ । प्रतिइकाइ मूल्य घट्ने मात्रै होइन, सेयर संख्या बढेअनुसार कम्पनीको प्रतिसेयर आम्दानी घट्छ र आपूर्ति पनि बढ्न जान्छ । यसले गर्दा लगानीकर्तालाई हकप्रद हितकर देखिँदैन । तसर्थ हकप्रदका कारण उचालिनु लगानीकर्ताकै लागि जोखिमपूर्ण हुन सक्छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?