+
+

बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असोज १४ गते १८:१८

१४ असोज, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ गरी आइतबार नै बागलुङ पुर्‍याइएका देवकुमार नेपालीको सोमबारदेखि बागलुङ जिल्ला अदालतमा बयान सुरु भएको छ । सहकारीको रकम हिनामिना पारी फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीको मंगलबार पनि थुनछेक बहस हुनेछ ।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीको सोमबार र मंगलबार बयान गरी थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

बागलुङमा बयान र थुनछेक बहसपछि पोखराको अर्को इमेज सहकारीकै ठगी मुद्धामा कास्की ल्याइने छ । सहकारी ऐनविपरीत व्यक्तिगत स्वार्थमा खर्च र घरजग्गा, व्यवसायमा लगानी गरेका देवकुमारसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि सोमबार अदालतमा उपस्थित गराइएको हो ।

सहकारीमा समस्या आइसकेपछि बचतकर्ताको रकम फिर्ता गर्ने बागलुङ र पोखरामा छुट्टाछुट्टै लिखित सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो

बागलुङको ढोरपाटन नगरपालिकामा दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका नेपालीले आफूले समस्या आइसकेपछि मिलाउन प्रयत्न गर्दागर्दै नसकेको तर घरजग्गा र सम्पत्ति बचेर भए पनि बचत फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । सहकारी हितबिपरीत काम भएको स्वीकारसमेत गरेका नेपालीले समस्या आइसकेपछि फरार हुने आफ्नो अभिप्राय नभए पनि परिस्थिति सिर्जना भएको बयान दिएको जिल्ला अदालतका एक अधिकृतले बताए ।

उनले सहकारीमा जनताले गरेको बचत रकमबाट घरजग्गामा लगानी गरेको तर यतिछिटो सहकारी यो अवस्थामा आउला भनेर नसोचेको बयान दिएको बताएका छन् ।

जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माका अनुसार नेपालीविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । ‘सहकारी ठगी मुद्धासँगै सम्पत्ति शुद्धीकरणको मुद्धा पनि सँगै जोडिएर आउँछ,’ उनले भने, ‘पहिले सहकारी ठगीमा बयान थुनछेकपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धानपछि मुद्धा दायर हुन्छ ।’

नेपालीले बागलुङका मुख्य र शाखासहित ३ सहकारीबाट १ अर्ब ३८ करोड रुपैयाँ हिनामिना गरेको बागलुङ जिल्ला अदालतमा अभियोग छ । एक हजार ५४३ जनाको जाहेरीपछि २०८० असार २५ गते १ अर्ब ३० करोड, ७६ हजार ९८ हजार र थप ३० जनाको जाहेरी परेपछि २०८० भदौ १७ गते ७ करोड ३४ लाख ६४ हजार रुपैयाँ विगो मागदावीसहित बागलुङ जिल्ला अदालतमा अभियोग दायर भएको थियो ।

नेपालीले सहकारीका मूल्य, मान्यता र सिद्दान्तबिपरीत बचतकर्ताको रकम खाने÷पचाउने उद्देश्यले काम गरेको अभियोगमा उल्लेख छ । कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ ।

नेपालीले बचत रकम उनीहरुको व्यक्तिगत खातामा जम्मा नगरी संस्थामा खोलिएका विभिन्न कृत्रिम खातामा रकम जम्मा गरी÷गर्न लगाई एउटा खातादेखि अर्को खातामा रकम रकमान्तर गरेको पाइएको छ ।

सो मध्येका केही रकम कुनै हिसाब मिलान नै नगरी, केही रकम कृत्रिम ऋणी खडा गरी टुक्रा टुक्रा बनाई व्यक्तिगत रुपमा रकम प्रयोग गरी हिनामिना गरेको नेपालीमाथि अभियोग छ ।

वार्षिक लेखा परीक्षणसमेत फर्जी गर्ने गरेको, राज्यलाई तिर्नुपर्ने करसमेत नतिरेको देखिएको छ । मुनाफालाई कृत्रिम नाफा÷नोक्सान खाता तयार गरी संस्था तथा पीडितको रकम हिनामिना गरेको, सिस्टममा कृत्रिम कर्जाहरु (वास्तविक ऋणि नभएको) प्रविष्ट गरी बचतकर्ताको रकम तथा संस्थाको वित्तीय कारोवारबारबाट प्राप्त रकम हिनामिना गरेको आरोप पनि उनीमाथि छ ।

रकम फिर्ता गर्ने मौखिक तथा लिखित प्रतिवद्धता जनाएको तर हप्ता दिनभित्रै बचतकर्ताको रकमको प्रमाण नष्ट गरी मध्यरातमा संस्थामा प्रवेश गरी दराज फोरेर संस्थाका महत्वपूर्ण श्रेस्तासमेत लिएर गएको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देवबहादुर दर्जी भन्ने देवकुमार नेपाली, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक, सदस्य झगबहादुर शाही, मुख्य कार्यालय बागलुङका प्रबन्धक शक्ति किसान, मुख्य कार्यालय बागलुङकी लेखा प्रमुख लालमती रोका, गलकोट सेवा केन्द्रका प्रबन्धक अनिल नेपाली, बुर्तिबाङ सेवाकेन्द्रका प्रबन्धक अनिता बुढामगर बिगो रकम असुल गर्न भनिएको छ ।

इमेज सहकारी ठगी मुद्दामा पदाधिकारी चित्रबहादुर, शक्ति किसान, लालमती, डोरबहादुर, लक्ष्मी सेन, र अनिता बुढामगर पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको उपाध्यक्ष भइसकेर अध्यक्ष हुन नपाएपछि २०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा सहकारी खोलेर रकम हिनामिना पारेका थिए । पोखराको इमेज सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना गरेको अरोप छ ।

फरार नेपालीले आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भिडियो, विज्ञप्ति मार्फत पटक पटक सार्वजनिक गर्दै आइरहेका थिए भने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिलाई पनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको तर परिस्थिति नसकेको बताएका थिए ।

बागलुङ, पोखरा र काठमाडौंमा भव्य अलिसान महल र ठाउँ ठाउँमा घरजग्गा जोडेका नेपालीबाट बचत फिर्ता ल्याउनकै लागि बागलुङ र पोखराका पीडित संघर्ष समितिले सहकारीको सञ्चालक समितिमा ब्युँताएका थिए । नेपाली आफैंले सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्न सकिने भन्दै विवरणसहित सार्वजनिक गर्दै आएका थिए ।

पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि उनले कानुनी सल्लाहकारमार्फत भेट गरिरहेका थिए । संसदीय छानबिन समितिका सभापति सूर्य थापाले पनि नेपालीले घरजग्गा बेचेर सहकारी समस्या समाधान गर्न चाहेको बताएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?