+
+

बार अध्यक्षविरुद्ध अदालतको अवहेलनाको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:४३

१४ असोज, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा लेनदेन भएको अभिव्यक्ति दिएका नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश भएको छ ।

सर्वोच्च अदालतका उपसचिव गोविन्द घिमिरेले बार अध्यक्ष घिमिरेमाथि अवहेलनामा कारवाही हुनुपर्ने भनी तयार पारेको प्रतिवेदन अदालतमा पेश भएको सर्वोच्च अदालत उच्च स्रोतले बतायो ।

‘बार अध्यक्ष घिमिरेको अभिव्यक्तिलाई लिएर उहाँलाई अवहेलनाको कारवाही हुनुपर्ने भनी प्रतिवेदन पेश भएको, प्रतिवेदन अघि बढेपछि प्रारम्भिक सुनुवाइ होला, त्यसपछि बाँकी प्रक्रिया अघि बढ्ला’, सर्वोच्च स्रोतले भन्यो ।

सर्वोच्च अदालतको मुद्दा दर्ता अभिलेखमा सोमबार एउटा अवहेलनाको निवेदन दर्ता भएको देखिन्छ । तर त्यसमा निवेदक र प्रतिवादीको नाम उल्लेख नगरी खाली छाडिएको देखिन्छ ।

न्यायपरिषदको सचिवालयले सोमबार नै एक विज्ञप्ति जारीगरी बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि अनर्गल र आधारहीन आरोप लगाएको भन्दै खण्डन गरेको छ ।

न्यायपरिषदका सबै सदस्यले सामूहिक निर्णयका आधारमा नाम सिफारिस गरेको भन्दै न्यायपरिषदको सचिवालयले बार अध्यक्ष घिमिरेको अभिव्यक्तिले भ्रम फैलाएको आरोप लगाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूलाई अहिलेसम्म कुनैपनि निकायबाट औपचारिक पत्र नआएको प्रतिक्रिया दिए । ‘मैले अहिलेसम्म कतैबाट चिठी पाएको छैन, चिठी आएछ भने सामना गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?